कोरोना भाइरस: ट्रम्पको पत्रकार सम्मेलन बन्द, सडकमा नथुक्न मोदीको आह्वान

ट्रम्प

तस्बिर स्रोत, Getty Images

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरूले शत्रुतापूर्ण प्रश्नमात्रै गरेर समय बेकारमा खर्च गरेको भन्दै शनिवार आफ्नो नियमित पत्रकार सम्मेलन गरेनन्।

बिहीवार ह्वाइट हाउसमा आयोजित सम्मेलनमा कोरोनाभाइरसको उपचारमा भाइरस मार्न बाह्यरूपमा प्रयोग गरिने डिसइन्फेक्टर सुईबाट शरीरमा हालेर परीक्षण गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो।

त्यसका कारण आक्रोशित बनेका ट्रम्पले ट्वीटमा लेखेका छन्: "कमजोर मिडियाले शत्रुतापूर्ण प्रश्नभन्दा अरू नसोध्ने र सत्य वा तथ्यलाई सही तरिकाले लेख्न अस्वीकार गर्ने भएपछि ह्वाइट हाउसमा समाचार सम्मेलन गर्नुको के उद्देश्य रहन्छ। उनीहरूले कीर्तिमानी रेटिङ पाउँछन् र अमेरिकी नागरिकले मिथ्या समाचारबाहेक केही पाउँदैनन्।"

बीबीसीका उत्तर अमेरिका संवाददाता पिटर बाओसका अनुसार ट्रम्पको उक्त भनाइले उनकै समर्थकहरूलाई असहज बनाएको छ।

ट्रम्पको ट्वीटले अब राष्ट्रपतिको नियमित पत्रकार सम्मेलन नहुने केही विवरणहरूलाई पुष्टि गरेको जस्तो देखिएको छ।

ती सम्मेलनले मतदाताहरूमाझ ट्रम्पको प्रसिद्धि नबढेको अध्ययनहरूले देखाएका थिए।

सडकमा नथुक्नुहोस्: मोदी

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार रेडिओबाट देशवासीलाई सम्बोधन गर्दै सबैलाई लकडाउनको नियममा बस्न आह्वान गरेका छन्।

भारत

तस्बिर स्रोत, Reuters

भारतमा २४ घण्टामा २,००० नयाँ कोरोनाभाइरस सङ्क्रमण भएर कुल सङ्क्रमण सङ्ख्या २६,००० पुगेपछि मोदीको सो भनाइ आएको हो।

भारतमा हालसम्म ८०० भन्दा बढीले कोभिड-१९ का कारण जीवन गुमाइसकेका छन्।

सम्बोधनमा मोदीले सामाजिक दूरी पालना गर्न र सार्वजनिक स्थलमा थुक्ने बानी रोक्न आह्वान गरे।

"हाम्रो शहरमा, हाम्रो गाउँमा, हाम्रो सडकमा, हाम्रो कार्यालयमा कोरोनाभाइरस आइपुगेको छैन र त्यसैले अब आउँदैन भन्ने विश्वास लिएर अतिआत्मविश्वासी नहुन आह्वान गर्छु," उनले भने।

शनिवार भारतका साना पसलहरूलाई सामाजिक दूरी कायम राखेर र आधा मात्रै कर्मचारीलाई मास्क लगाएर काममा राखी पसल खोल्न अनुमति दिइएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर