तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. रुसलाई स्वीफ्ट ब्याङ्किङ प्रणालीबाट अलग गरिने

    अमेरिका, क्यानडा र ब्रिटेनसमेत आबद्ध पश्चिमा देशहरूको गठबन्धनले रुसी ब्याङ्कहरूलाई स्वीफ्ट नामक अन्तर बैंकिङ कारोबार प्रणालीबाट अलग गर्ने निर्णय गरेका छन्।

    रुसविरुद्ध कडा कदमहरू चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु भएको बताइन्।

    उनले रुसी ब्याङ्कहरूलाई स्वीफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गरिन्।

    यस्तै रुसी केन्द्रीय ब्याङ्कलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ।

  2. शक्तिशाली विस्फोट र ग्यास पाइपलाइनमा क्षति

    युक्रेनको राजधानीका बासिन्दाहरूले भूमिगत आश्रय लिएर अर्को रात कटाइरहँदा किएभ नजिकै शक्तिशाली विस्फोटनको आवाजहरू सुनिएका छन्।

    एउटा विस्फोटन भासीलकीभको एउटा तेल टर्मिनलमा गरिएको थियो जुन किएभबाट ३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ।

    उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन्। भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिन्छ।

    एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको छ।

    शनिवार उक्त सहरले अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको प्रतिरोध गरेको थियो।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन्।

    हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ।

    हमलाकारी रुसी फौजहरूले युक्रेनको दोस्रो ठूलो सहर खार्किबको एउटा प्राकृतिक ग्यास पाइप लाइनमा पनि विस्फोटन गराएका छन्।

    रुससँगको सीमा नजिकै उक्त पाइपलाइन रहेको क्षेत्रमा च्याउको आकार जस्तो विस्फोटन भएको भिडिओ युक्रेनको सरकारी विशेष सूचना तथा सञ्चार सेवाले टेलिग्राम एपमार्फत् सन्देश पठाएर सार्वजनिक गरेको थियो।

    अहिलेसम्म उक्त पाइपलाइन कतिको महत्त्वपूर्ण हो प्रस्ट भइसकेको छैन।

    उक्त विस्फोटनले ग्यासको निर्यातलाई अवरुद्ध पार्छ या पार्दैन पनि खुल्न सकेको छैन।

    लडाइँ जारी रहे पनि युक्रेनले युरोपलाई ग्यास निर्यात गरिरहेको छ।

  3. युक्रेनमाथिको आक्रमण नयाँ शीतयुद्धको सुरुवात हो?

  4. युक्रेनमाथि रुसी आक्रमण जारी

    शुभप्रभात।

    लाइभ पेजमा तपाईँलाई पुनः स्वागत छ।

    रुसको युक्रेनमाथि आक्रमण आज पनि जारी छ।

    हामी आज दिनभरि रुसी आक्रमणपछि विकसित घटनाक्रमबारे ताजा जानकारी तपाईँलाई यो पेजमार्फत् दिनेछौँ।

    आइतवारका मुख्य-मुख्य घटनाक्रम यसप्रकार छन्:

    • रुसी क्षेप्यास्त्रले भासीलकीभको एउटा तेल डिपोमा आक्रमण गरेको त्यहाँका मेयरले बताएकी छन्। त्यसबाट विषाक्त धुवाँ निस्कने चिन्ता व्यक्त भएको छ।
    • स्थानीय समयअनुसार मध्यरात हुनुभन्दा केही अघि क्षेप्यास्त्र आक्रमण भइरहेको चेतावनी दिँदै साइरनहरूको आवाजहरू किएभमा सुनिएका थिए।
    • युक्रेनको राजधानीका मानिसहरूले बङ्करमा रात बिताइरहेका छन् र सोमवार बिहानसम्म कर्फ्यु लगाइएको छ।
    • किएभका मेयरले सडकमा देखिने जो कोहीलाई पनि रुसी भूमिगत जत्थाको सदस्यका रूपमा व्यवहार गरिने बताएका छन्
    • ठूलो सङ्ख्यामा मानिसहरू मल्डोभा र पोल्याण्डतर्फ भागिरहेका छन्।
    • पश्चिमा देशहरूले उनीहरूले केही रुसी ब्याङ्कहरूलाई स्वीफ्ट नेटवर्कबाट हटाउँदै अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने बताइरहेका छन्।
    • उनीहरूले रुसी केन्द्रीय ब्याङ्कहरूलाई प्रतिबन्धबाट उन्मुक्ति प्राप्त हुने मौका नदिने र धनी रुसीहरूलाई ‘गोल्डेन पार्सपोर्ट’ बाट वञ्चित गर्ने जनाएका छन्।
    • अमेरिका, जर्मनी र द नेदरल्याड्सले लडाइँलाई सहयोग पुर्‍याउन युक्रेनलाई थप हतियार उपलब्ध गराउने बताएका छन्।
  5. किएभतिर अघि बढेको रुसी सेनालाई युक्रेनको प्रतिरोध

    राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ।

    रुसी फौज किएभनजिकै आइपुग्दा युक्रेनले प्रतिरोध गरिरहेको जनाएको छ।

    युक्रेन-रुस तनावबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।

    आजका लागि यो लाइभ पेजबाट बिदा चाहन्छौँ। धन्यवाद।

  6. युक्रेनमा रुसी आक्रमणको तेस्रो दिन के भयो?

    रुसी सैनिकहरू युक्रेनको राजधानी तर्फ अघि बढेपछि शनिवार भएका मुख्य घटनाक्रमहरू यस्ता छन्:

    • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।
    • राष्ट्रपति जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
    • युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।
    • पोल्यान्डले विश्वकप २०२२ का लागि रुससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ।
    • यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप ‘मानवीय सहायता वा सैनिक सहयोग’ उपलब्ध गराउने सहमति गरेको जनाएका छन्।
    • रुसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किएभलाई हतियार र अन्य सामाग्री पठाइरहेको छ।
    • फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको बीबीसीले थाहा पाएको छ।
    • रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ।
    • किएभको जुलीयानी विमानस्थल नजिकै क्षेप्यास्त्रका कारण क्षति पुगेको एउटा अपार्टमेन्ट भवनका थप तस्बिरहरू बाहिर आएका छन्।
    • युक्रेनले आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरेको छ।
  7. रुसी सैनिकहरू चढेको विमान खसालिदिएको युक्रेनको दाबी

    युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू चढेको एउटा सैन्य विमान किएभनजिकै खसालिदिएको दाबी गरेको छ।

    उक्त दाबीको बीबीसीले स्वतन्त्र पुष्टि गरेको छैन भने यसबारे रुसले कुनै प्रतिक्रिया दिएको छैन।

    किएभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल-७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

    यसको निर्माताले उल्लेख गरेको विवरण अनुसार उक्त विमानले १६७ जना सैनिक र चालकदलका छ वा सात सदस्य बोक्नसक्छ।

    युक्रेनका सैन्य कमान्डर जेनरल भ्यालरी जालज्नीले आफ्नो फेसबुकमा रुसी सैन्य विमान खसालेकोप्रति सङ्केत गर्दै सन् २०१४ मा युक्रेनी विमान खसालिएको घटनाको बदला लिइएको बताएका छन्।

    शनिवार रुसी सैन्य प्रवक्ताले युक्रेनमा गरिएको आक्रमणमा मस्कोले कुनै मानवीय क्षति नबेहोरेको दाबी गरेका थिए।

  8. युक्रेनको समर्थनमा ब्रिटिश राजपरिवारका सदस्य

    ब्रिटिश राजकुमार विलियम र उनकी पत्नी डचिस अफ केम्ब्रिज केटले युक्रेनको समर्थनमा ट्वीट गरेका छन्।

    ब्रिटिश राजपरिवारका यी दुई सदस्यलेयुक्रेनी राष्ट्रपतिसँग भएको भेट स्मरण गर्दै भोलोदिमिर जेलेन्स्की र युक्रेनका जनताको पक्षमा आफू रहेको बताएका हुन्।

  9. मलाई पक्राउ गर्ने योजना विफल: युक्रेनी राष्ट्रपति

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

    भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह गरेका छन्।

    “हामीले योजना असफल बनाएका छौँ,” जेलेन्स्कीले भने।

    युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताएका छन्।

    आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको भनाइ छ।

    अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ।

  10. किएभमा साँझ ५ बजेदेखि कर्फ्यू

    किएभका नगर प्रमुख भिताली क्लित्स्कोले युक्रेनको राजधानीमा साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेका छन्।

    यसअघि राति १० बजेबाट बिहान ७ बजेसम्म कर्फ्यू लागु गरिएको थियो।

    ट्विट गर्दै क्लित्स्कोले भनेका छन्, “कर्फ्यूको समयमा सडकमा देखिने जोकोही सर्वसाधारणलाई शत्रु समूहको सदस्य मानिनेछ।”

  11. रुसी पानीजहाज फ्रान्सको नियन्त्रणमा

    फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको बीबीसीले थाहा पाएको छ।

    रुसमाथि युरोपेली सङ्घले लगाएको नयाँ प्रतिबन्धअनुसार उक्त जहाज रोकेर अर्को ठाउँतिर पठाइएको फ्रेन्च अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

    “कार ढुवानी गरिरहेको १२७ मिटर लामो बल्टिक लीडर नाम गरेको रुसी पानीजहाज राति नै जलसेनाले रोकेर उत्तरी फ्रान्सको बन्दरगाहमा लगिएको छ,” ती अधिकारीले भनेका छन्।

    “युरोपेली सङ्घले प्रतिबन्ध लगाएका मस्कोका कम्पनीको जहाज भएको आशङ्कामा नियन्त्रणमा लिइएको हो। फ्रेन्च सीमा सुरक्षा बलले अहिले कार्गो जहाजको अनुसन्धान गरिरहेका छन्।”

    जहाज रोकिएको बारे रुसी दूतावासले फ्रान्ससँग स्पष्टीकरण मागेको रुसको आरआईए समाचारसंस्थाले जनाएको छ।

  12. किएभका सडकमा राष्ट्रपतिदेखि आधुनिक हतियार बोकेका स्वयंसेवकसम्म

    राजधानीतर्फ केन्द्रित हुँदै गरेका रुसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकहरूलाई हतियार वितरण गरिएको छ।

    अहिले किएभको अवस्था देखाउने तस्बिर यस्ता छन्।

  13. 'अहिलेसम्म १९८ युक्रेनीको मृत्यु'

    युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

    आफ्नो फेसबुक पेजमा लेख्दै भिक्टोर ल्याश्कोले रुसी आक्रमणका कारण थप १,११५ जना घाइते भएका र तीमध्ये ३३ जना बालबालिका भएको उल्लेख गरेका छन्।

  14. ब्रेकिंग, पोल्यान्डद्वारा रुससँग विश्वकप फुटबलको प्लेअफ खेल्न अस्वीकार

    पोल्यान्डले विश्वकप २०२२ का लागि रुससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ।

    ती दुई देशबीच मार्च २४ मा मस्कोमा खेल हुने कार्यक्रम थियो।

    पोलिश फुटबल फेडरेशनका अध्यक्षले भनेः "यो बोल्ने हैन, काम गर्ने बेला हो।"

    उनका अनुसार पोल्यान्डले चेक र स्वीडिश फुटबल फेडरेशनसँग फिफासमक्ष समाधान अडान राख्न कुरा गरिरहेको छ।

  15. युक्रेनलाई थप सैन्य सहायताः यूके

    यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप ‘मानवीय सहायता वा सैनिक सहयोग’ उपलब्ध गराउने सहमति गरेको जनाएका छन्।

    उनले बीबीसी रेडिओ फोरको टूडे कार्यक्रमसँग बोल्दै यूकेले अब ती देशहरूसँग समन्वय गरेर कसरी युक्रेनीहरूको हातमा सैनिक सहायता पुर्‍याउने भन्ने निर्णय गर्ने बताए। तर उनले त्यसबारे थप खुलाएनन्।

    उनले युक्रेनबाट भएको सशक्त प्रतिवादबारे क्रेम्लिनले ‘समीक्षा गर्न सक्ने’ भन्दै रुसले भीषण गोलाबारी गर्ने निर्णय गर्न सक्ने जोखिम रहेको बताए।

    उनले स्विफ्ट नामक अन्तर्राष्ट्रिय ब्याङ्किङ मुद्रा ट्रान्सफर प्रणालीबाट रुसलाई अलग गर्ने विषयमा ब्रिटेनले अरू देशहरूलाई मनाउने कूटनीतिक प्रयास गरिरहेको बताए।

  16. आफ्ना नागरिकको उद्धार गर्न भारतीय विमान बुखारेस्टमा

    रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ।

    एअर इन्डियाको विमान शनिवार रोमेनीयाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ।

    युक्रेनबाट सीमा नाघेर सयौँ मानिस त्यहाँ पुगेको बताइन्छ।

    युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ।

    युक्रेनमा लगभग २० हजार भारतीयहरू छन् जसमध्ये अधिकांश विद्यार्थी छन्।

    उनीहरूमध्ये धेरै जनाले सामाजिक सञ्जालबाट युक्रेन छाड्न आफूहरूलाई सहयोग गर्न अपील गरिरहेका छन्।

    भारत रुसको परम्परागत साझेदार हो र उसले गए राति रुसी हमलाको निन्दा गर्ने राष्ट्रसङ्घको सुरक्षा परिषद्को मतदान प्रक्रियामा अलग रहने निर्णय गरेको थियो।

  17. फ्रान्सले युक्रेनलाई हतियार उपलब्ध गराउने

    रुसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किएभलाई हतियार र अन्य सामाग्री पठाइरहेको छ।

    राष्ट्रपति जेलेन्स्कीले आफूले फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँग शनिवार बिहान कुराकानी गरेको उल्लेख गर्दै 'कूटनीतिक मोर्चामा नयाँ दिनको आरम्भ’ भएको बताए।

    “युद्धविरोधी गठबन्धनले काम गरिरहेको छ,” जेलेन्स्कीले ट्वीट गरेका छन्।

    शनिवार माक्रोँले एउटा भिडिओ ट्वीट गर्दै “युद्ध जारी रहन्छ र हामीले त्यसका लागि तयारी गर्नुपर्छ” भनेका थिए।

  18. पुटिन कसको कुरा सुन्छन्?

    रुसलाई एउटा शक्तिशाली राष्ट्रपतीय गणतन्त्रको रूपमा लिन सकिन्छ।राष्ट्रपति भ्लादिमिर पुटिनको हातमा अधिकांश शक्ति निहित छ र अन्ततः देश कसरी चलाउने भन्ने सबै महत्त्वपूर्ण निर्णयहरू उनले व्यक्तिगत रूपमै लिन्छन्। तर के उनी अरूको कुरा सुन्छन्? को हुन् उनका विश्वासपात्र?

  19. किएभमा दर्जनौँ घाइते

    किएभका मेयर भिताली क्लित्स्कोले गए राति किएभमा भएका लडाइँमा ३५ जना घाइते भएको बताएका छन्।

    त्यसमा दुई बालबालिका पनि रहेको उनले जानकारी दिए।

    उनले अहिले किएभमा रुसी सैनिकको उपस्थिति नभएपनि रुसी आक्रमणलाई समर्थन गर्ने भूमिगत समूहहरू सक्रिय रहेको बताए।

  20. क्षेप्यास्त्र हमलाका कारण अपार्टमेन्ट भवनमा क्षति

    किएभको जुलीयानी विमानस्थल नजिकै क्षेप्यास्त्रका कारण क्षति पुगेको एउटा अपार्टमेन्ट भवनका थप तस्बिरहरू बाहिर आएका छन्।

    ती तस्बिरमा कम्तीमा पाँचवटा तल्लामा भ्वाङ्ग परेको देखिन्छ।

    अधिकारीहरूले क्षतिको विवरण सङ्कलन भइरहेको र उद्धार कार्य जारी रहेको बताएका छन्।