गतसाल दुई साता छिटै भित्रिएको मनसुन नेपालमा यसपटक किन ढिला?

मनसुन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०२५ मा मे २९ मै नेपालमा मनसुन भित्रिएको थियो
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

गत वर्ष औसत समय अगावै मे २९ मा नेपाल भित्रिएको मनसुन यस पटक सामान्यतः नेपाल भित्रने मिति जुन १३ काटिसक्दा समेत प्रवेश नगरेको मौसम अधिकारीहरूले बताएका छन्।

मनसुन भित्रन "अझै केही" दिन लाग्नसक्ने देखिएको र त्यस्तो घोषणाका लागि जल तथा मौसम विज्ञान विभागले आफैले तोकेका केही मापदण्डहरूको विश्लेषण गरिरहेको उनीहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल यस पटकको मनसुन "थोरै ढिलो र केही कमजोर" आउने देखिएको बताउँछन्।

"पश्चिमी वायु प्रणाली अहिलेसम्म नै सक्रिय छ। नत्र सामान्यतः मे महिनाको अन्तिमसम्ममा त्यस्तो प्रणाली कम भइसक्थ्यो," सहप्राध्यापक सिग्देल भन्छन्।

"पश्चिमी वायु प्रणालीले मनसुनी बहावलाई पूर्वी दिशा हुँदै पश्चिमतिर बढ्न दिइरहेको छैन। पश्चिम बङ्गाल वा असमसम्म आइसकेको मनसुन जसकै कारण पश्चिमतर्फ बढ्न सकिरहेको छैन।"

उनले बङ्गालको खाडीबाटै प्रवेश गर्ने क्रममा मनसुन कमजोर देखिएको र पश्चिम बङ्गालतर्फ आइपुग्दा सक्रिय हुन खोजे पनि पुनः सक्रिय पश्चिमी वायुको दबावमा परेको बताए।

सामान्यतया जुन १ तारिखतिर भारतको केरला तटमा आइपुग्ने मनसुन त्यसपछि पश्चिमतर्फ फैलिन थाल्छ।

पछिल्लो एक दशकमा नेपालमा तीनपटक मात्र जुन १३ पछि मनसुन भएको छ भने बाँकी वर्ष त्यसअघि नै मनसुनी वर्षा भएको पाइन्छ।

के छन् मापदण्ड?

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले एउटा मुख्य मापदण्ड माथिल्लो वायुमण्डलमा अन्य बेला पश्चिमी वायु हुनेमा यतिखेर पूर्वबाट बहने मनसुन वायु हुनुपर्ने र त्यहाँ उच्च चापीय प्रणाली विकसित हुनुपर्ने बताउँछिन्।

"त्यसैगरी सौर्य विकिरण जमिनमा ठोक्किएर फर्कने 'लङ वेभ'हरू प्रतिवर्गमिटर २०० वाट भन्दा कम हुनुपर्छ। ती पनि अहिले बढ्ता छन्," बिनु महर्जन भन्छिन्। "जसका कारण यस मापदण्ड कुनैबेला पुग्ने कुनैबेला नपुग्ने भइरहेको छ।"

त्यस्ता विकिरण कम हुँदा बादलहरू बाक्ला हुने र वर्षा धेरै हुने बताइन्छ।

मनसुन

तस्बिर स्रोत, EPA

त्रिभुवन विश्वविद्यालयका मौसमविद् सहप्राध्यापक सिग्देल थप्छन्: "तल्लो वायुमण्डलमा मनसुनी वायु नेपालतर्फ प्रवेश गरेको देखिए तापनि माथिल्लो वायुमण्डलमा भने रोकिएकाले मनसुन यतिखेर नेपालमा रोकावटको अवस्थामा छ।"

मनसुन बङ्गालको खाडीबाट बाष्प ल्याएर पूर्वबाट पश्चिमतर्फ बहने हावा हो।

"जसका तोकिएका मापदण्ड मिल्न अझै केही दिन लाग्न सक्ने देखिन्छ," मौसमविद् महर्जन भन्छिन्।

तर भारतको मौसम विभागले भने विहारमा मनसुन भित्रिसकेको जनाएको छ। पश्चिम बङ्गाल राज्यको दक्षिणी भेगमा पाँच वर्षमै सबैभन्दा छिटो मनसुन भित्रिएको जनाइएको छ।

गत वर्ष २९ मेमा नेपाल प्रवेश गरेर अक्टोबर १० मा बाहिरिएको मनसुन नेपालमा रेकर्ड गरिएको सबैभन्दा लामो १३५ दिनको थियो।

सन् २०१२ यताका तथ्याङ्क केलाउँदा सन् २०१४ र सन् २०१९ मा सबैभन्दा ढिलो जुन २० मा मनसुन भित्रिएको पाइन्छ।

कति स्वाभाविक, कति अस्वाभाविक?

सहप्राध्यापक मदन सिग्देल यस्तो मौसमी क्रमलाई 'केही अस्वाभाविक' बताउँछन्।

दुई साता बढी नै मध्य जुनसम्मै वायुमण्डलमा पश्चिमी वायु प्रणाली सक्रिय देखिनुलाई उनी त्यसको एउटा कारण मान्छन्।

सामान्य गतिमा जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने अवस्थामा नेपालमा मनसुनको अवधि ११२ दिनको हुने भए तापनि त्यो एकनासको पाइँदैन।

घान रोपाइँ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मनसुन नभित्रँदै देशका कतिपय भेगमा रोपाइँ हुन थालेको पाइन्छ

मौसम अधिकारीहरूले मनसुन पूर्वी नेपालबाट भित्रिएको एक साता दिनदेखि १० दिनभित्रमा पश्चिमसम्मै पुग्ने गरेको विगत रहेको बताउँछन्।

"गत वर्ष समेत पूरै कभर गर्नका लागि अलिबेर लागेको अवस्था थियो। तर यस पटकको मनसुनको व्यवहार मनसुन भित्रिसकेपछि मात्र अझ प्रस्टसँग हेर्न सकिन्छ," मौसमविद् महर्जन भन्छिन्।

"अहिले तल्लो वायुमण्डलमा जलबाष्पयुक्त हावा बङ्गालको खाडीबाटै ल्याइरहेको छ। तर माथिल्लो वायुमण्डलमा भने अझै रहेको पश्चिमी न्यूनचापिय प्रणालीकै कारण अहिले पानी परिरहेको हो।"

नेपालमा यसपालि लगातार चौथो वर्ष अधिकतम तापक्रम औसतभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। मौसमविद्हरू अहिलेसम्मको अवस्थामा पनि तापक्रम औसतभन्दा बढ्ता नै हुने देखिने बताउँछन्।

"हाललाई मनसुन पनि औसतभन्दा कम नै हुने देखिन्छ। तर त्यो भित्रिएपछि मात्र थप प्रस्टता आउनेछ," महर्जन भन्छिन्।

यसपटक प्री-मनसुन अवधिमा समेत उल्लेख्य वर्षा भएको पाइनुले पनि त्यसको असर मनसुनमा पर्न सक्ने मौसमविद्हरूले आकलन गरेका छन्।

"मनसुनी वायु आउनका लागि जमिन निकै तात्नुपर्छ र त्यसले समुद्रबाट जलबाष्पयुक्त हावा तानेर माथिपट्टि मनसुनी प्रणाली सक्रिय हुन्छ। प्री-मनसुन सक्रिय भएर धेरै बदली भइराख्यो भने त्यसले मनसुन केही अघिपछि हुने सम्भावना रहन्छ।"

नेपालमा सन् १९७९ मा सबैभन्दा कम अवधिको ७३ दिने मनसुन देखा परेको थियो। त्यति बेला जुन २४ मा भित्रिएर सेप्टेम्बर ४ मा मनसुन बाहिरिएको थियो।

'सुपर एल निन्यो'

मनसुन कस्तो हुने भन्ने कुराका लागि धेरै पक्षले प्रभाव पारेको हुन्छ।

मौसमविद्हरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने 'एल निन्यो' र 'ला निन्या' हो।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।

कैयन् देशका मौसम निकायहरूले गरेको प्रक्षेपणअनुसार यो वर्षको एल निन्यो हालसम्मकै शक्तिशाली हुन सक्छ – जसलाई सुपर एल निन्यो पनि भनिएको छ।

मनसुनमा एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

प्रशान्त महासागरको मध्य क्षेत्रमा पानीको तापक्रम केही तात्तिँदा त्यसले एल निन्यो भन्ने अवस्था सिर्जना हुने गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।