फेरि चम्किए मेस्सी : यो विश्वकपमा बनेका र अझ बन्न सक्ने नयाँ कीर्तिमानहरू

आर्जेन्टिनाका लागि गोल गरेपछि रमाउँदै मेस्सी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेस्सीले ६ वटा विश्वकप खेल्ने क्रममा १८ गोल गरिसकेका छन्
    • Author, शार्लोट कोट्स
    • Role, बीबीसी खेल संवाददाता
  • Published
  • पढ्ने समय: ७ मिनेट

विश्वकप २०२६ सुरु भएको डेढ साता भएको छ तर यो प्रतियोगिताले अहिल्यै फुटबलको इतिहास पुनर्लेखन गर्न सुरु गरिसकेको छ।

लिओनेल मेस्सी, किलियान एम्बाप्पे, ह्यारी केन र एर्लिङ होलान सबैले आफ्नो पहिलो देशका लागि यस प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेका छन्।

यी प्रमुख खेलाडीका थप खेलहरू हुँदा ४८ टोली समाविष्ट यो विश्वकपमा कैयौँ कीर्तिमानहरू तोडिने परिस्थिति देखिएको छ।

आर्जेन्टिनाका मेस्सीदेखि पोर्चुगलका क्रिस्टिआनो रोनाल्डोले आफ्नो विश्वकपको विरासतलाई निरन्तरता दिइरहँदा मेस्सीले विश्वकप इतिहासमै सर्वाधिक १८ गोलको रेकर्ड बनाएका छन्। एम्बाप्पे फ्रान्सका लागि हालसम्मकै सर्वाधिक गोलकर्ता बनेका छन्।

यस विश्वकपमा भङ्ग भइसकेका वा हुन सक्ने सम्भावना भएका अरू कीर्तिमानहरू केके छन्?

मेस्सीले रचे सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान

लिओनेल मेस्सी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२२ को विश्वकपमा मेस्सीले गोल्डन बल जितेका थिए

सन् २०१४ यता यो कीर्तिमान जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोसको नाममा थियो, जसले विश्वकपमा कुल १६ गोल गरेका थिए।

अस्ट्रियाविरुद्ध २ गोल गरेसँगै मेस्सीले विश्वकप इतिहासमै सर्वाधिक १८ गोलको रेकर्ड बनाएका छन्।

एल्जिरियाविरुद्ध आर्जेन्टिनाको पहिलो खेलमा 'ह्याट्रिक' गरेसँगै आठ पटकका बालन डो'र विजेता मेस्सीले उक्त कीर्तिको बराबरी मात्रै गरेनन्, त्यहाँभन्दा अझ माथि पुग्न सक्ने सङ्केत पनि गरेका थिए।

अस्ट्रियाविरुद्धको खेलमा मेस्सीले क्लोसको नाममा रहेको कीर्तिमान तोडेर आफ्नो नाममा बनाए।

सन् २०२२ मा क्लोसले भन्दा तीन खेल बढी खेल्दै आफ्नो २७ औँ खेलमा विश्वकप विजेता टोलीका कप्तान मेस्सीले गरेको गोलले उनलाई यो कीर्तिमानमा अनुकूल वातावरण बनाइदियो।

अब मेस्सी भन्दा पछाडि १६ गोल गरेका फ्रान्सका स्टार एम्बाप्पे छन्, जो ६० गोल गरेर फ्रान्सका लागि हालसम्मकै सर्वाधिक गोलकर्ता बनेका छन् र उनको पनि उक्त कीर्तिमानमाथि नजर रहने छ।

इङ्ग्ल्यान्डका ह्यारी केन थप चार गोल पछाडि छन् र वास्तवमै यो प्रतियोगितामा उक्त लक्ष्य भेटाउनु उनका लागि गाह्रै हुन सक्छ।

ग्यारी लिनेकरको रेकर्ड तोड्दै केन?

ह्यारी केन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इङ्ग्ल्यान्डका ११५ खेलमा ह्यारी केनले ८१ गोल गरेका छन्

मेस्सी, होलान र एम्बाप्पे सबैले उत्कृष्ट गोलहरू गरे। तर क्रोएशियाविरूद्ध इङ्ग्ल्यान्डले ४-२ गोलको जित निकाल्दा ह्यारी केनले विश्व फुटबललाई आफूले के गर्न सक्छु भन्ने देखाइदिए।

"थ्री लायन्स" पनि भनिने उक्त टोलीका कप्तानले ड्यालसमा भएको खेलमा दुई गोल गर्दा इङ्ग्ल्यान्ड समूह 'एल'को शीर्ष स्थानमा उक्लियो। उनले विश्वकपमा इङ्ग्ल्यान्डका र्तफबाट सर्वाधिक १० गोल गर्ने ग्यारी लिनेकरको कीर्तिमान बराबरी गरे।

मङ्गलवार घाना र इङ्ग्ल्यान्डबीच खेल हुँदै छ र लिनेकरसँगको यो बराबरी लामो समय नजान पनि सक्छ।

बुधवारको खेलपछि सन् १९९८, सन् २००२ र सन् २००६ का तीन विश्वकपमा गोल गरेका सर डेभिड बेक्हमपछि लगातार तीन विश्वकपमा गोल हान्ने इङ्ग्ल्यान्डका दोस्रो खेलाडी पनि केन बनेका छन्।

उनले इङ्ग्ल्यान्डका लागि ११५ खेल खेल्दै बेक्हमको आँकडासँग बराबरी पनि गरेका छन्।

के एकभन्दा बढी 'गोल्डन बूट' विजेता होलान्?

किलियान एम्बाप्पे सन् २०२२ को विश्वकपमा पाएको 'गोल्डन बूट' सँग

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, किलियान एम्बाप्पेले सन् २०२२ को विश्वकपमा 'गोल्डन बूट' पाएका थिए

एम्बाप्पेतर्फ नै फर्कँदा के उनी एकभन्दा बढी विश्वकपमा 'गोल्डन बूट' जित्ने पहिलो खेलाडी हुने छन् या के इङ्ग्ल्यान्डका कप्तान केनले त्यो कीर्तिमान बनाउलान् भन्ने चासो धेरैमा छ।

एम्बाप्पेले कतार २०२२ मा गोल्डन बूट जित्ने क्रममा आठ गोल गरेका थिए तर यसपालि उनले कडा प्रतिष्पर्धाको सामना गर्ने देखिन्छ।

सन् २०१८ मा छ गोल प्रहार गरेर सर्वाधिक गोलकर्ता बनेका केनले पनि उक्त लक्ष्य कायम राखेका छन्।

मेस्सी, जर्मनीका डेनिज उन्डाफ र क्यानडाका जोनाथन डेभिड ३ गोल हानेर अहिले यो दौडमा अगाडि छन्। उनीहरूलाई होलान र एम्बाप्पेले पछ्याइरहेका छन्।

धेरै विश्वकपमा गोल गर्ने कीर्तिमान

क्रिस्टिआनो रोनाल्डो

तस्बिर स्रोत, Getty Images

किस्टिआनो रोनाल्डो कुनै पनि बिन्दुमा यसका लागि स्वाभाविक दाबेदार हुन्। पोर्चुगलले प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग १-१ गोलको बराबरी खेलेको भए पनि कीर्तिमान सधैँ उनको नजिककै छ।

सन् २०२२ मा रोनाल्डोले पाँचवटा विश्वकपमा गोल हान्ने खेलाडीको कीर्तिमान राखेका थिए। उनले सन् २००६, सन् २०१०, सन् २०१४, सन् २०१८ र सन् २०२२ मा गोल गरेका छन्। त्यसलाई मेस्सीले बराबरी गरिसकेका छन्।

यो विश्वकपमा एक गोल हान्दा पाँच पटक बालन डो'र उपाधि जितेका रोनाल्डो छ वटा विश्वकपमा गोल प्रहार गर्ने पहिलो खेलाडी बन्ने छन्।

मैदानमा उत्रने पाका खेलाडीको कीर्तिमान रोनाल्डोको नाममा

पोर्चुगलको जर्सीमा क्रिस्टिआनो रोनाल्डो

तस्बिर स्रोत, Getty Images

तर आफ्नो टोलीका लागि पहिलो खेल खेल्ने क्रममा रोनाल्डोले नयाँ कीर्तिमान बनाए।

ह्युस्टनमा उनले मेस्सीसँगै छ वटा फिफा विश्वकप संस्करण खेल्ने कीर्तिमान मात्रै बनाएनन्, उनी सुरुवातमा नै खेल मैदानमा उत्रने पाका खेलाडी बन्न पुगे। प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको खेल्दा रोनाल्डोको उमेर ४१ वर्ष १३२ दिन थियो।

उक्त कीर्तिमान विगतमा क्यानडाका अटिबा हिचिन्सनको नाममा थियो। सन् २०२६ मा उनले ३९ वर्ष २९६ दिनमा क्रोएशियाविरूद्धको खेल खेलेका थिए।

हालान के नर्वेका सर्वाधिक गोलकर्ता बन्लान्?

नर्वेका होलान गोल गरेपछि खुसी मनाउँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इराकविरुद्धको खेलमा होलान

जहाँ कीर्तिमानहरू भङ्ग हुन्छन्, त्यसको नजिक होलान सधैँ हुन्छन्। इराकविरुद्ध ४-१ गोलको जित हासिल गर्दा नर्वेका स्ट्राइकरले खेल अवधिमा जम्मा २० पटक बल छुँदा २ गोल गर्न सफल भए। उनी आफ्नो टोलीका लागि विश्वकपमा दुई गोल गर्ने पहिलो खेलाडी बन्न पुगे।

विश्वकपमा नर्वेका लागि सर्वाधिक गोल गर्ने किएटील रेकडालको कीर्तिमानको बराबरी उनले जम्मा एक खेलमा नै गरिसकेका छन्। मङ्गलवार सेनेगलविरुद्धको खेलमा उले यो कीर्तिमान तोडेका छन्। उनले सेनेगलविरुद्ध २ गोल गर्दै आफ्नो टोलीका लागि यो विश्वकपमै ४ गोल गरिसके। सेनेगललाई पराजित गरेसँगै नर्वे अन्तिम ३२ टोलीका लागि छनौट भएको छ।

विश्वकपका पाका स्टार भोजीन्या

केप भार्डका भोजीन्या

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्पेनसँग बराबरी भएपछि भोजीन्याका आँखामा आँसु देख्न सकिन्थ्यो

पहिलो खेलमा ०-० को बराबरी खेलेपनि केप भर्डका गोलरक्षक भोजीन्या प्रतियोगिताको एउटा सफलताको कथाजस्तै बनेका छन्। आफ्नो टोलीको पहिलो विश्वकप प्रतियोगितामा उनले ७ वटा उत्कृष्ट बचाउ गरेर युरोपिअन च्याम्पिअन स्पेनलाई बराबरीमा मात्रै रोकेनन्, आफ्ना लागि पनि केही कीर्तिमानहरू बनाएका छन्।

चालीस वर्ष र १२ दिनमा उनी देशका लागि पहिलो पटक विश्वकप खेल्ने खेलाडी बनेका थिए। त्यसक्रममा उनले क्युरसाउका उलोय रुमको कीर्तिमान तोडेका थिए।

भोजीन्या आफ्नो विश्वकपको पहिलो उपस्थितिमा गोल नखाने सबैभन्दा पाका गोलरक्षक पनि बनेका छन्।

व्यवस्थापकको रूपमा कीर्तिमान

डिडियर डेस्याँ रङ्गशालामा मुस्कुराइरहेको अवस्थामा

तस्बिर स्रोत, Getty Images

फ्रान्सका व्यवस्थापक डिडियर डेस्याँ व्यवस्थापकको हैसियतमा सबैभन्दा बढी कीर्तिमानको नजिक छन्।

पश्चिम जर्मनीका पूर्वव्यवस्थापक हेल्मट सुनले १६ जितसहित त्यस्तो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। इराकविरुद्ध फ्रान्सले जितेको खण्डमा उनले त्यो बराबरी गर्ने छन्।

नर्वेविरुद्धको समूह चरणको अन्तिम खेलमा फ्रान्सले जित हासिल गरेको खण्डमा उनको नाममा नयाँ कीर्तिमान बन्ने छ।

फ्रान्सको व्यवस्थापकका रूपमा त्यो सर्वाधिक ठूलो सफलता हुने छ।

'रेड कार्ड'को कीर्तिमान

मेक्सिकोका खेलाडीलाई रेड कार्ड देखाइँदाको क्षण

तस्बिर स्रोत, Getty Images

सन् २००६ को विश्वकपमा अहिलेसम्मकै सर्वाधिक २८ वटा रेड कार्ड दिइएको थियो। सन् २०२६ को विश्वकपमा अहिलेसम्म छ जनाले रेड कार्ड पाइसकेका छन्।

मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलमा नै तीनवटा रेड कार्ड दिइएको थियो। पछिल्ला दुई विश्वकपभन्दा उक्त सङ्ख्या बढी हो। कतार र रुसमा आयोजना भएका विश्वकपमा जम्मा ४ वटा रेडकार्ड दिइएका थिए।

रेड कार्डको कीर्तिमान तोडिने बिन्दु अझै टाढा नै छ तर विश्वकपमा धेरै खेलहरू हुन बाँकी नै छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।