इजरेल-प्यालेस्टाइन तनावः इजरेलका प्रधानमन्त्रीको 'कारबाही जारी राख्ने' दृढता

तस्बिर स्रोत, Getty Images
इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा प्यालेस्टिनीहरूबारे द्वन्द्व चर्किएको सातौँ दिन पुग्दा रकेट आक्रमणप्रति 'कडा प्रतिक्रिया दिन जारी राख्ने' प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतवार सबेरै गाजामा इजरेली हवाई आक्रमणका कारण कम्तीमा ३ प्यालेस्टिनीहरूको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
प्यालेस्टिनी विद्रोहीहरूले तेल अभिभतिर रकेट प्रहार गरेपछि उनीहरू बमबाट बच्ने क्षेत्रतिर लागेका थिए।
अन्तर्राष्ट्रिय समुदायले चर्कँदो द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ।
शनिवार अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहू र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई टेलिफोन गर्दै चिन्ता जाहेर गरेका थिए।

तस्बिर स्रोत, AFP
शनिवार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठक तय गरिएको छ।
सोमवार लडाइ शुरू भए यता कम्तीमा गाजामा १४८ जना मानिसहरूको मृत्यु भएको छ। इजरेलमा दुई बच्चा सहित १० जना मारिएको बताइएको छ।
इजरेलले गाजामा मृत्यु भएकामध्ये दर्जनौँ लडाकुहरू रहेको बताउँछन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले मृतकमध्ये ४१ जना बालबालिका रहेको बताउँछन्।
टेलिभिजनमार्फत बोल्दै प्रधानमन्त्री नेतान्याहूले 'आवश्यक परेसम्म' कारबाही जारी रहने भन्दै नागरिक नपरुन् भनेर हर सम्भव प्रयास जारी रहेको बताए।
नेतान्याहूले भने, "आक्रमणको दोषी हामी होइनौँ हामीमाथि आक्रमण गर्नेहरू दोषी हुन्।"
पूर्वी जेरुसलेममा इजरेली र प्यालिस्टिनीबीच तनाव बढ्दै गएपछि गत छ दिनदेखि हिंसा चर्किएको छ।
गाजामा नियन्त्रण जमाएको प्यालिस्टिनी विद्रोही समूह हमासले त्यहाँबाट इजरेली फौज हटाउन चेतावनी दिँदै आक्रमण गरेपछि प्रत्याक्रमण भएको थियो।
शनिवार द्वन्द्व कसरी चर्कियो?

तस्बिर स्रोत, Getty Images
गाजा शहरको पश्चिममा रहेको शरणार्थी शिविरमा रहेका एउटा परिवारका दश जनाको इजरेली हवाई आक्रमणमा परेर ज्यान गएको थियो।
उनका बाबु मोहम्मद अल हदिदि त्यसबेला घरमा थिएनन्।
"त्यहाँ रकेट थिएन महिला र केटाकेटी मात्र थिए र शान्त बच्चाहरू इद मनाइरहेका थिए। उनीहरूको के दोष थियो र यस्तो भोग्नुपर्यो?" बच्चाका बाबु मोहम्मद अल हदिदिले रोयटर्स समाचार संस्थालाई भने।




















