नेपाल क्रिकेट: राष्ट्रिय टोलीमा नयाँ प्रशिक्षक खुल्ला छनोट प्रक्रियाबाट छान्नुपर्ने सुझाव

टिम नेपाल
तस्बिरको क्याप्शन, राष्ट्रिय टोलीका खेलाडीहरू नयाँ प्रशिक्षकको पर्खाइमा छन्
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

नेपाली क्रिकेटको प्रमुख प्रशिक्षक पदका लागि खुल्ला आह्वान गरेर उपयुक्त प्रशिक्षक छान्नुपर्ने सुझाव पूर्वखेलाडीहरूले दिएका छन्।

नेपाल क्रिकेट सङ्घ क्यानले केही विदेशी प्रशिक्षकहरुसँग सम्पर्क गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला उनीहरूले यस्तो सुझाव दिएका हुन्।

भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि तीन महिनादेखि उक्त पद खाली छ।

पछिल्लो समय लगातार अनपेक्षित नतिजा बेहोर्दै आएको कारण पनि प्रमुख प्रशिक्षकको पदमा नेपाली क्रिकेटमा उपयुक्त प्रशिक्षक आवश्यकता रहेको बताइएको छ।

अनपेक्षित नतिजा

नेपाल गत वर्ष जुलाईमा २० ओभरको विश्वकप यात्राको एशियाली छनोटमा सिङ्गापुरसँग रोकियो।

दुई महिनाअगाडि थाईल्यान्डमा भएको २० ओभरको एशिया पूर्वीय छनोटमा पनि कमजोर प्रदर्शन गर्दै अनपेक्षित रूपमा लीग चरणबाटै बाहिरियो।

प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना सुरु भएपछि क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ।

क्यान सचिव अशोकनाथ प्याकुर्‍याल भन्छन्, "काम थालेका मात्र थियौँ, तर कोरोनाभाइरस सङ्क्रमणका कारण लकडाउन भइहाल्यो। थप काम हुन पाएको छैन।"

'खोजेर होइन, रोजेर'

खेलाडी तथा प्रशिक्षकहरूले क्यानले आन्तरिक तरिकाले नभई खुल्ला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सुझाव दिएका छन्।

पूर्वकप्तान विनोद दास भन्छन्, "विगतमा जस्तो अनुरोध गरेर होइन, खुल्ला छनोट प्रक्रिया थालेर प्रशिक्षक खोजौँ। नेपालले भने जस्तो राम्रो प्रशिक्षक पाउनेछ।"

हालसम्म नेपालले खोजेर वा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को सल्लाहमा प्रशिक्षक नियुक्त गर्दै आएको छ।

अब कस्तो प्रशिक्षक?

उमेश पटवाल
तस्बिरको क्याप्शन, एकवर्षका लागि नियुक्त प्रशिक्षक उमेश पटवाल (बाँया) ले कार्यकाल सकिनु चार महिना अगावै राजीनामा दिएका थिए।

दुई दशकअगाडि श्रीलङ्काली रोय डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मेहनत गरेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी नागरिकले प्रशिक्षण दिएका छन्।

तर तीमध्ये डायस र सन् २०१३ मा आएका अर्का श्रीलङ्काली पुबुदु दशानायकेले नेपाललाई क्रिकेटलाई नयाँ दिशा दिएको ठानिन्छ।

प्रशिक्षक राजु बस्नेतका अनुसार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपालले अब एक चरण उठ्नुपर्ने अवस्था छ।

भूतपूर्व राष्ट्रिय खेलाडी बस्नेत भन्छन्, "नेपाली क्रिकेट अहिले जुन स्थानमा छ त्यसभन्दा माथि उठ्न अब विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक छ।"

"त्यस्तो प्रशिक्षक भनेको आफ्नो क्षमता मात्र होइन, रणनीतिक रूपमा विपक्षी हेरेर योजना पनि बनाउने, खेलाडीहरूको क्षमता चिनेर उपयोगमा ल्याउने र प्रविधिमैत्री हुनुपर्छ। यो उन्नति गर्ने बेला हो।"

प्रतिस्पर्धात्मक छनोट किन?

त्यस्तो प्रशिक्षक खुल्ला छनोट प्रक्रियाबाट मात्र आउन सक्ने दास बताउँछन्।

यसले पटवालको नियुक्तिपछि देखिएको तीतो अनुभवबाट मुक्त हुने उनको धारणा छ।

दास भन्छन्, " पटवाल जिम्मेवार देखिएनन्। उनलाई नेपाली क्रिकेटको प्रशिक्षक भएर गुण लगाइरहेको छु भन्ने लागेको हुनसक्छ।"

नेपाली क्रिकेट बुझ्ने पूर्वखेलाडीहरूका अनुसार खराब नतिजाबाट चिन्तित नदेखिएका पटवालले पहिलो घरेलु अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलअगाडि नै राजीनामा दिए।

दास भन्छन्, "थुप्रै राम्रा प्रशिक्षकहरू अवसरको प्रतीक्षामा छन्। उनीहरूलाई नेपालजस्तो टोली पाउनु ठूलो विषय हुन्छ। त्यसो गर्दा राम्रा प्रशिक्षक त भेटिन्छ नै, उनीहरुमा योजना र उत्तरदायित्व पनि देखिनेछ।"

कसले गर्ने छनोट?

नेपालको यू-१९ टोलीका प्रशिक्षक दास क्यानले पूर्वकप्तानहरू सहितको स्वतन्त्र छनोट समिति बनाउन सुझाव दिन्छन्।

नेपाली टोली
तस्बिरको क्याप्शन, फाइल तस्बिर

नेपाली टोली सम्हाल्ने प्रशिक्षकले ७०० देखि १,००० अमेरिकी डलरसम्म मासिक तलब पाउने गरेका थिए।

क्यान सचिव प्याकुर्‍याल प्रशिक्षक छान्ने प्रक्रिया रोकिएको अवस्था भएकोले विभिन्न तरिकामा छलफल गर्न सकिने बताउछन्।

उनी भन्छन्, "क्यानको योजना पनि विश्व क्रिकेट बुझेको अनुभवी प्रशिक्षक नियुक्त गर्ने नै हो। त्यसका लागि आवश्यक परे छनोट समिति बनाउँछौँ र आईसीसीसँग परामर्श लिन्छौँ।"

कहिले आउँछन् प्रशिक्षक?

क्यानले प्रारम्भिक छलफलमा भारतीय लालचन्द राजपुत र मिथुन मिन्हासको नाम थियो।

प्याकुर्‍यालका अनुसार तीबाहेक अस्ट्रेलिया र न्यूजील्यान्डका प्रशिक्षकहरूबारे छलफल भएको थियो।

प्याकुर्‍यालले भने, "हामीले डेभिड ह्वाट्मोरसँग पनि कुराकानी थालेका थियौँ। तर अन्तर्राष्ट्रिय क्रिकेटको गतिविधि छिटो परिवर्तन हुने भएकोले मिलेन।"

लालचन्द अहिले जिम्बाब्बेका प्रशिक्षक छन् भने ह्वाट्मोर भारतको बरोडा क्रिकेट टोलीको प्रशिक्षक बनिसकेको बताइन्छ।

कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित भएकोले प्रशिक्षक छनौटमा समय लाग्ने बताउँछन्।

उनी भन्छन् ,"तत्काल प्रशिक्षक नियुक्त गर्नु भनेको विनाकाम तलब खुवाउनु मात्र हुनेछ। त्यसैले हामी अन्तर्राष्ट्रिय गतिविधि खुलेपछि मात्र प्रशिक्षक छान्नेछौँ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्कृष्ट क्याच बारेमा के भन्छन् ज्ञानेन्द्र मल्ल