इन्डोनेशिया भूकम्पः दर्जनौँ मानिसको मृत्यु, सयौँ घाइते अस्पताल पनि भत्कियो

इन्डोनेशिया

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मामुजु नगरमा एउटा अस्पताल भत्केको छ
Published

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो।

भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्।

विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो।

"यो सबै एकदमै छिटो भयो, १० सेकेन्डजति," स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले बीबीसीलाई बताए। उनका अनुसार भूकम्पका बेला उक्त अस्पतालको बिजुली गएको थियो।

इन्डोनेशिया

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इन्डोनेशिया भूकम्पीय जोखिम भएको क्षेत्रमा अवस्थित छ

मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा फोनको सङ्केत नहुँदा उद्धारकार्य प्रभावित भएको छ।

भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ।

त्यहाँको परिस्थिति "निकै खराब" रहेको योग्यकार्तास्थित गज मद विश्वविद्यालयको भूगर्भ विभागमा कार्यरत डा. गायत्री मार्लियानीले बीबीसीलाई बताइन्।

इन्डोनेशिया

उनका अनुसार तटीय क्षेत्रमा भत्किएका भवनमध्ये गर्भनरको कार्यालय पनि छ। उनले केही अस्पताल र एउटा होटल क्षतिग्रस्त भएको र केही मानिसहरू तिनको भग्नावशेषमा फसेको बताइन्।

कोरोनाभाइरस महामारीका कारण प्रभावित क्षेत्रमा प्रतिकार्यका लागि उद्धार गर्ने टोली पुग्न ढिलो हुनसक्ने उनको भनाइ छ।

स्थानीय समयानुसार मध्यरातपछि १:०० बजेतिर सात सेकेन्डसम्म भूकम्पले हल्लाएको थियो।

इन्डोनेशिया

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भूकम्पमा सयौँ मानिस घाइते भएका छन्

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन। तर हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थानमा गएका छन्।

दुईवटा भूकम्प गएकाले अधिकारीहरूले शक्तिशाली परकम्प जान सक्ने र सुनामी आउन सक्ने चेतावनी दिएका छन्।

प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित इन्डोनेशिया उच्च भूकम्पीय क्षेत्रमा पर्छ।

सन् २००४ मा ९.१ म्याग्निट्यूडको भूकम्पपछि हिन्द महासागरमा आएको सुनामीका का कारण १३ देशमा २,२६,००० मानिसको मृत्यु भएको थियो।

तीमध्ये इन्डोनेशियाको आचे प्रान्तमा मात्र १,७०,००० जनाले ज्यान गुमाएका थिए।