ब्रिटिश प्रधानमन्त्रीद्वारा सरकार र पार्टीको नेतृत्वबाट राजीनामा घोषणा

पत्नी भिक्टोरियालाई अङ्कमाल गर्दै स्टार्मर

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका छन्।

डाउनिङ स्ट्रीटबाहिर उभिएर पदत्याग गर्ने घोषणा गर्दा उनले पदमा बहाल हुँदा आफूले गरेका सबै निर्णय "आफूले माया गर्ने देशलाई अगाडि राखेर" गरेको बताए।

स्टार्मरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्म पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ। तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म कुर्नुपर्ने छ।

दुई वर्षअघि पार्टीभित्र भएको निर्वाचनबाट स्टार्मर प्रधानमन्त्री पदका लागि चुनिएका थिए।

राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू नेतृत्वमा आउँदा लेबर पार्टी "राजनीतिक,आर्थिक र नैतिक रूपमा टाट पल्टिएको" अवस्थामा भएको बताए।

स्टार्मरले आफूलाई "पटकपटक" पार्टी "सकियो" भनिएको तर आफूले "ती मानिसहरूलाई गलत साबित गरिदिएको" बताए।

उनले "यहुदीविरोधी भावनाको विषलाई जरैदेखि उखेलेर" पार्टीलाई परिवर्तन गरेको दाबी गरे। "अर्थतन्त्र, रक्षा र राष्ट्रिय सुरक्षामा विश्वास पुन:स्थापित गर्दै," उनले भने।

सोमवार एन्डी बर्नम सांसद पदमा बहाल हुन वेस्टमिन्स्टर जाने छन्।

लेबर पार्टीको नेताबाट राजीनामा

डाउनिङ स्ट्रीटमा किअर स्टार्मर

तस्बिर स्रोत, PA Media

आफ्नो पार्टीले "के अर्को निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उनी सबैभन्दा उपयुक्त पात्र हुन् त?" भन्ने प्रश्न सोधेको भन्दै स्टार्मरले आफूले त्यसको "उत्तर सुनिसकेको" र "त्यसलाई सहर्ष स्वीकार गर्ने" बताए।

उनले आफ्नो प्रत्येक निर्णय "आफूले माया गर्ने देशलाई सधैँ पहिलो प्राथमिकतामा राखेर" लिएको बताए।

"म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु," उनले भने।

राजा चार्ल्सलाई फोनबाट जानकारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, यूकेका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा

स्टार्मरले आफ्नो राजीनामा दिने निर्णयबारे सोमवार बिहान राजालाई जानकारी दिइसकेको बताए।

स्टार्मरले राजा चार्ल्ससँग फोनमा कुरा गरेको बुझिएको छ। राजा चार्ल्स अहिले ग्लोस्टर्शरस्थित हाइग्रोभमा छन्।

स्टार्मरले लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई ९ जुलाईदेखि नेतृत्वका लागि मनोनयन खुला गरी ग्रीष्मकालीन बिदासम्ममा सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेका छन्।

यसको अर्थ सेप्टेम्बरमा संसद् सुरु हुनुअघि नै नयाँ नेता चयन भइसक्ने छन्।

त्यतिन्जेलसम्म आफू प्रधानमन्त्री पदमै बहाल रहने उनले बताए।

नयाँ प्रधानमन्त्रीलाई समर्थन गर्ने

स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि निजलाई पूर्ण समर्थन दिने घोषणा गरे।

"दुई वर्षअघिको तुलनामा अझ बलियो र न्यायपूर्ण ब्रिटेन विरासतमा पाउँदै गरेको उनलाई [नयाँ उत्तराधिकारीलाई] थाहा छ।"

त्यसपछि स्टार्मरले विगत छ वर्षदेखि आफ्नो साथमा रहेका आफ्ना मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीट (नम्बर १०) का कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गरे।

पत्नी भिक्टोरियाको हात समातेर टेन डाउनिङ स्ट्रीटभित्र फर्कँदै प्रधानमन्त्री स्टार्मर

तस्बिर स्रोत, PA Media

परिवारको नाम लिँदा भावुक

स्टार्मरले "देशको सबैभन्दा ठूलो जिम्मेवारी" छोडेपछि अब आफ्नो ध्यान "सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी"मा केन्द्रित हुने बताए।

केही भावुक हुँदै उनले भने, "मेरी पत्नी भिक जो सुख र दुःख दुवै समयमा मेरो जग बनेर साथमा रहिन्, उनका लागि म जतिसक्दो राम्रो पति बन्ने छु।"

कुरा टुङ्ग्याउँदै उनले भने, "अनि मेरा सुन्दर छोराछोरी जो मेरा गौरव र खुसी हुन्, उनीहरूका लागि म जतिसक्दो राम्रो पिता बन्ने छु।"

डाउनिङ स्ट्रीटभित्र फर्किनुअघि उनले आफ्नी पत्नी भिक्टोरियालाई अङ्कमाल गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।