कोरोना भाइरस: अमेरिकामा मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, ट्रम्पद्वारा आफ्नो कदमको बचाउ

मास्क लगाएकी एक महिला

तस्बिर स्रोत, Getty Images

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए। त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि अमेरिकामा ६८ लाख भन्दा बढी पुगेको छ जुन देश विश्वभर अहिले पहिलो नम्बरमा छ।

नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइ यो नयाँ तथ्याङ्क देखा परेको हो।

तर राष्ट्रपति ट्रम्पले आफ्नो हस्तक्षेपले मृत्यु हुनेको सङख्या कम गर्न मद्दत गरेको दाबी गरे।

ट्रम्प प्रशासनको आलोचना

गत मार्चमा राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको सङ्ख्या १ लाखदेखि २ लाखसम्म रहे आफ्नो देशले "राम्रो काम गरेको हुने" बताएका थिए।

फेब्रुअरीमा देशभरमा जम्मा १५ जना सङ्क्रमित देखिँदा उनले केही दिनमै सङ्क्रमितको सङख्या "शुन्य नजिक" पुग्ने अनुमान गरेका थिए।

अमेरिकामा पहिलो सङ्क्रमितको घटना ज्यानुअरी महिनामै पुष्टि भएको थियो। त्यसयता भाइरसको नियन्त्रण र रोकथामको विषयलाई लिएर ट्रम्प प्रशासनको पटकपटक आलोचना हुँदै आएको छ।

आउँदो नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटका तर्फबाट उम्मेदवार रहेका जो बाइडनले पनि कोरोनाभाइरसको नियन्त्रणमा ट्रम्पको कदमको आलोचना गर्दै आएका छन्।

उनले भने, "डोनल्ड ट्रम्पको झुट र विगत छ महिनामा उनको असक्षमताका कारण इतिहासमै धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन्।"

राष्ट्रसंघलाई सम्बोधन गर्दै ट्रम्प

तस्बिर स्रोत, Reuters

अमेरिका र चीनको वाकयुद्ध

यसैबीच ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध उग्र हमला गरेका छन्।

पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनमाथि विश्वमा कोरोनाभाइरस फैलाएको आरोप लगाए।

चीनले पनि त्यसप्रति कडा प्रतिक्रिया जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले हजारपटक झुट बोले पनि त्यो झुट नै हुने बताए।

सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरे।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको पनि दाबी गरेका थिए जुन टिप्पणीलाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गर्दै आएको छ।