रुसको रक्षामन्त्रालयले किएभका बासिन्दाहरूलाई एक चेतावनी
जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा 'लक्षित हमला' गर्न लागेको जनाएको छ।
मङ्गलवार अपरान्ह एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको
फौजले ‘किएभस्थित
युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएका छन्।
“राष्ट्रवादीहरूद्वारा
रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रिले स्टेशन नजिक बसोबास गर्ने
किएभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान हामी आह्वान गर्छौँ,” उक्त वक्तव्यमा उल्लेख छ।
रुसविरुद्ध ‘सूचना युद्ध’ रोक्न यी हमला गर्न लागिएको रुसी अधिकारीहरूको दाबी छ।
यसबीच युक्रेनी रक्षामन्त्रीले
चाहिँ रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन्।
फेसबुकमा लेख्दै उनले रुसले सञ्चार
अवरुद्ध पार्ने योजना बनाइरहेको बताए।
“त्यसपछि युक्रेनी
सेना तथा राजनीतिक नेतृत्वले आत्मसमर्पणको निम्ति सहमति जनाएका जस्ता झुटा समाचार व्यापक
रूपमा फैलाइनेछ,” उनले लेखेका छन्।
“त्यस्ता झुटा
समाचारलाई स्थापित गर्न नक्कली भिडिओ वा हस्ताक्षर गरिएका जाली कागज देखाइने छन्।”
उनले कुनै ‘आत्मसमर्पण’ नहुने बरु केवल ‘विजय’ हुने पनि बताएका छन्।