जेकब ब्लेक: केनोशा पुगेका राष्ट्रपति ट्रम्पले प्रहरीको गोली लागेका पीडितका परिवारलाई भेटेनन्

अमेरिका

तस्बिर स्रोत, Reuters

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली प्रहारबाट एकजना अश्वेत पुरुष शक्त घाइते भएको विस्कन्सिन राज्यस्थित केनोशा शहरको भ्रमण गरेका छन्।

२३ अगस्टमा प्रहरीले त्यहाँ जेकब ब्लेकलाई गोली प्रहार गरेर घाइते बनाएपछि केनोशामा प्रदर्शनहरू भएका थिए।

हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि ट्रम्प कानुन कार्यान्वयनलाई बल दिन भन्दै त्यहाँ पुगेका हुन्।

ट्रम्पले त्यहाँ गोली लागेका जेकब ब्लेकका परिवारलाई भने भेटेनन्।

ब्लेक परिवारलाई किन भेटेनन्?

ब्लेकका परिवारले आफ्ना वकिलहरूको उपस्थितिमा भेट हुनुपर्ने भनेपछि नभेटेको ट्रम्पले बताए।

त्यसअघि ब्लेकका बुवाले सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना छोराको जीवन राष्ट्रपतिलाई भेट्नुभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए।

अमेरिका

तस्बिर स्रोत, Reuters

उनको भनाइ थियो- "म यो राजनीतिमा मिसिन चाहन्न। यसको राष्ट्रपतिसँग जोडेर फोटो खिच्नुको कुनै अर्थ छैन।"

ब्लेक परिवारका आफन्त एवम् साथीहरूले समेत त्यहाँ भएको ट्रम्पको भ्रमणको आलोचना गरेका छन्।

प्रहरीको बचाउ

ट्रम्पले प्रदर्शनबाट ध्वस्त भएका क्षेत्र पुगेर अमेरिकी प्रहरीले गरेका कार्यको प्रतिरक्षा गरेका थिए।

तर त्यहाँ उनले सञ्चारमाध्यमहरूले प्रहरीहरू मुछिएका खराब घटनामा मात्र जोड दिएको आरोप लगाए।

अमेरिका

तस्बिर स्रोत, EPA

उनले त्यहाँका व्यापारिक नेताहरूसँग छलफल गर्दै 'त्यो शान्तिपूर्ण प्रदर्शनमा हुने काम नभएको' बताए।

देशको मध्यपश्चिममा रहेको उक्त शहरमा पुगेर ट्रम्पले 'त्यहाँ विध्वंस हुनुमा घरेलु त्रास' जिम्मेवार रहेको बताए।

'चुनावी अभीष्ट'

ब्लेक परिवारकी एकजना साथी तान्या म्यालिनले ट्रम्प त्यहाँ 'त्रास फैलाउन, समूदायहरूलाई विभाजित गर्न र पुर्ननिर्वाचित हुने अभीष्ट बोकेर पुगेको' आरोप लगाइन्।

मङ्गलवार ट्रम्पको भ्रमण हुनुअघि पूर्वउपराष्ट्रपति जो बाइडनले भनेका थिए: "आगो दन्किरहेको छ र हाम्रा राष्ट्रपतिले त्यसलाई निभाउन छाडेर त्यो फुँकिरहेका छन्।"

अमेरिका

तस्बिर स्रोत, Getty Images

राष्ट्रपतिले बलियो कानुनी व्यवस्थालाई जोड दिइरहेको बताइरहँदा बाइडनले भने 'ट्रम्पले रङ्गभेदी विभाजनलाई उकासिरहेको' आरोप लगाएका छन्।

नोभेम्बरमा हुने राष्ट्रपति चुनावका मत सर्वेक्षणहरूमा डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनको अग्रता देखिए पनि ट्रम्पले त्यसलाई साँघुरो पार्दै लागेका छन्।