नेपाल मौसम: मनसुनको पहिलो महिनामा औसतभन्दा बढी वर्षा, बुधवारदेखि फेरि सक्रिय

तस्बिर स्रोत, RSS
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका पाँच वटा प्रदेशमा बुधवारबाट मनसुन थप सक्रिय हुने र तीन दिन केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ।
विभागले बुधवार बिहान जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने रातिको समयमा अत्यधिक वर्षाको सम्भावना छ।
विज्ञप्तिमा भनिएको छ, "प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।"
बिहीवार रातिको समयमा भने सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।
शुक्रवार दिउँसोसम्म केही स्थानमा धेरै वर्षा हुने भए पनि रातिबाट सामान्य हुँदै जाने पूर्वानुमान छ।
औसतभन्दा बढी पानी
यो वर्ष मनसुनमा धेरै पानी पर्ने अनुमान छ। मनसुन सुरु भएको पहिलो महिनामा नै औसतभन्दा बढी पानी परेको विभागले जनाएको छ।
विभागका मौसमविद् मीनकुमार अर्यालले भने, "देशभर रहेका केन्द्रले देखाएका तथ्याङ्कले काठमाण्डू, ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङबाहेक अधिकांश भागमा सामान्यभन्दा बढी पानी परेको देखाउँछ।"
उनका अनुसार डडेलधुरामा जुन महिनामा १७१ मिलिमिटर पानी पर्नुपर्नेमा ४०१ मिलिमिटर पर्यो।
डडेलधुराबाहेक, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, पोखरा, भैरहवा, सिमरालगायतमा भने चाहिनेभन्दा बढी अर्थात् औसतभन्दा एक सय प्रतिशतभन्दा बढी पानी परेको छ।
सामान्यतया जुन १० तारिखबाट मनसुन सुरु हुने भए पनि यस वर्ष १३ तारिखबाट सुरु भएको मानिएको विभागले जनाएको छ।
त्यसको १०० दिनसम्म मनसुन हुने भए पनि कहिलेकाहीँ अलि लम्बिने मौसमविद् अर्याल बताउँछन्।

तस्बिर स्रोत, RSS
सतर्कता अपनाउनुपर्ने क्षेत्र कुन-कुन हुन्?
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बुधवारदेखि तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरू विशेष गरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने छ।
त्यस्तै सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने अनुमान केन्द्रको छ।
यी बाहेक तिनाउ, कनकाई, कमला, बागमती र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनु गृह मन्त्रालयले भनेको छ।
वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम पनि बढ्ने कारण त्यसै अनुसार जोखिमयुक्त क्षेत्रमा पूर्व जानकारी गराइएको विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रवक्ता वेदनिधि खनालले बताए।
यो वर्ष मनसुनमा विगतका वर्षभन्दा धेरै पानी पर्ने अनुमान गरिएका कारण जोखिम पनि धेरै रहेको बताइन्छ।
मनसुन सुरु भएको पहिलो सातामै विभिन्न भागमा पहिरो र बाढीका कारण जनधनको क्षति भएका खबरहरू आए।

तस्बिर स्रोत, RSS
मनसुनमा हुने घटनामा पनि वृद्धि
मनसुनको पहिलो महिनामा नै बाढी पहिरो जस्ता मनसुनजन्य घटनाको सङ्ख्या बढेसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने ३१ जना हराइरहेका छन्।
त्यस्तै पहिरो र अत्यधिक वर्षाका कारण ४१ जना घाइते भएका छन् र ३२२ परिवार प्रभावित भएको छ।
पहिरो र बाढीका कारण विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएका खबर आउने क्रम बढेको बताइन्छ।
गत साता गृहमन्त्री विष्णु पौडेलले अवरुद्ध सेवा तत्काल सञ्चालनमा ल्याउन, क्षति भएका सार्वजनिक पूर्वाधार तथा संरचनाको पुनर्निमाण तथा पुनर्स्थापनाका लागि कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउन विषयगत निकायहरूलाई निर्देशन दिएका थिए।




















