लमिन यमाल बने स्पेनको जितका सूत्रधार, यो विश्वकपमा किन नायक बन्न सक्छन्

तस्बिर स्रोत, Reuters
- Author, एलिजाबेथ कोन्वे
- Role, स्पेनिश फुटबल संवददाता, एट्लान्टा स्टेडिअम
- Published
- पढ्ने समय: ५ मिनेट
खेल सुरु हुनुअघि लमिन यमालको धेरै चर्चा भयो र खेल सकिएपछि पनि चर्चाको केन्द्रबिन्दुमा उनी नै छन्।
स्पेनका यी १८ वर्षे खेलाडीले केप भर्डसँग गोलरहित बराबरीमा टुङ्गिएको खेलमा केवल १९ मिनेट मात्र खेल्न पाएका थिए। यो उनको पहिलो विश्वकप हो।
लुइस डे ला फ्वेन्टेका अनुसार त्यो छोटो उपस्थिति यमालका लागि दीर्घकालीन योजनाको अङ्ग थियो। किनभने गत एप्रिलमा यी किशोर खेलाडीको तिघ्राको मांसपेशीमा चोट लागेको थियो र उनी निको हुने क्रममै थिए।
उनी साउदी अरबविरुद्ध खेल्न सक्षम देखिए। त्यसको नतिजा पनि तत्कालै देखियो।
उनको खुट्टाले बल छुनुअघि नै रङ्गशालाको वातावरणमा उनको उपस्थितिको प्रभाव देखिसकिएको थियो।
हजारौँ समर्थकले उनको नामाङ्कित जर्सी लगाएका थिए। रङ्गशालाको विशाल स्क्रीनमा उनको अनुहार देखिँदा दर्शकहरू हर्षोल्लास गर्थे।
स्पेनका यी तन्नेरी स्टारले बल नछुँदै त्यहाँको वातावरण तातिसकेको थियो।
बल पाउनासाथ उनले खेलको पहिलो हाफको कायापलट गरिदिए।
स्पेनी टोली खेल जित्ने उद्देश्यसहित साहस, वेग र निर्भीकतासहित मैदानमा ओर्लिएको थियो। साउदी अरबविरुद्ध ४–० गोलको फराकिलो जितको सूत्रधार यमाल बने। यो विश्वकपमा स्पेनले पहिलो खेलमा जाँगर देखाउन सकेको थिएन तर साउदी अरबविरुद्ध भने खेलाडीहरू जीवन्त, स्पष्ट र आत्मविश्वासयुक्त देखिए।
"तपाईँ केही सल्लाह दिन सक्नुहुन्छ तर आत्मविश्वास र स्वतन्त्रता भएको यस्तो खेलाडीले अरूले सिकाउनै नसक्ने धेरै कुरा आफैँ सिर्जना गर्न सक्छ," उनीसँग स्पेनी टोलीमा पहिला खेलेका थेसार अथ्पिलिक्वेटाले 'म्याच अफ द डे'मा भने।
"मैदानमा हुँदा उनलाई अवसर कसरी सिर्जना गर्ने, डिफेन्डरहरूलाई कसरी पार गर्ने र बल कहाँ लिने भन्ने थाहा हुन्छ।"
तीक्ष्ण, निर्भीक र आत्मविश्वासले भरिपूर्ण लमिन यमालले डिफेन्डरहरू सजिलै छक्काउँदै स्पेनको आक्रमणमा नयाँ ऊर्जा थपे। त्यसपछि के हुन्छ भन्ने धेरैले महसुस गरिसकेका थिए।
पहिलो गोल उनले नै गरे।
क्रस हुँदै पोस्ट अगाडि पुगेको बललाई यमालले गोलमा परिणत गरिदिए। विश्वकपमा त्यो उनको पहिलो गोल थियो।
समर्थकहरू हर्षोल्लास गर्दै नाचे। रङ्गशालामा उनको नाम गुन्जियो। उनीहरू आफ्नो 'सुपरस्टार' मैदानमा चम्किएका हेर्न आएका थिए।
'फाइभ लाइभ'मा बोल्दै गिल्येम बालाग्वेले यमालले मैदानबाट बाहिर निस्कँदा संसारै जिते जस्तो भावमा चारैतिर हेरेको आफूले देखेको बताए।
"यो अहङ्कार हो त? कि आत्मविश्वास हो? दुवैको सम्मिश्रण," उनले भने। "उनी विशेष हुन्, उनी आफू पनि विशेष बन्न चाहन्छन्।"
"टोलीको नेताको भूमिकामा उनी निकै खुशी छन्। पहिले पाँच जनाको टोली बनाएर खेल्दा महसुस भए जस्तै फुटबल खेल्दा आफूलाई महसुस हुने कुरा उनले एक पटक मलाई बताएका थिए।"
लिओनेल मेस्सीलाई उछिन्दै

तस्बिर स्रोत, Reuters
लमिन यमाल १९ वर्ष नपुग्दै विश्वकपमा गोल गर्ने इतिहासका सातौँ खेलाडी बने। उनी १८ वा सोभन्दा कम उमेरमा विश्वकपमा पहिलो गोल गर्ने दोस्रो खेलाडी हुन्। यसअघि सन् १९५८ मा ब्रजिलका पेलेले वेल्सविरुद्ध १७ वर्षको उमेरमा गोल गरेका थिए।
वेन रूनीले किशोर यमाललाई लिओनेल मेस्सीसँग तुलना गर्दै उनको निकै प्रशंसा गरे।
यमालले बार्सिलोनामा मेस्सीका धेरै कीर्तिमान भङ्ग गरेका छन् र अहिले विश्वस्तरमा मेस्सीलाई उछिन्न थालेका छन्। आर्जेन्टिनाका मेस्सीले २००६ मा १९ वर्ष पुग्नुभन्दा केहीअघि विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए। अहिले स्पेनका यमालले त्यसभन्दा दुई साता कम उमेरमै गोल गरे।
"मेस्सी र क्रिस्टिआनो रोनाल्डो आफ्नो लगन र अनुशासनका बलमा अहिले पनि विश्वकप खेल्दै छन्," इङ्ग्ल्यान्डका भूतपूर्व फोर्वर्ड रूनीले 'म्याच अफ द डे'मा भने। "उनीहरूले सबै कुरा राम्ररी गरेका छन्। लमिन यमालले पनि त्यसै गर्न सक्छन् भन्ने आशा गरौँ।"
"मलाई निकै छुने कुरा के हो भने - मेस्सी बार्सिलोनामा आउँदा त्यहाँ केही ठूला खेलाडीहरू थिए र रोनाल्डिन्होसँग प्रतिस्पर्धा पनि थियो।"
"[लमिन यमाल] बार्सिलोमा र स्पेनको टोलीमा आएका छन्। अनि यो उनको टोली हो, उनी मुख्य खेलाडी हुन्।
"सबै जना जितका लागि उनलाई हेर्दै छन्। उनले यूरो जित्न ठूलो भूमिका निर्वाह गरेका थिए र यस विश्वकपमा पनि उनको ठूलो भूमिका हुने छ। सबैभन्दा प्रभावशाली कुरा यही हो - उनले यस्तो कम उमेरमै दबाव थेगेका छन्। उनले आगामी १५- २० वर्ष यसो गर्न सक्छन् भन्ने आशा गर्न सकिन्छ।"
'विश्वस्तरीय सूपरस्टार'

तस्बिर स्रोत, Reuters
यमालको कौशलले खेललाई लयमा ल्यायो। त्यसपछि स्पेनको पक्षमा एकपछि अर्को गर्दै थप तीन गोल भए।
"उनलाई सहयोग गर्ने सही टोली हुनुपर्छ किनभने उनी विश्वस्तरीय सूपरस्टार हुन्। उनले अहिले गरिरहेको कामलाई निरन्तरता दिन पाऊन्," रूनीले भने।
मिकेल ओयार्थाबालले लगालग दुई गोल गरे। दुई पटक गोल र एक पटक गोल गर्न सहयोग गरेर उनी १९६६ यता विश्वकपको पहिलो २५ मिनेटभित्र तीन गोलमा प्रत्यक्ष संलग्न हुने दोस्रो खेलाडी बने।
केप भर्डसँग भएको पहिलो खेलमा भन्दा उनी निकै भिन्न रूपमा देखा परे। उक्त खेलमा सुरुको ३० मिनेटमा उनले बल छुनै पाएका थिएनन्। विश्वकपको इतिहासमा त्यस्तो अवस्थामा देखिएका उनी पहिलो खेलाडी हुन्।
यो खेल फरक थियो। स्पेनको अग्रता स्कोरबोर्डमा अङ्कित भइसकको थियो र उनीहरू पूर्णतः युरोपेली च्याम्पिअनजस्तै देखिन्थे।
टोलीका लागि महत्त्वपूर्ण
यमालले मध्यान्तरअघि नै आफ्नो काम फत्ते गरिसकेका थिए। समूहचरणमा यूरुग्वेसँग खेल्न बाँकी नै भएकाले सावधानीस्वरूप उनलाई बाहिर बोलाइयो।
'म्याच अफ द डे' मा बोल्दै टामस फ्र्याङ्कले भने, "लमिन यमाल सधैँ बल चहान्छन्। उच्चतहमा खेलिरहन दृढता र अनुशासन [आवश्यक हुन्छ], तर सबैले आफूलाई नयाँ सूपरस्टार मान्दा उनी कसरी पर्याप्त विनम्र रहन सक्छन् भन्ने कुरा पनि।"
"कसरी पर्याप्त विनम्र रहन सकिन्छ? त्यो नै ठूलो कुरा हो।"
स्पेनले यमालको 'फिटनेस' मा विशेष ध्यान दिने छ किनभने उनी पूर्ण रूपमा 'फिट' हुँदा टोलीका लागि निर्णायक सिद्ध हुन सक्छन्।
उनी १९ वर्ष पुग्दा विश्वकपको फाइनल हुन एक साताभन्दा केही दिन कम समय बाँकी हुने छ।
अहिले सोधिने प्रश्न निकै सरल छ। के उनले स्पेनलाई फाइनलमा पुर्याउलान्?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















