कोरोना भाइरस: कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको अवैतनिक दूत पद खारेज

परराष्ट्र मन्त्रालय

तस्बिर स्रोत, MOFA

Published
पढ्ने समय: १ मिनेट

सरकारले नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ।

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो।

त्यसपछि बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।

उनीहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो।

पद खारेज

परराष्ट्र मन्त्रालयका प्रोटोकल महाशाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तानको सरकारलाई गरिएको जनाएको छ।

चीफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारीले अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको बीबीसी नेपालीलाई जानकारी दिए।

यसअघि परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा उनको र उनले प्रतिनिधित्व गर्ने देशको नाम उल्लेख नगरीकनै "पद र विशेषाधिकार दुरुपयोग गरी अवैधानिक गतिविधिमा संलग्न भएकाले" अग्रवाललाई दिइएका सुविधाहरू फिर्ता लिइएको उल्लेख थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

मङ्गलवार दिउँसो राजधानीको नक्सालस्थित बालमन्दिरबाट पक्राउ परेका ४५ वर्षका अग्रवाल हाल प्रहरी हिरासतमा छन्।

कोभिड-१९ को विश्वव्यापी सङ्कटको अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

शङ्कर ग्रुपका सञ्चालक रहेका अग्रवाललाई उनले प्रयोग गर्ने २०९-एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको प्रहरीले बताएको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर