केपी शर्मा ओली: प्रधानमन्त्रीको गृहजिल्ला झापाको दमक नगरपालिकामा ‘राजनेता पार्क’ बनाउने योजनाको नालीबेली

बजेटको कार्यक्रम लागु गर्न छलफल नै अघि बढाइएको अधिकारीहरूको भनाइ छ
तस्बिरको क्याप्शन, बजेटको कार्यक्रम लागु गर्न छलफल नै अघि बढाइएको अधिकारीहरूको भनाइ छ
    • Author, उमाकान्त खनाल
    • Role, झापा
  • Published

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका क्षेत्रमा 'राजनेता पार्क' बताउने योजनाप्रति विभिन्न खालका चासो देखा परेका छन्।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोहाङ्‌का अनुसार पार्क बनाउन अहिलेलाई एक करोड रुपैयाँ बजेटमा छुट्टाइएको छ।

नेकपा एमालेका एकथरी नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई 'राजनेता' भनेर सम्बोधन गर्न थालेका बेला एमाले नेतृत्वकै प्रदेश सरकारले राजनेता पार्कको अवधारणा अघि बढाएको देखिन्छ।

त्यसो त दमक नगरपालिका क्षेत्रभित्र अर्बौँ रुपैयाँका योजना थुपारेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।

ओलीको बढाइचढाइ कि इमान्दार अवधारणा?

इटहरी, विराटनगर तथा दमकमा पार्क बनाउन प्रदेश सरकारलाई सुझाव प्राप्त भएको मन्त्री आङ्बोहाङ्ले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले दमक नगरपालिका क्षेत्रमै बनाउन जग्गाको निम्ति नगरपालिकासँग कुरा गरिरहेको छ।

ओलीलाई विशेष देखाउन बढाइचढाइ गरेर त्यो अवधारणा अघि सारेको हुन सक्ने कतिपयको आशङ्का अस्वीकार गर्दै उनले भने, "एक नेताको नाममा मात्र नभएर अहिलेसम्म भएका प्रधानमन्त्रीहरूको नाममा उक्त पार्क बनाउने योजना हो।"

प्रदेश १ को बजेटमा राजनेता पार्कले स्थान पाएको यो तेस्रो पल्ट हो
तस्बिरको क्याप्शन, प्रदेश सरकारको बजेटमा राजनेता पार्कले स्थान पाएको यो तेस्रो पल्ट हो

यसअघि प्रदेश नं १ बाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरूको नाममा उक्त पार्क बनाउने भनिएको थियो।

देशभरिकै नेताहरूको प्रतिनिधित्व हुँदा सङ्घीय सरकारबाट आर्थिक सहयोग जुटाउन सहयोग पुग्छ भन्ने मन्त्री आङ्बोहाङ्‌को विश्वास छ।

पार्कमा सबै प्रधानमन्त्रीको सालिक राख्नुका साथै स्विमिङ पुल, सवारी पार्किङ, बगैँचा बनाउने सरकारको योजना छ।

दुई वर्ष असफल कार्यक्रमको तेस्रो प्रयोग

अघिल्ला दुई आर्थिक वर्षमा पनि प्रदेश सरकारले राजनेता पार्कको निम्ति एक/एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसमा पार्क निर्माणबारे एउटा अध्ययन टोली बनाउने उल्लेख थियो।

तर अध्ययन टोली भने नबनाइएको भूतपूर्व आर्थिक मामिलामन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोको भनाइ छ।

Presentational grey line
Presentational grey line

उनको कार्यकालमा विराटनगर महानगरपालिकासँगको समन्वयमा पार्क बनाउने भनेर बजेटमा राखिएको थियो।

आङ्बो भन्छन्, "महानगरपालिकाले पनि चासो देखाएन। योजना अलपत्र भयो। बजेट 'फ्रिज' भएर गयो। त्यही 'फेल' भएको कार्यक्रम यो वर्ष पनि पर्‍यो।"

यो वर्ष पनि पार्क निर्माण सुरु हुन्छ भनेर विश्वास गर्ने ठाउँ नरहेको उनले टिप्पणी गरे।

तर प्रदेश सरकारले बहुवर्षीय योजनामा उक्त पार्क निर्माणको योजना बनाएको मन्त्री आङ्बोहाङ्‌को भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, PM's Press Secretariat

विपक्षीबाट विरोध

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको प्रदेशको बजेटमा पहिला नै विफल भइसकेका धेरै योजनाहरू परेको विपक्षी दलका नेताहरूको बुझाइ छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रसहित नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका नेताहरूले 'तिनै असफल कार्यक्रमको निरन्तरताको एउटा उदाहरण पार्क भएको' टिप्पणी गरेका छन्।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, "प्रदेश सरकारले जहाँजहाँ जेजे बनाउँछु भनेको छ कहीँ पनि काम सुरु भएको छैन। त्यसैले यो पनि काम नलाग्ने योजना हो।"

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले आफ्नै दललाई समेटेर काम गर्न नसक्नेले पार्क बनाउँछु भन्नु अपत्यारिलो भएको बताए।

उनले भने, "देशका नेताहरूलाई सम्झिनु त राम्रै हो। यो सरकारले बनाउँछ भन्ने पत्यारिलो आधार नै छैन। आन्तरिक द्वन्द्वले फसेको पार्टीको सरकारले के बनाउला?"