तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. खार्किभमा भएको बमबारी युद्ध अपराधः जेलेन्स्की

    युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन्।

    सोमवार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो।

    खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमलाभन्दा अगाडि टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएको जनाएका थिए।

    “त्यो स्पष्ट रूपमा युद्ध अपराध हो। शान्त सहर, शान्त आवासीय क्षेत्र। कुनै सैन्य संरचना थिएन। दर्जनौँ प्रत्यक्षदर्शीहरूले दिएका विवरणले त्यसलाई गल्तीले गरिएको आक्रमण नभई जानीजानी गैरसैनिकलाई निसानामा पारिएको प्रमाणित गर्छ। रुसीहरूलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने राम्रोसँग थाहा थियो।”

    यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन्। यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने ‘यथोचित आधार’ रहेको आफूलाई विश्वास भएको बताएका थिए।

  2. भिडिओः खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार

    युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वाएरमा भएको एउटा विस्फोटनको भिडिओ ट्विटरमा प्रेषित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ।

    उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन आग्रह गरेका छन्। चेतावनीः यो भिडिओमा विचलित पार्ने खालका दृश्य छन्। बीबीसीले यसको आधिकारिकता पुष्टि गरेको छ तर स्रोत अज्ञात छ।

  3. रुसी बख्तरबन्द गाडीको लम्कँदो लस्करले किएभमा त्रास

      • Author, लीज डुसेट
      • Role, प्रमुख अन्तर्राष्ट्रिय संवाददाता

    युक्रेनी राजधानी किएभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्यले ‘विश्वले हेरिरहेको छ’ भन्ने उक्तिलाई नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ।

    वास्तवमै विश्वभरि सबैले यो लस्कर लम्कँदै गरेको देख्न सक्छन्। अनि प्राप्त विवरणहरू अनुसार सहरतर्फ पुग्दै गर्दा यो झनै विस्तार हुँदैछ।

    यी त्रासहरूका माझ युक्रेनका अन्य भागहरूबाट आएका खबरले झन् डर थपिरहेको छ।

    सघन जनसङ्ख्या भएका ठाउँहरूमा रुसले मानिसहरूलाई खाना, पानी र अत्यावश्यक आपूर्ति रोक्ने 'मध्ययुगीन तरिका’ अपनाउन थालेका विवरण आएका छन्।

    यो आक्रमण सुरु हुँदा शायद केही दिनमा वा अझ केही घण्टाभित्रै रुसको शक्तिशाली सेनाले किएभ कब्जा गरिसक्ला भन्ने ठानिएको थियो।

    तर छ दिन बितिसक्दा पनि युक्रेन झुकेको छैन। उसको सेनाले पश्चिमा हतियार र गोलीगठ्ठा प्रयोग गरेर चर्को प्रतिरोध मात्रै गरेको छैन। सर्वसाधारण नागरिकहरूले पनि बन्दूक उठाएका छन् अनि टोलटोलमा प्रतिकार गर्न तथा अग्रमोर्चामा खटिन थालेका छन्।

    तर यो पछिल्लो लस्कर बिस्तारै राजधानीतर्फ अघि बढ्दै गरेको छ। विस्फोटका आवाज झन् झन् ठूला सुनिन थालेको छ।

  4. रुसी आक्रमणबारे चीनमा कस्ता चर्चा

      • Author, स्टीभन मक्डोनल
      • Role, संवाददाता, चीन

    रुसले युक्रेनमाथि धावा बोलेको विषयबारे चीनको नियन्त्रित अनलाइन माध्यममा मिश्रित प्रतिक्रिया देखिएको छ।

    सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई "अद्भुत व्यक्ति" भन्दै प्रशंसा गरेका छन्।

    उनीहरूले पुटिनको कदमलाई विश्वमा अमेरिकी प्रभावलाई प्रत्युत्तर दिने कदमको रूपमा लिइरहेका छन्।

    "म रुसलाई समर्थन गर्छु, अमेरिकाको विरोध गर्छु। मैले भन्न चाहेको यति हो", एक टिप्पणीकर्ताले भनेका छन्।

    "अमेरिका विश्वमा सधैँ अस्तव्यस्तता निम्त्याउन चाहन्छ," अर्का व्यक्तिले लेखेका छन्।

    यद्यपि कडा सेन्सरशिप हुँदाहुँदै कतिपय यस्ता आलोचक पनि छन् जसले आफ्ना फरक आवाज राखिरहेका छन्।

    सप्ताहान्तसम्ममा पाँच प्रख्यात चिनियाँ प्राज्ञहरूले एउटा खुलापत्र लेख्दै युक्रेनमाथि रुसी कदमको निन्दा गरेका छन्।

    "यो एउटा अतिक्रमण हो। एउटा चिनियाँ भनाइ छः तपाईँ मृगलाई घोडा भन्न सक्नुहुन्न," चिनियाँ इतिहासविद्‌ सु गुओकीले भनेका छन्।

    प्रेषित भएको केही घण्टापछि उक्त खुलापत्र हटाइएको थियो।

    रुससम्बन्धी कतिवटा आलोचनात्मक पोस्ट सेन्सर गरिएका छन् र अमेरिकाको आलोचना गरिएका कतिवटा पोस्ट प्रवर्धन गरिएका छन् भन्ने कुरा स्पष्ट नभएकोले चीनमा कति मानिस साँच्चिकै शान्तिका लागि आह्वान गरिरहेका छन् भन्ने कुरा बुझ्न गाह्रो छ।

  5. किएभमा अस्पतालको भूमिगत भाग बन्यो बालरोग वार्ड

    किएभस्थित एउटा अस्पतालको भूमिगत तलामा बालबालिकाहरू उपचार गराइरहेका तस्वीर सार्वजनिक भएका छन्। तीमध्ये रक्तक्यान्सर भएका बालबालिका पनि छन्।

    रुसी फौजको आक्रमणबाट जोगिन अस्पतालको भूमिगत तलालाई अस्थायी आश्रयस्थल र बालरोग वार्डमा रूपान्तरण गर्नुपरेको रिपोर्टहरूमा जनाइएको छ।

  6. युक्रेनमा युद्ध थालेका पुटिनले के परमाणुअस्त्र चलाउलान्

  7. रुसी आक्रमणमा नष्ट भयो विश्वकै सबैभन्दा विशाल विमान

  8. रुसमा हलीवुडका चलचित्रको प्रदर्शन नहुने

    युक्रेनमाथि गरिएको अतिक्रमणलाई लिएर हलीवुड स्टुडिओजले रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्।

    द वार्नर ब्रोज रुसी सिनेमा हलहरूमा प्रदर्शन हुने ठानिएको एक दिनअघि द ब्याट्म्यान चलचित्रको प्रदर्शनबाट पछि हटेको छ।

    सोनी र डिज्नीले पनि चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेका छन्।

    रुसले बिनाउक्साहट गरेको अतिक्रमण र त्यसले निम्त्याएको मानवीय सङ्कटका कारण पछिल्लो कदम चाल्न बाध्य भएको जनाएको छ।

    हलीवुड चलचित्रका लागि रुस एउटा महत्त्वपूर्ण बजार रहिआएको छ।

  9. मास्डरकार्डद्वारा रुसबाट हुने कारोबार बन्द

    रुसमाथि पश्चिमा प्रतिबन्धका कारण मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरेको जनाएको छ।

    संयुक्त अमेरिका, युरोपेली सङ्घ,यूके र क्यानडाले रुसी ब्याङ्कहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा पछिल्लो विवरण आएको हो।

    युक्रेनमाथि रुसी अतिक्रमणलाई लिएर पश्चिमा देशहरूले गरेका प्रतिबन्धको असर देखिन थालेका विवरण आइरहेका छन्।

    पश्चिमा प्रतिबन्धका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसी राष्ट्रपतिले आफ्ना नागरिकलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्।

  10. रुसी हमलाबाट झन्डै ७० युक्रेनी सैनिकको मृत्युः स्थानीय अधिकारी

    रुसी सेनाको आक्रमणमा परी पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा आइतवार झन्डै ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन्।

    सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ।

    उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन्।

    “धेरै मानिस मारिएका छन्। अहिले हामीले झन्डै ७० जना सैनिकका शव गाड्न चिहान बनाउने तयारी गररहेका छौँ,” टेलिग्राममा उनले लेखेका छन्।

    “तर शत्रुहरूले पनि पाउनुपर्ने फल पाएका छन्,” उनले थपेका छन्। उनका अनुसार सहरमा “धेरै रुसीका शवहरू” पनि देखिएको छ।

    यसको स्वतन्त्र पुष्टि हुन चाहिँ बाँकी छ।

  11. तस्बिरमा डोनेट्स्कको विध्वंस

    पृथक्तावादीहरूको नियन्त्रण रहेको डोनेट्स्क क्षेत्रमा आक्रमणबाट भएका विध्वंसका तस्बिरहरू सार्वजनिक भएका छन्।

    त्यहाँका अधिकारीहरूले युक्रेनले गरेको गोलाबारीबाट क्षति भएको दाबी गरेका छन्।

    रुसी भाषा बोलिने उक्त प्रान्तका सडकहरूमा जलिरहेका कारहरू देखिन्छन्।

    गोलाबारीमा परी ज्यान गुमाएका दुई शिक्षकको सोमवार डोनेट्स्कको होर्लिभ्कामा अन्तिम संस्कार गरिएको थियो।

  12. शान्तिवार्ताबीच युक्रेनमा लडाइँ तीव्र, वार्तामा के भयो

  13. रुसद्वारा किएभमा फेरि आक्रमण सुरुः युक्रेन

    रुसी फौजहरूले युक्रेनको राजधानी किएभमा फेरि आक्रमण थालेको युक्रेनी सेनाले जनाएको छ।

    “किएभवरपर स्थिति तनावपूर्ण छ,” युक्रेनी सशस्त्र फौजका प्रमुखले फेसबुक पेजमा लेखेका छन्।

    “शत्रुहरू लडाइँमा पराजित भइरहेको तथ्यबीच उनीहरूले सेना तथा गैरसैनिकमाथि प्रहार गरिरहेका छन्,” उनले थपेका छन्।

    उच्च प्रशिक्षित बेलारुसी सैनिकहरू रुसी अतिक्रमणमा सामेल हुने योजना रहेको पाइएको पनि सशस्त्र फौजका प्रमुखले बताएका छन्।

    यसअघि सोमवार अमेरिकी विदेश मन्त्रालयले बेलारुसी फौजको गतिविधिबारे कुनै सङ्केत प्राप्त नभएको जनाएको थियो।

  14. युक्रेनमा अन्तरिक्षबाट इन्टरनेट

    स्पेसएक्स कम्पनीले सञ्चालन गरेको अन्तरिक्षबाट सङ्केत प्रसारित हुने इन्टरनेट सेवा सुरु गर्न युक्रेनमा आवश्यक उपकरणहरू आइपुगेको एक अधिकारीले बताएका छन्।

    डिजिटल मामिला पनि हेर्ने युक्रेनका उपप्रधानमन्त्री मीखाइलो फेडोरोभले स्पेसएक्सका संस्थापक इलोन मस्कलाई धन्यवाद ज्ञापन गर्दै उक्त जानकारी ट्विटरमा दिएका हुन्।

    रुसले आक्रमण गरेपछि फेडोरोभले युक्रेनमा इन्टरनेट अवरुद्ध नहोस् भनेर त्यसका लागि सघाउन मक्ससँग आग्रह गरेका थिए।

  15. जासुसी गरेको आरोपमा १२ रुसी कूटनीतिज्ञ अमेरिकाबाट निष्काशित

    अमेरिकी सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरिएको जनाएको छ।

    राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ।

    एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो।

    राष्ट्रसङ्घका लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन्।

  16. युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने

    द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने आफ्नो योजना रहेको बताएका छन्।

    युद्ध अपराध र मानवता विरुद्धको अपराध भएको कुरा विश्वास गर्ने तार्किक आधारहरू रहेको अभियोजनकर्ता करिम खानले बताए।

    त्यस्ता कतिपय घटना रुसले शुरूमा सन् २०१४ मा गरेको अतिक्रमणका बेलाको भएको उनले बताएका छन्।

    अभियोजनकर्ताले अनुसन्धान शुरू गर्नुअघि आईसीसीका न्यायाधीशहरूले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

    तत्कालका लागि प्रमाणहरू सङ्कलन गर्न अभियोजनकर्ता करिम खानले भनेका छन्।

  17. अस्ट्रेलियाले युक्रेनमा ५ करोड डलर बराबरको हतियार पठाउने

    अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ।

    मङ्गलवार प्रधानमन्त्री स्कट मोरिसनले उक्त रकम घातक तथा गैर घातक सहायतामा जाने बताएका छन्।

    ‘‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ,’’ उनले भने।

    तर ‘‘रुसलाई त्यसबारे पूर्व सूचना’’ आफूले दिन नचाहेको बताउँदै उनले सहयोग विस्तृत विवरण दिन अस्वीकार गरे।

    मोरिसनले उनको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने बताए।

  18. रुसी बमबारी युद्ध अपराध सरहः युक्रेनी राष्ट्रपति

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले खार्किभमा गरेको बमबारी युद्ध अपराध सरह भएको बताएका छन्।

    अबेर राति भिडिओ सम्बोधनका क्रममा उनले युक्रेनको दोस्रो ठूलो शहरमा जानाजान सर्वसाधारणलाई निशाना बनाइएको प्रत्यक्षदर्शीहरूले देखेको बताए।

    आन्तरिक मामिला मन्त्रालयका अनुसार रुसी बमबारीबाट कैयौँ मानिसले ज्यान गुमाएका छन्।

    राष्ट्रपति जेलेन्स्कीले रुसी विमानका लागि युक्रेनको पूरै आकाश प्रतिबन्धित हुनुपर्नेमा जोड दिएका छन्।

    उनले भनेः "क्षेप्यास्त्र र तोप बोकेका दुष्टहरूलाई तत्काल रोक्नैपर्छ, आर्थिक रूपमा उनीहरूलाई ध्वस्त पार्नैपर्छ।"

    रुसी उत्पादनहरू बहिष्कार गर्न पनि उनले अपील गरेका छन्।

  19. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि बिहीवारबाट सैन्य कारबाही थालेयता मुख्य घटनाक्रमहरूबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाबारे विवरणहरू प्रस्तुत गर्नेछौँ। कृपया हामीसँगै रहनुहोला।

  20. उद्धारको आशामा युक्रेनमा नेपाली, कसरी फर्कँदै छन् घर?