अमेरिका: सुरक्षा निकायहरूमा ट्रम्प प्रशासनले 'व्यापक क्षति' पुर्‍याएको बाइडनको भनाइ

जो बाइडन

तस्बिर स्रोत, Reuters

Published

अमेरिकाको सुरक्षा निकायहरूमा राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले 'व्यापक क्षति' पुर्‍याएको राष्ट्रपति निर्वाचित जो बाइडनले बताएका छन्।

आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायहरूबाट आवश्यक पर्ने सूचना नपाएको बाइडनले बताए।

राष्ट्रिय सुरक्षा अनि विदेश नीति हेर्ने उनका सल्लाहकारहरूसँग छलफल गरेपछि उनले त्यस्तो बताएका हुन।

बाइडनले अमेरिकाका राष्ट्रपतिका रूपमा ज्यानुअरी २० मा पदभार ग्रहण गर्दै छन्। तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने हालसम्म हार स्वीकार गरेका छैनन्।

अमेरिकामा गत महिना राष्ट्रपतीय निर्वाचन भएको थियो।

त्यहाँ राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि महत्त्वपूर्ण सूचनाबारे जानकारी गराइने प्रचलन भए पनि नोभेम्बर ३ मा भएको चुनावपछि हप्तौँसम्म बाइडनलाई त्यस्ता गतिविधिमा सामेल गराइएको थिएन।

यस विषयमा ट्रम्प प्रशासनले तत्काल प्रतिक्रिया जनाएको थिएन।

तर गत हप्ता पेन्टागनले समाचार संस्था रोयटर्सलाई आफूहरूले कैयौँ अन्तर्वार्ता गरेको र सूचना दिने अनि बैठक गर्ने काम जारी राख्ने प्रतिक्रिया दिएको थियो।

सल्लाहकारहरूसँगको भिडिओ साक्षात्कार पछि सार्वजनिक गरिएको एउटा भिडिओमा बाइडनले आफ्नो टोलीले रक्षा मन्त्रालय र बजेट व्यवस्थापन गर्न कार्यालयमा कठिनाइ भोगेको बताएका हुन।

जो बाइडन

तस्बिर स्रोत, Reuters

"बाहिरिँदै गरेको प्रशासनबाट हामीलाई आवश्यक राष्ट्रिय सुरक्षाबारे महत्त्वपूर्ण जानकारीहरू हामीले पाइरहेका छैनौँ," उनले भने।

"यो मेरो बुझाइमा गैरजिम्मेवारीपनाभन्दा कम छैन।"

राष्ट्रपतीय निर्वाचन लगत्तै ट्रम्प प्रशासनले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरिदिएको थियो।

त्यस बेला रङ्गभेदबारे भइरहेका प्रदर्शन मत्थर पार्न सेना परिचालन गर्ने विषयमा उनले विमति जनाएका कारण ट्रम्पले उनलाई पदबाट हटाएका बताइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका निर्वाचन परिणामः बाइडनले खेप्नुपर्ने चुनौती 'विभाजित देश'