काठमाण्डूका निश्चित स्थानमा ट्राफिक कारबाहीमा परे 'दुई मिनेटमै जरिवाना तिरेर कागजात फिर्ता लिन सकिने'

तस्बिर स्रोत, RSS
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तत्काल ट्राफिक जरिवाना भुक्तान गर्न सकिने प्रणालीको सुरुवात गरेको छ।
बिहीवारबाट काठमाण्डूका सीमित स्थानहरूबाट उक्त सेवा सुरु गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए।
झन्डै दुई महिना अघि अनलाइन सेवामार्फत जरिवाना तिर्न सकिने व्यवस्था गरिएको भए पनि कागजपत्र फिर्ता लिन भने बग्गीखानास्थित ट्राफिक कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता थियो।
पछिल्लो व्यवस्थाले त्यो बाध्यतालाई चिर्दै कारबाही परेकै स्थानमा अनलाइन जरिवाना तिरेर कागजपत्र लिएर जान सकिने प्रहरीको भनाइ छ।
नयाँ व्यवस्था के हो?
ट्राफिक नियम उल्लङ्घन भएमा सवारी अनुमतिपत्र वा सवारी दर्तासम्ब्नधी कागजात प्रहरीको विशेष फोनले फोटो खिचेर केन्द्रमा पठाउनेछ।
केन्द्रले घटना दर्ता गर्छ र त्यसको जरिवाना अनलाइनबाट तिर्न सकिने हुन्छ।
जरिवाना तिरेर प्रक्रिया पूरा भएपछि कागजात घटनास्थलमै फिर्ता पाइन्छ।
यसअघि काठमाण्डूका तीन जिल्लाभित्र कुनै पनि स्थानमा ट्राफिक प्रहरीको कारबाहीमा परे कागजात फिर्ता लिन नजिकको ट्राफिक प्रहरी कार्यालय वा बग्गीखाना पुग्नुपर्थ्यो।
कागजपत्र लिएर प्रहरी कार्यालय फर्केपछि मात्रै कारबाही दर्ता हुन्थ्यो जसले गर्दा तत्काल जरिवाना तिर्न वा कागजपत्र फिर्ता लिन सम्भव थिएन।

तस्बिर स्रोत, METRO TRAFFIC / TWITTER
"दुई मिनेट जति लाग्छ। त्यहीँ पैसा तिरेर, कागजपत्र लिएर सम्बन्धित ट्राफिक प्रहरीले रेकर्ड महाशाखा पठाइन्छ," दासले भने।
"महाशाखाले १० सेकेन्ड भित्र त्यो रेकर्ड फिर्ता पठाउँछ।"
यो सुविधा हाललाई काठमाण्डू उपत्यकाका पाँच स्थानमा उपलब्ध छ।
गौशाला, थापाथली, दरबारमार्ग, विशालबजार र जावलाखेल क्षेत्रमा यो सुविधा उपलब्ध हुने ट्राफिकको भनाइ छ।
मोटरसाइकलमा हिँड्ने मोबाइल टोलीबाट पनि यो सेवा लिन सकिन्छ।
यसको अर्थ आवश्यकता अनुसार उक्त टोलीले विभिन्न स्थानमा पुगेर सेवा उपलब्ध गराउने छन्।
कुन-कुन नियम तोड्दा यो सुविधा पाइँदैन?

ट्राफिक प्रहरीका अनुसार प्रायजस्तो अवस्थामा कारबाही गरिएको स्थानबाटै रकम भुक्तानी गरेर कागजात फिर्ता लिन सकिन्छ।
तर मादक पदार्थ सेवन, रेड लाइटमा हिँडेको र लेन अनुशासन तोडेको अवस्थामा भने बग्गीखाना नै पुग्नुपर्ने हुन्छ।
"यो तीनवटाका हकमा कक्षा लिन आउनुपर्ने हुँदा त्यसै छोड्न मिलेन। अरू चाहिँ छोड्न मिल्यो," दासले भने।
ट्राफिक व्यवस्थापन कति सहज होला?

दसैँ अगाडि अनलाइनमार्फत जरिवाना तिर्न सकिने बनाइएपछि आफूहरूलाई व्यवस्थापन गर्न निकै सहज भएको ट्राफिकको भनाइ छ।
काठमाण्डू उपत्यकामा एक दिनमा १,८०० देखि २,००० सवारी चालक कारबाहीमा पर्ने ट्राफिक प्रहरीको तथ्याङ्क छ।
त्यसमध्ये १,२०० देखि १,३०० सर्वसाधारणले जरिवाना अनलाइन तिरेर लाभान्वित भएको देखिएको छ।
"(बग्गीखानामा) झन्डै ६० प्रतिशत मानिस कम छन्," उनले भने।
कागजात लिन बग्गीखाना जानु नपर्ने पछिल्लो व्यवस्थाले ट्राफिक कार्यालयको चाप थप घट्ने ट्राफिक प्रहरीको आकलन छ।
तत्काल सेवा कसरी उपलब्ध हुन्छ?

तस्बिर स्रोत, Metropolitan Traffic Police Division / FACEBOOK
प्रहरीले यो सुविधा उपलब्ध गराउनका लागि विशेष एपको प्रयोग गरेको बताइएको छ।
"सबै फोनमा यो एप डाउनलोड गर्न मिल्दैन," उनले भने।
एप राख्न मिल्ने फोनको मूल्य २० - २५ हजार परेको बताइएको छ।
काठमाण्डूका तीन जिल्लामा १,५४० ट्राफिक प्रहरी छन्।
सबै प्रहरीको हातमा उपकरण पुर्याउन सके कार्यालय बाहिरबाटै "अधिकांश काम पूरा गर्न सकिने" दासको भनाइ छ।
सुरुवाती चरणमा काठमाण्डूमा सीमित यो सेवा क्रमिक रूपमा देशैभर पुर्याउने योजना ट्राफिकको छ।
महाशाखाका अनुसार हाल नेपालमा लगभग ४,५०० ट्राफिक प्रहरी छन्।
यो पनि हेर्नुहोस्





















