महाभियोगमा उनीविरुद्ध बयान दिएका दुई अधिकारी ट्रम्पद्वारा बर्खास्त

US President Donald Trump at the White House ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीमाथि लागेको महाभियोग प्रस्तावमा आफूविरुद्ध बयान दिएका दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन्।

ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्डले भने "राष्ट्रपतिले तत्काल लागु हुने गरी मलाई फिर्ता बोलाउन सुझाव दिएको भनिएको छ।"

केही घण्टा अगाडि युक्रेन मामिलाका वरिष्ठ विज्ञ लेफ्टिनेन्ट कर्णेल अलेक्जेन्डर भिन्डम्यानलाई ह्वाइट हाउसबाट निष्कासन गरिएको थियो।

बुधवार महाभियोगमा सिनेटरहरूबाट सफाइ पाएपछि ट्रम्पले कर्मचारीतन्त्रमा उथलपुथल गर्ने चाहना राखेको बताइएको छ।

ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई युक्रेन मामिलामा महाभियोग नलगाउने निर्णय लिएको थियो।

राष्ट्रिय सुरक्षा परिषद्‍मा वरिष्ठ वकिल तथा भिन्डम्यानका जुम्ल्याहा भाइ येभजेनी भिन्डम्यानलाई पनि सैन्य विभागमा फिर्ता पठाइएको थियो।

सन्डल्यान्डका वकिलले जारी गरेको विज्ञप्तिमा सन्डल्यान्डले भनेका छन्, "राष्ट्रपतिले मलाई ईयूका लागि अमेरिकी राजदूतबाट तत्काल फिर्ता बोलाएको भनियो। "

Gordon Sondland (left) and Alexander Vindman

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गोर्डन सन्डल्यान्ड(बायाँ) र एलेग्जेन्डर भिन्डम्यान

"म सेवा गर्ने मौका दिएकोमा राष्ट्रपति ट्रम्प, निरन्तरको समर्थनप्रति मन्त्री माइक पोम्पेओ र ईयू कार्यालयमा काम गर्ने व्यवसायिक तथा समर्पित कर्मचारीप्रति आभारी छु।"

कसरी भिन्डम्यान हटाइए ?

भिन्डम्यानका परामर्शदाता डेभिड प्रेसम्यानले बीबीसीलाई भने, "उनको देश र राष्ट्रपतिको सेवा गरेका भिन्डम्यानलाई ह्वाइट हाउसबाट निकालियो।"

विज्ञप्तिमा भनिएको छ, "कुनै पनि अमेरिकीको मनमा यी सैन्य अधिकारीको जागिर किन सकियो र यो मुलुकमा ह्वाइट हाउसमा सेवा गर्ने सिपाहीको सङ्ख्यामा किन एउटा सङख्या कम भयो भन्नेबारे प्रश्न छैन।"

"भिन्डम्यानलाई सत्य बोलेकामा छोड्न भनिएको हो। सत्यप्रति उनको प्रतिबद्धता र सम्मानले शक्तिशालीहरूलाई त्रस्त बनाइदियो।"

"सत्यतामा अडिग हुँदा उनको जागिर र गोप्यता समाप्त भयो।"

विज्ञप्तिमा भनिएको छ, "संसारको सबभन्दा शक्तिशाली मान्छेले- बदला लिने निर्णय गर्‍यो। "

भिन्डम्यान सँधैजसो काम गर्न शुक्रवार पनि ह्वाइट हाउस पुगेका थिए।

ट्रम्पले के भने?

नर्थ क्यारोलाइनास्थित कार्यकारी भवन छोड्नुअघि राष्ट्रपति ट्रम्पले संवाददाताहरूसँग भने, "म उनी (भिन्डम्यान)सँग खुशी छैन। म उनीसँग खुशी हुनुपर्छ र ? म खुशी छैन।"

त्यसपछि ट्रम्पले अरू प्रतिक्रिया व्यक्त गरेका छैनन्।

ट्रम्पविरुद्ध अभिव्यक्ति दिएका अरू पनि निष्कासनमा पर्ने ठानिएको छ।