१२ वर्षपछि काठमाण्डू उपत्यका बर्ड फ्लूको 'हटस्पट', अवस्था कत्तिको चिन्ताजनक

बर्ड फ्लू भेटिएको फार्ममा निरीक्षण गर्दै अधिकारीहरू

तस्बिर स्रोत, Ganga Bhattarai

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

गत चैत महिनामा मोरङमा पुष्टि भएयता बर्ड फ्लूबाट नेपालका झन्डै एक दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाण्डू उपत्यकाका अहिले बर्ड फ्लूका लागि 'हटस्पट' बनेको छ।

तीन महिनामा देशभभरि गरेर साढे पाँ लाख कुखुरा, १० लाखभन्दा धेरै अण्डा अनि दुई लाख किलोग्रामभन्दा धेरै दाना नष्ट गरिसकिएको पशु सेवा विभागले जानकारी दिएको छ।

यसअघि विसं २०७० तिर भक्तपुर जिल्लालाई बर्ड फ्लू सङ्क्रमणका कारण सङ्कटग्रस्त घोषणा गर्नुपरेको थियो। त्यसयता यसपालि नै सबभन्दा गम्भीर किसिमले यो सङ्क्रमण उपत्यकामा देखा परेको अधिकारीहरूले बताएका छन्।

सदर चिडियाखाना बन्द

बर्ड फ्लूका कारण सदर चिडियाखाना बन्द गरिएको छ

तस्बिर स्रोत, BBC/Sanjaya Dhakal

उपत्यकाको ललितपुर जिल्लास्थित जावलाखेलको सदर चिडियाखाना असार ५ गतेदेखि बाहिरी आगन्तुकहरूको निम्ति बन्द गरिएको छ।

वरपर काग र परेवा मरेको भेटिएका कारण चिडियाखानाका पन्छीमा पनि जेठ ३० गते परीक्षण गरिएको थियो। असार ४ गते बर्ड फ्लू सङ्क्रमण पुष्टि भएको राष्ट्रिय प्रकृति संरक्षण कोषकी प्रवक्ता रचना शाहले जानकारी दिइन्।

"हालसम्म एउटा लाटोकोसेरो, एउटा गिद्ध, सावरी, अनि स्तनधारीमा 'जङ्गल क्याट' र 'लेपर्ड क्याट' मरेका छन्। अलि उमेर धेरै भएका र रोग प्रतिरोधी क्षमता कम भएका जनावरलाई असर गरेको हो," शाहले भनिन्।

चिडियाखाना बन्द गरिएको सूचना

तस्बिर स्रोत, BBC/Sanjaya Dhakal

हाल चिडियाखानामा निरन्तर पशुचिकित्सक तथा विशेषज्ञहरूको टोलीले अनुगमन गरिरहेको तथा थप नोक्सानी नभएको उनले बताइन्।

"हामीले चुन र भिर्कोन छर्किनेदेखि लिएर जैविक सुरक्षाका सबै सावधानी अपनाइरहेका छौँ। कुनै पशुपन्छी बिरामीजस्तो वा झोक्राएका छन् कि भनेर अनुगमन गरिरहेका छौँ," शाहले बताइन्।

नेपालमा पटकपटक बर्ड फ्लूको प्रकोप देखा परिरहे पनि चिडियाखानामा यसपालि पहिलो पटक उक्त सङ्क्रमण देखा परेको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सदर चिडियाखानामा बर्ड फ्लू सङ्क्रमण (भिडिओ : कमल परियार)

काठमाण्डू 'हटस्पट'

चैत ४ गते मोरङका सुन्दरहरैँचा र उर्लाबारीमा देखा परे यता बर्ड फ्लू अन्यत्र फैलिएको थियो।

"सुरुमा मोरङ अनि सुनसरी, झापा हुँदै चितवन, बारा, महोत्तरी तथा अन्य कतिपय जिल्लाहरूमा देखा पर्‍यो। पछिल्लो समयमा चाहिँ काठमाण्डू उपत्यकामा एकदमै धेरै प्रकोप भएर 'हटस्पट' बनेको अवस्था हो," पशुसेवा विभागका महानिर्देशक उमेश दाहालले सोमवार बीबीसीलाई बताए।

अन्यत्र बिस्तारै सङ्क्रमण मत्थर हुँदै गइसकेको तर काठमाण्डू उपत्यकामा अझै स्थिति चिन्ताजनक रहेको उनले बताए।

"काठमाण्डूमा अझै नियन्त्रण भइसकेको छैन। थप केही दिन लाग्ने देखिएको छ। पछिल्ला दिनहरूमा परीक्षण गरिएका थुप्रै नमुनामध्ये केहीमा मात्र एचफाइभ (H5) भाइरस देखिएको हुनाले अब बिस्तारै नियन्त्रण हुन्छ भन्ने अपेक्षा गरिएको छ," उनले भने।

काठमान्डूको सडकमा मृत देखिएको एक चरा

तस्बिर स्रोत, BBC/Ashok Dahal

तस्बिरको क्याप्शन, वरपरका काग तथा परेवा अचानक मर्न थालेको देखिएपछि चिडियाखानामा परीक्षण गरिएको बताइएको छ

यसअघि काठमाण्डूमा २०७० सालमा बर्ड फ्लूको ठूलो प्रकोप देखिएको उनले स्मरण गरे। त्यतिखेर भक्तपुर जिल्लालाई नै सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको अनि ठूलो सङ्ख्यामा पन्छीहरू नष्ट गर्नुपरेको उनले सुनाए।

उनका अनुसार यस पटकको सङ्क्रमण उपत्यकाको बाहिरी घेरामा रहेका अनि जङ्गलसँग नजिक रहेका पालिकाहरूमा बढी केन्द्रित छ। "जङ्गली चराहरूको छेउछाउमा भएका अनि जैविक सुरक्षाका उपायहरू कमजोर कार्यान्वयन गरिएका फार्महरूमा सङ्क्रमण विशेष गरी फैलिएको पाइएको छ," दाहालले बताए।

सङ्क्रमितमध्ये ८० प्रतिशत लेयर्स कुखुरा (अण्डा पार्ने) रहेको बताइएको छ। "कतिपय फार्ममा अण्डा राख्ने क्रेट पटकपटक उही प्रयोग गर्दा पनि भाइरस सङ्क्रमण भइरहेको हुन सक्छ। हामीले किसान तथा व्यवसायीहरूलाई अहिले व्यवसायभन्दा पनि समग्र पोल्ट्री क्षेत्र जोगाउने समय भएको हुनाले सचेत हुन आग्रह गरिरहेका छौँ।"

"यसको न प्रभावकारी औषधि छ न खोप छ। त्यस कारण जहाँ देखिन्छ तत्काल त्यहाँका पन्छी अनि पन्छीजन्य पदार्थ नष्ट गर्नुको विकल्प छैन।"

पूर्वी नेपालबाट फैलियो

सुनसरीको एक फार्ममा बर्डफ्लू भेटिएपछि नियन्त्रणका निम्ति खटिएका अधिकारीहरू

तस्बिर स्रोत, Ganga Bhattarai

तस्बिरको क्याप्शन, सुनसरीको एक फार्ममा बर्डफ्लू भेटिएपछि नियन्त्रणका निम्ति खटिएका अधिकारीहरू

पूर्वी नेपालमा यसपालिको सङ्क्रमणले करोडौँ रुपैयाँको क्षति पुर्‍याइसकेको जानकारहरूले बताएका छन्।

सबभन्दा प्रभावित सुनसरी जिल्ला अनि त्यसमा पनि सबभन्दा प्रभावितमध्ये चाहिँ सुनसरी पोल्ट्री प्रालि रहेको बताइएको छ।

"हामीकहाँ वैशाख ५ गते पहिलो पटक पुष्टि भएको थियो। हामीले फार्ममा अचानक कुखुराहरू मरेपछि तत्कालै परीक्षण गरायौँ। एचफाइभकै सङ्क्रमण भन्ने भएपछि सम्बन्धित निकायका मानिसहरू आएर नष्ट गरे। लगभग डेढ लाखजति त लेयर्स कुखुरा नष्ट गर्नुपर्‍यो," सुनसरीको रामधुनी नगरपालिकामा रहेको उक्त पोल्ट्रीका निर्देशक गङ्गा भट्टराईले बताए।

"हामीलाई ठूलै नोक्सानी करिब १८ करोड रुपैयाँ जतिको भयो।"

तर राज्यले नष्ट गरेको हकमा त्यसको हिसाब गरेर ७५ प्रतिशतसम्म रकम फिर्ता दिने नियम छ।

स्थान विशेषमा प्रचलित भाउ तथा नष्ट गरिएका कुखुराको उमेरजस्ता विभिन्न मापदण्डका आधारमा त्यस्तो क्षतिपूर्ति दिइने गरेको अधिकारीहरूले बताएका छन्।

"खोरमा पहिले नै मरेकाहरूको हकमा क्षतिपूर्ति पाइँदैन तर किसानले लगेर परीक्षण गराएपछि बर्ड फ्लू पुष्टि भयो भने बाँकी रहेकाहरूलाई सरकारले नष्ट गर्छ र तिनको परल मूल्यको ७५ प्रतिशत क्षतिपूर्ति दिने चलन छ," नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष नारायणहरि खत्रीले बताए।

सावधानीका उपाय कस्ता?

बर्ड फ्लूबारे जानकारीमूलक सामग्री

नेपालमा यो रोग पहिले झापामा २०६५/६६ सालमा देखियो र त्यसपछि ठाउँठाउँमा बेलाबेला देखा पर्ने गरेको छ। सङ्क्रमण भेटिएका ठाउँमा स्वस्थ पन्छीहरू नष्ट गरिने हुँदा ठूलो क्षति हुने गर्छ।

बर्डफ्लू वा एभिअन इन्फ्लुएन्जा चरा तथा अन्य केही पशुमा भाइरसबाट हुने सङ्क्रमण हो। घरपालुवा तथा जङ्गली चराहरूमा यो बेलाबेला प्रकोपको रूपमा देखा पर्ने गर्छ।

यसको कारकमध्ये मुख्य एचफाइभएनवन (H5N1) भाइरस हो। यो भाइरस सुरुमा सन् १९९०को दशकमा चीनमा देखा परेको थियो। मानिसलाई यसको सङ्क्रमण दुर्लभै हुने गर्छ। खास गरी सङ्क्रमित कुखुरा वा अन्य चराचुरुङ्गीबाटै भारइस सर्ने गर्छ।

बर्ड फ्लू भएर मरेका वा जिउँदै चरासँगको सम्पर्कमा आएका वा सङ्क्रमित वातावरणमा भएका संसर्गबाट मानिसहरूमा यो सर्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार सन् १९९७ देखि सन् २०२६को ज्यानुअरीसम्म विश्वभरि बर्ड फ्लूबाट ९९३ मानिस सङ्क्रमित भएको र तीमध्ये ४७७ जनाको ज्यान गएको छ।

नेपालमा हालसम्म एक जनाको बर्ड फ्लू सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। त्यो सन् २०१९ ताका भएको थियो।

कुखुरापालक किसान, ओसारपसारमा संलग्न मानिसहरू तथा व्यवसायीहरू खास गरी यो रोग सर्न नदिन सजग हुनुपर्ने विज्ञहरू बताउँछन्।

भाइरसको उत्परिवर्तन भएर झन् घातक तथा छिटो फैलन सक्ने सम्भावना, विश्वभरि यसको उपस्थिति तथा महामारी गराउन सक्ने क्षमता अनि उपचार वा खोपको अभावका कारण बर्ड फ्लूलाई गम्भीरताका साथ लिइन्छ।

मानिसहरूलाई यसबाट जोगिन सामान्य किसिमका सजगताहरू अपनाउन सल्लाह दिने गरिन्छ।

"हल्लाहरू त धेरै चल्छन् तर बजारमा मासु वा अण्डालाई राम्रोसित पकाएर ढुक्कले खान सकिन्छ। त्यसबाट सङ्क्रमण सर्दैन," दाहालले बताए।

डब्ल्यूएचओका अनुसार सङ्क्रमित पशुपन्छीसँग प्रत्यक्ष सम्पर्क गर्दा (हेरविचार गर्दा, नष्ट गर्दा, मार्दा वा प्रशोधन गर्दा) वा अप्रत्यक्ष सम्पर्क (सङ्क्रमित पशुपन्छीद्वारा दूषित वातावरण)बाट मानिसलाई सङ्क्रमण सर्ने जोखिम हुन्छ।

उसले दिएको जानकारीअनुसार मानिसलाई सङ्क्रमण भएमा अन्य फ्लूकै जस्ता लक्षणहरू देखा पर्छन्। साथै हाल मानिसबाट मानिसमा यस सङ्क्रमणको सहज तथा निरन्तर प्रसार भएको नदेखिएको उसले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।