तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. किएभमा पुनः गोलाबारी सुरु – रिपोर्ट

    युक्रेनको राष्ट्रिय समाचार संस्थाले राजधानी किएभ र खार्किभमा पुनः गोलाबारी सुरु भएको जनाएको छ।

    युक्रेनको 'स्पेसल सर्भिस'लाई उद्धृत गर्दै युक्रेनी राजधानीमा कैयौँ घण्टाको शान्तिपश्चात् किएभ र खार्किभमा विस्फोटनको आवाज सुनिएको उक्रीनफोर्मले बताएको छ।

    यसैबीच, खतराको सूचना दिने घण्टी युक्रेनको उत्तरी सहर चर्नीभमा सुनिएको छ।

  2. रुसी सेनाद्वारा युक्रेनको बेर्डियान्स्क नगरमाथि कब्जा

    युक्रेनको दक्षिणमा रहेको तटीय नगर बेर्डियान्स्क अहिले रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका नगरप्रमुखले बताएका छन्।

    स्थानीय समयानुसार आइतवार ३:५० तिर रुसी सैनिकहरू त्यहाँ प्रवेश गरेका थिए र त्यसको केही समयपछि नगरको केन्द्रमा उनीहरूले यताउता गरिरहेको देखिएको थियो।

    राति ८ बजे रुसी सैनिकहरू उक्त नगरको सभागृहमा प्रवेश गरेका थिए।

    ब्ल्याक सीको किनारमा रहेको उक्त नगरमा युक्रेनी सेनाको एउटा नौसैनिक अखडा छ।

    सो नहरको जनसङ्ख्या करिब एक लाख रहेको छ।

  3. युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण: जेलेन्स्की

    युक्रेनका विभिन्न भागमा रुससँग युद्ध चलिरहेको अवस्थामा यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ताका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलेअबको २४ घण्टा महत्त्वपूर्ण हुने आफ्नो विश्वास रहेको बताएका छन्।

    यूके सरकारका प्रवक्ताका अनुसार जोन्सनले रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीलेको नेतृत्वको प्रशंसा गरे।

    युक्रेनको प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता यूके र साझेदार राष्ट्रहरूबाट उसले प्राप्त गर्ने विषयमा यूकेले हरसम्भव प्रयास गर्ने जोन्सनले थपेका छन्।

    दुवै नेताले निरन्तर सम्पर्कमा रहने सहमति जनाएका छन्।

  4. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात।

    लाइभ पेजमा तपाईँलाई पुनः स्वागत छ।

    रुसले युक्रेनमाथि बिहीवारबाट सैन्य कारबाही थालेयता मुख्य घटनाक्रमहरूबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाबारे विवरणहरू प्रस्तुत गर्नेछौँ। कृपया हामीसँगै रहनुहोला।

    हिजोदेखि अहिलेसम्मका प्रमुख घटनाहरू यस प्रकार छन् -

    • लडाइँमा आइतवार “कठिन समय” भएको भन्दै युक्रेनी फौजका प्रमुखले रुसी सेनाले “सबै दिशाबाट आक्रमण जारी राखेको” बताएका छन्
    • पश्चिमा देशहरूको कडा प्रतिबन्धसँगै रुसी मुद्रा रुबलको भाउमा व्यापक गिरावट आएको छ
    • संयुक्त राष्ट्रसङ्घले सोमवार सबै १९३ सदस्य राष्ट्र सम्मिलित हुने आपत्कालीन छलफल गर्दैछ
    • शरण लिनका लागि आवेदन दिन नपर्नेगरी सबै युक्रेनी शरणार्थीलाई तीन वर्षका लागि स्वीकार्ने प्रारम्भिक योजनाप्रति युरोपेली सङ्घका सदस्य राष्ट्रले समर्थन जनाएका छन्
    • युक्रेनले अहिलेसम्म ४३०० रुसी फौज मारिएको दाबी गरेको छ। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन
  5. आजको प्रमुख घटनाक्रम

    युक्रेन-रुस सङ्कटबारे आइतवारको हाम्रो लाइभ कभरेज अन्त्य भएको छ। आइतवारका प्रमुख घटनाक्रमहरू यस प्रकार छन्:

    • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई "उच्च सतर्कता"मा रहन भनेका छन्। उनले नेटोको "आक्रामक व्यवहार"का कारण त्यसो गरेको बताएका छन्।
    • रुसले परमाणु हतियार प्रयोग गर्न लागेको अर्थ नलाग्ने यो कदमलाई विश्वभर निन्दा गरिएको छ। अमेरिकाले यसलाई "अस्वीकार्य" भनेको छ भने नेटोका प्रमुखले यसलाई "खतरनाक" र "गैरजिम्मेवार" भनेका छन्।
    • युक्रेन र रुसका प्रतिनिधिमण्डल वार्ताको लागि बेलारुसको सीमामा भेट्ने तय भटको युक्रेनी राष्ट्रपतिले जनाएका छन्।
    • युक्रेनी सेनालाई युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी सेनाको आक्रमण विफल पारिदिएको बताएको छ।
    • युक्रेनबाट बाहिरिने मानिसहरूको सङ्ख्या ३६८,००० पुगेको संयुक्त राष्ट्रसङ्घको ताजा तथ्याङ्कले देखाएको छ।
    • युरोपेली देशहरूले रुसी विमानका लागि आफ्नो आकाश बन्द गरेका छन्।

    यो पेजमा हामी प्रमुख घटनाक्रमहरूको विवरण सोमवार दिनभरि प्रकाशन गर्नेछौँ।

  6. ब्रेकिंग, बेलारुसको सीमामा रुससँग वार्ता: युक्रेन

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि विज्ञप्ति निकाल्दै वार्ता गर्न लागेको बताएका छन्।

    “हामी युक्रेन-बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भयौँ,” विज्ञप्तिमा भनिएको छ।

    “अलेक्जेन्डर लुकासेन्कोले बेलारुसमा भएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्र युक्रेनी टोलीको यात्रा, वार्ता र फर्कँदासम्म प्रयोग नहुने जिम्मेवारी लिएका छन्।”

    रुस र बेलारुसले यसबारे कुनै विज्ञप्ति निकालेका छैनन्।

  7. रुसद्वारा परमाणु हतियारको चेतावनी, अमेरिका भन्छ: 'अस्वीकार्य'

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई आफ्नो पारमाणविक बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिएका छन्।

    यो अवस्था रुसको रणनीतिक क्षेप्यास्त्र बलको सबैभन्दा माथिल्लो स्तरको सतर्क अवस्था हो।

    रक्षामन्त्री सेर्गेई शोईगुसहित सैन्य प्रमुखहरूसँग बोल्दै पुटिनले पश्चिमा राष्ट्रहरूले रुससँग “मित्रवत् व्यवहार नगरेको” र “अवैधानिक प्रतिबन्धहरू लगाएको” बताए।

    बीबीसीका सुरक्षा सम्वाददाता गोर्डन कोरेराले यसलाई “आफ्नो बाटोमा पश्चिमा देशहरू उभिएमा परमाणु हतियारको चेतावनी”को रूपमा व्याख्या गरेका छन्।

    संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लीन्डा थोमस ग्रीनफील्डले सीबीएस न्यूजलाई रुसको कदम “अस्वीकार्य रहेको” बताएकी छन्।

  8. ४,३०० रुसी मारिएको युक्रेनको दाबी

    युक्रेनको सहायक रक्षामन्त्रीले अहिलेसम्म युक्रेनी सेनाले रुसी सेनालाई पुर्‍याएको क्षति दाबी गर्दै एउटा आँकडा सार्वजनिक गरेकी छन्।

    किएभकी हाना माल्एरले फेसबुक पोस्टमा यो पहिलो तीन दिनको अनुमानित तथ्याङ्क भएको र फेरबदल हुनसक्ने बताएकी छन्।

    बीबीसीले यो आँकडा पुष्टि गरेको छैन र रुसले अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

    माल्एरले गरेको दाबीमा रुसको निम्न क्षति भएको छ:

    • ४,३०० मृत्यु
    • २७ विमान
    • २६ हेलिकप्टर
    • १४६ ट्याङ्क
    • ७०६ सशस्त्र सवारीसाधन
    • ४९ तोप
    • १ हवाई रक्षा प्रणाली
    • ४ रकेट प्रहार प्रणाली
    • ३० सवारीसाधन
    • ६० ट्याङ्कर
    • २ ड्रोन
    • २ डुङ्गा
  9. युक्रेनले नागरिकलाई भन्यो: बम बनाऊ, रुख ढाल्

    युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलन गर्न सर्वसाधारणहरूलाई अपिल गरेको छ।

    “तपाईँहरूसँग हतियार वा गोलीगठ्ठा छ या छैन, सबै सम्भव उपाय र लडाइँको विधि प्रयोग गर्नुहोस्।”

    सेनाले नागरिकलाई निम्न कार्य गर्न अनुरोध गरेको छ:

    • सडक चिन्ह भत्काउने,
    • रुख ढालेर आवतजावतमा अवरोध पुर्‍याउने,
    • घरमै बनेका प्रज्वलनशील पदार्थ प्रयोग गर्ने,
    • प्रमुख सडकमा क्षति पुर्‍याउने /
    • रातl वा झिसमिसेमा बढी सक्रिय हुने
  10. युक्रेन आक्रमणविरुद्ध सडकमा आउन रुसी नागरिकलाई अपिल

    रुसमा रहेका युद्धविरोधी अभियानकर्मीहरूले युक्रेनमाथि भएको आक्रमणविरुद्धको आन्दोलनमा सहभागी हुन थप मानिसहरूलाई आह्वान गरेका छन्।

    रुसी सत्ताको विपक्षमा उभिएका बोरिस नेमत्सोभको हत्या गरिएको वार्षिकी पारेर यस्तो अपिल गरिएको हो।

    पूर्वी युक्रेनमा भएका हिंसाको कडा शब्दमा विरोध गर्ने उनलाई सन् २०१५ मा क्रेमलिन नजिकै हत्या गरिएको थियो।

    एउटा स्वतन्त्र पर्यवेक्षक समूहले बिहीवार रुसी अतिक्रमण सुरु भएका तीन हजार रुसीहरूलाई गिरफ्तार गरिएको जनाएको छ।

  11. फिनल्यान्ड र आयरल्यान्डमा रुसी विमान प्रतिबन्धित

    फिनल्यान्ड र आयरल्यान्डले रुसी विमानका लागि आफ्नो आकाश बन्द गर्ने घोषणा गरेका छन्।

    कहिलेदेखि सो निर्णय लागु हुन्छ भन्ने कुरा स्पष्ट छैन।

    फिनल्यान्ड र रुसबीच १,३०० किलोमिटर लामो सीमा छ। यसर्थ रुसबाट पश्चिमतर्फ जाने हवाई मार्ग बन्द हुनेछन्।

    चेक गणतन्त्र, इस्टोनीया, जर्मनी, पोल्यान्ड र यूकेले यस्तै निर्णय गरिरहेका छन्।

    रुसले पनि ती देशहरूको विमानलाई आफ्नो आकाशमा उड्न रोकेको छ।

  12. ब्रेकिंग, 'रुससँग हामी बेलारुसमा वार्ता गर्दैनौँ'

    रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ।

    तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया जनाएका छन्।

    उनले भने, “त्यो भूभागबाट हामीमाथी आक्रमणनगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो… अरू सहरहरूलाई वार्तास्थलका रूपमा प्रयोग गर्न सकिन्छ।”

    "हामी शान्ति चाहन्छौँ, हामी भेट्न चाहन्छौँ, हामी युद्धको समाप्ति चाहन्छौँ। वार्सा, ब्रटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकु - हामीले यी सहर रुसीहरूलाई प्रस्ताव गरेका छौँ।"

    उनले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै पनि शहरमा वार्ता हुनसक्ने बताए।

    "हामीमाथि क्षेप्यास्त्र प्रहार नभएको अन्य जुनसुकै क्षेत्रको सहर भए पनि हुन्छ। यो मात्रै इमानदारितापूर्वक वार्ता गर्ने र युद्ध साँच्चिकै अन्त्य गर्ने बाटो हो।"

  13. 'म यहीँ छु': युक्रेनी राष्ट्रपतिको भाइरल भिडिओ

    युक्रेनका राष्ट्रपतिले आफूले राजधानी छोडेको र सेनालाई हतियार बिसाउन निर्देशन दिएको भन्ने मिथ्या सूचनालाई गलत साबित गर्न सामाजिक सञ्जालमा राखेका भिडिओहरू भाइरल भएका छन्।

    भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभका विभिन्न परिचित स्थानहरूबाट सामाजिक सञ्जालमा भिडिओ हाल्दै आएका छन्।

  14. युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन बामदेव गौतमको रुसलाई आह्वान

    नेपालका पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन रुसलाई आह्वान छन्।

    आइतवार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नेता गौतमले शान्तिवार्ताबाट युक्रेन-रुस समस्या समाधान हुनुपर्ने धारणा अघि सारेका हुन्।

    उनले नेटो सैनिक सङ्गठन भङ्ग गर्न समेत पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।

  15. किएभमा विस्फोटन र साइरन

    किएभको सिटी सेन्टरको पश्चिममा आइतवार विस्फोटनको आवाज सुनिएको विवरण आएका छन्।

    हवाई आक्रमणको साइरन बजेको एक घण्टापछि उक्त घटना भएको हो।

  16. ब्रेकिंग, नोभा काखोभ्का रुसको हातमा: युक्रेनी सञ्चारमाध्यम

    युक्रेनको दक्षिणी सरह नोभा काखोभ्का रुसले नियन्त्रणमा लिएको युक्रेनी सञ्चारमाध्यमले बताएका छन्।

    सानो भए पनि नीपर नदीको किनारमा रहेको यो सहरले क्राइमियानजिकै रहेको छ।

    नोभा काखोभ्काका नगरप्रमुखले रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको बताएका छन्।

    विज्ञहरूले रुसी आक्रमण अहिलेसम्म युक्रेनको दक्षिणतिर सबैभन्दा सफल रहेको बताएका छन्।

  17. ब्रेकिंग, रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर छिरे: अधिकारी

    रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

    खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको बताए।

    यसअघि नै रुसी सैन्य कारहरू खार्किभको सडकमा गुडेका भिडिओहरू सार्वजनिक भएका थिए।

    सिनेगुबोभले सबै नागरिकलाई घरभित्रै रहन भनेका छन्।

    "आफ्नो वासस्थान नछोठ्नुहोस्। युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्। नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ।"

    यसअघि उत्तर-पूर्वी सहर खार्किभको एक नौ तले भवनमा रुसी रकेट आक्रमण हुँदा एक महिलाको मृत्यु भएको राज्य आपत्काल सेवाले जनाएको थियो।

    युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई रुसले फेब्रुअरी २४ देखि नै निसानामा खारेको छ।

    उता राजधानी किएभमा भने बिहान ७:३० सम्म रुसले कुनै आक्रमण गरेको छैन। शनिवार राति आक्रमण हुनसक्ने चेतावनी दिइएको भए पनि त्यहाँको अवस्था शान्त रहेको नगर उपप्रमुख माइकोला पोभोरोज्न्याकले बताए।

  18. इलोन मस्कले दिए युक्रेनलाई इन्टरनेट

    स्पेक्सएक्स अरबपति इलोन मस्कले रुसी आक्रमणले प्रभावित युक्रेनको इन्टरनेट सञ्जाल सुधार गर्नका लागि स्टारलिङ्क स्याटलाइट ब्रोडब्यान्ड परिचालन गरेका छन्।

    युक्रेनका उपप्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा गरेको अनुरोधमा प्रतिक्रिया जनाउँदै मस्कले यस्तो घोषणा गरेका हुन्।

    भीषण लडाइँ भएका दक्षिणी र पूर्वी युक्रेन अनलाइन सेवा खराब भएका छन्।

    स्टारलिङ्क प्रणालीसँग करिब १,५०० भूउपग्रहहरू रहेका छन् र तिनले फाइबर अप्टिक केबल वा फोन टावरबिना पनि इन्टरनेट सेवा दिन सक्छन्।

  19. सशस्त्र रुसी सैनिकसँग जङ्‌गिएकी युक्रेनी महिला

  20. जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने

    आफ्नो नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्दै जर्मनीले अब युक्रेनलाई हतियार उपलब्ध गराउने चान्सलर ओलाफ सोल्सले बताएका छन्।

    चान्सलर सोल्सले युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै जर्मनीले एउटा एन्टीट्याङ्क अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने जानकारी दिए।

    जर्मनीले द्वन्द्व प्रभावित क्षेत्रमा आफ्नो देशमा निर्मित अस्त्र पठाउन लगाइएका कतिपय रोक पनि हटाएको छ जसको अर्थ तेस्रो देशहरूले पनि युक्रेनमा थप हतियारहरू पठाउन सक्छन्।

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई नेटो साझेदारहरूका मद्दतबाट सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता यसअघि जनाएका थिए।

    यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अस्ट्रेलियाले सैनिक सामग्री र स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने जनाएको छ।