दक्षिण कोरिया: हलोइन मनाउन जम्मा भएको भिडमा किचिएर १५३ जनाको मृत्यु

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
दक्षिण कोरियाको राजधानी सोलमा हलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ।
घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ।
शनिवार साँझ भएको घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
हलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालिन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो।
घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ।
साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानिसहरूलाई भीडले किचेको विवरणहरू आएका छन्।
'नेपाली परेका छैनन्'
सोलस्थित नेपाली दूतावासले घटनामा कोही नेपालीहरू परेकोबारे हालसम्म कुनै पनि विवरण नआएको जनाएको छ।
"घटनामा हालसम्म एकै जना पनि नेपाली नागरिक परेको विवरण आएको छैन," दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति भण्डारी प्याकुरेलले बीबीसीसँग भनिन्।

तस्बिर स्रोत, Reuters
कोरियाली आपतकालिन सेवाले भिडमा किचिएर मारिनेमा १९ जना विदेशी नागरिक रहेको जनाएको छ।
नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले घटनामा गहिरो दुख: व्यक्त गर्दै दक्षिण कोरियाली सरकार र जनता तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
देउवाले ट्वीट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
सोलको महानगर सरकारले घटनापछि अझै ३५५ जना हराइरहेको उजुरी प्राप्त भएको जनाएको छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
घटनास्थलमा खिचिएका भिडिओहरूमा आपतकालिन सेवाका कर्मचारीहरूले मानिसहरूलाई होसमा ल्याउन सीपीआर दिइरहेको देखिन्छ। भिडिओमा शव राख्न प्रयोग हुने झोलाहरू सडक भरी देखिएका छन्।
१००,००० मानिसहरूको भीड
दक्षिण कोरियामा यो सन् २०१४ मा फेरी दुर्घटनामा ३०० जनाको मृत्यु भयायताकै सबैभन्दा दुखद घटना हो।
राजधानी सोलसँगै रहेको रात्रिकालीन गतिविधिका लागि प्रख्यात इतेवोनमा दुर्घटना भएको थियो।
घटना भएको समयमा उक्त स्थानमा हेलोइन मनाउन १००,००० मानिसहरू भेला भएको आनुमान गरिएको छ।
हरेक सप्ताहान्तमा यो स्थानमा भीड हुने गरे पनि कोभिड महामारीपछि पहिलो पटक आयोजना भएको खुला हेलोइन मनाउन शनिवार अत्यधिक मानिसहरू जम्मा भएका थिए।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
दक्षिण कोरियामा कोभिड महामारीपछि खुला स्थानमा हेलोइन आयोजना भएको यो नै पहिलो थियो।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा साँघुरो स्थानमा हलचल गर्न नसक्ने गरी मानिसहरूको भीड जम्मा भएको देखिन्छ।
एउटा भिडिओमा मानिसहरूलाई सास फेर्न कठिन भएको समेत देखिएको छ। अर्को एउटा भिडिओमा आपतकालिन सेवामा मानिसहरूले भीडबाट शवको खात निकाल्दै गरेको देखिन्छ।
शवहरू सडक र एम्बुलेन्समा लैजाँदै गर्दै मानिसहरूको चिच्याहट र रोदन सुनिन्छ।
दक्षिण कोरियाका राष्ट्रपति युन शुक-योलले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले घाइतेहरूको उपचारका लागि कार्यदल बनाउन पनि भनेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले एक सन्देश मार्फत घटनामा दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।





















