इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु

इन्डोनेसिया

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES

तस्बिरको क्याप्शन, समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो
Published

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको ज्यानको गएको छ।

अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्।

खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्।

प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो।

जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए।

ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए।

अवस्था के छ?

मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो।

"उनीहरू एउटै बाहिरिने विन्दुमा गए। त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आयो,"अफिन्टाले बताए।

सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ।

इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्।

इन्डोनेसिया

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रङ्गशालाभित्र क्षति पुर्‍याइएका प्रहरीका सवारी साधन

कारहरूमाथि आगो लगाइएको थियो।

प्रहरी प्रमुख अफिन्टाका अनुसार समर्थकहरू अराजक हुँदै प्रहरी अधिकारीहरूलाई आक्रमण गर्न र कारहरूमा क्षति पुर्‍याएका थिए।

उनले भने, "हामी के भन्न चाहन्छौँ भने सबै जना त्यसरी अराजक भएका थिएनन्। मैदान प्रवेश गरेका करिब ३ हजार जनाले मात्रै त्यस्तो व्यवहार देखाएका थिए।"

फुटबल सङ्घ के भन्छ?

इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

उक्त घटनाले 'इन्डोनेसियाको फुटबलको छवि धूमिल बनाएको' उसले बताएको छ।

इन्डोनेसिया

तस्बिर स्रोत, STR/AFP VIA GETTY IMAGES

इन्डोनेसियाको प्रमुख लीग बीआरआई लीगा १ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ।

इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिवार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ।

त्यसमा भनिएको छ, "कंजरुहान स्टेडियममा अरेमाका समर्थकहरूले जे गरे त्यसको हामी निन्दा गर्छौँ। हामी ज्यान गुमाउने व्यक्तिका परिवारसँग माफी माग्छौँ। पीएसएसआईले तत्कालै अनुसन्धान गर्नका लागि एउटा जाँच टोली गठन गरेको छ जो मलंगतर्फ गइसकेको छ।"

यो घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ।

इन्डोनेशियामा पहिला पनि फुटबल म्याचको समयमा विभिन्न क्लबका समर्थकहरूबीच हिंस्रक टकराव देखा पर्ने गर्छ।

फुटबलका आपसी प्रतिद्वन्द्विताले बेला बेलामा ह्रिंस्रक रूप समेत लिने गरेको छ।

खराब भागदौडको नराम्रो इतिहास

प्रहरी फुटबल प्रशंशकहरूलाई फुटबल मैदानमा प्रवेश गर्नबाट रोक्न खोज्दै

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्रहरी फुटबल प्रशंशकहरूलाई फुटबल मैदानमा प्रवेश गर्नबाट रोक्न खोज्दै

रङ्गशालामा यसअघि पनि कैयौँ यस्ता खराब हिंसा भएका छन्।

सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको ओलिम्पिक छनौट खेलमा भाग दौड मच्चिँदा ३२० जनाको ज्यान गएको थियो भने एक हजार भन्दा बढी घाइते भएका थिए।

सन् १९८५ मा लिभरपुल र युभेन्ट्सबीच युरोपियन कप फाइनल चलिरहँदा एउटा पर्खाल भत्किँदा त्यसले थिचिएर बस्रल्सस्थित एउटा रङ्गशालामा ३९ जनाको निधन भएको थियो। त्यसबेला ६०० जना घाइते भएका थिए।

सन् १९८९ मा यूकेमा एफए कपको सेमिफाइनलको समयमा सेफिल्डस्थित एउटा रङ्गशालामा भागदौडको परिस्थिति निम्तिँदा ९७ जना लिभरपुल समर्थकहरूले ज्यान गुमाएका थिए।