ग्वान्टानामो बेमा 'अवैध' आप्रवासी राख्न बनाइएका पालहरू हटाइएको सङ्केत

क्युबाको ग्वान्टानामो बेमा रहेको अमेरिकी जलसेनाको आधारशिविर

तस्बिर स्रोत, Kristi Noem

    • Author, बेनडिक्ट गार्मन र म्याट मर्फी
    • Role, बीबीसी भेरिफाई
  • Published
  • पढ्ने समय: ४ मिनेट

संयुक्त राज्य अमेरिकाले ग्वान्टानामो बेस्थित जलसेनाको आधारशिविरमा आप्रवासीहरू राख्न बनाएका संरचनाहरू भत्काएको सङ्केत बीबीसी भेरिफाईले समीक्षा गरेका भूउपग्रह तस्बिरहरूबाट प्राप्त भएको छ।

अमेरिकी राष्ट्रपति भएलगत्तै डोनल्ड ट्रम्पले क्युबामा रहेको संरचना विस्तार गरेर ३०,००० आप्रवासी अटाउने क्षमताको बनाउन आदेश दिएका थिए। यद्यपि उक्त शिविरमा राखिएका आप्रवासीहरूको सङ्ख्या भने निकै सानो छ।

अमेरिकाले 'अवैध' आप्रवासीहरूलाई पक्राउ तथा निष्कासनको कारबाही सुरु गरेको पहिलो महिनामै पेन्टगनले ग्वान्टानामो बेमा तीन करोड ८० लाख डलर खर्च गरेको अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले बताएका छन्।

तर नयाँ भूउपग्रह तस्बिरहरूमा उक्त कारबाहीका लागि यसअघि राखिएका करिब २६० वटा पालमध्ये दुईतिहाइ संरचना एप्रिल १६ सम्म त्यहाँबाट हटाइएको देखिएको छ।

ती पालहरू किन हटाइयो भन्ने प्रश्नमा एक अमेरिकी रक्षा अधिकारीले भने, "यो परिवर्तन साधनस्रोतको योजनाबद्ध र कुशल प्रयोगको सङ्केत हो, तयारीमा कटौती हैन।"

राष्ट्रपति ट्रम्पले आप्रवासीहरूलाई निष्कासनको घोषणा गरेको भोलिपल्टदेखि उक्त शिविरमा निर्माणकार्य थालिएको थियो। त्यहाँ ज्यानुअरी ३० देखि फेब्रुअरी १२ सम्म पालको सङ्ख्या बढ्यो। मार्चको ८ सम्म पनि देखिने गरी निर्माणका गतिविधिहरू भइरहेका थिए र त्यहाँ अस्थायी संरचनाको निर्माण भएको भूउपग्रह तस्बिरहरूमा देखिन्छ।

अमेरिकाले लामो समयदेखि देशमा आतङ्कवादी गतिविधि गरेको आशङ्कामा पक्राउ परेका सन्दिग्धहरूलाई 'ग्वान्टानामो माइग्रेन्ट अपरेशन सेन्टर' मा राख्दै आएको छ। अहिले गरिएको निर्माणकार्यले उच्च सुरक्षायुक्त उक्त सैन्य कारागारमा ठूलो विस्तार गरेको छ।

एप्रिल १ को तस्बिरमा हरियो र सेतो रङ्गका करिब २६० वटा सैन्य पाल देखिन्छ। ग्वान्टानामो बेस्थित सैन्य शिविरको दक्षिणपश्चिमपट्टि ती पालहरू जडान गरिएको हो। तर एप्रिल १० सम्म तीमध्ये धेरै हटिसकेका छन्।

अलि कम स्पष्ट अरू तस्बिरमा एप्रिल १६ सम्म झन्डै १७५ वटा पालहरू त्यहाँबाट हटिसकेको देखिन्छ।

ग्वान्टानामो बेमा कति आप्रवासी छन्

अमेरिकामा पक्राउ परेका दुई आप्रवासीलाई ग्वान्टानामो बे लैजानका लागि सैन्य विमानतिर लगिँदै

तस्बिर स्रोत, Reuters

उक्त स्थानमा कति आप्रवासीलाई राखिएको छ भन्ने स्पष्ट छैन।

ह्वाइट हाउसका डेप्युटी चीफ अफ स्टाफ स्टीभन मिलरले गत साता फक्स न्यूजसँगको अन्तर्वार्तामा उक्त स्थान सञ्चालनमै रहेको र "ठूलो सङ्ख्यामा विदेशी आतङ्कवादीका सहयोगीहरू" त्यहाँ रहेको बताएका थिए।

त्यहाँबाट पालहरू हटाइनुले आप्रवासीहरूलाई हिरासतमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा उल्टिएको सङ्केत गर्छ कि भन्ने प्रश्नमा ह्वाइट हाउसले कुनै उत्तर दिएन।

ट्रम्पले उक्त सैन्य शिविरमा ३०,००० आप्रवासी पठाउने उद्घोष गरेका थिए। तर अमेरिकी रक्षा अधिकारीहरूले उक्त टापुमा २,५०० कैदीलाई मात्रै राख्न सकिने सङ्केत गरेका छन्।

बीबीसी भेरिफाईले गरेको विश्लेषणले त्यहाँका पालहरूमा अमेरिकी सेनाको शयन मापदण्डअनुसार ३,००० जना मात्रै अटाउने देखाएको छ।

ज्यानुअरीमा ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउन सक्ने ठानिएका कागजपत्र नभएका आप्रवासीहरूलाई राख्न यहाँको संरचना विस्तार गर्ने घोषणा गरेका थिए।

"तीमध्ये केही निकै खराब छन्। हामी उनीहरूलाई देशमा राख्न सक्दैनौँ किनभने हामी उनीहरू फर्केर नआऊन् भन्ने चाहन्छौँ," ट्रम्पले भनेका छन्।

"त्यस कारण उनीहरूलाई हामी ग्वान्टानामो बे पठाउँछौँ...। त्यहाँबाट बाहिर निस्किन सजिलो छैन।"

ग्वान्टानामो बेमा आप्रवासी राख्नेबारे बहस

अढाई महिनाअघि त्यहाँ आप्रवासीहरू पठाउन थालिएको थियो। अहिलेसम्म झन्डै ४०० जनालाई त्यहाँ पठाइएको विवरणहरू आएका छन्। तर तीमध्ये आधाभन्दा धेरैलाई अमेरिकाकै अन्य आप्रवासी केन्द्रमा फिर्ता पठाइएको छ।

बाँकी केही त्यहाँबाट देशनिकालामा परेका थिए। फेब्रुअरी २० मा त्यहाँबाट १७७ जनालाई होन्डुरस हुँदै भेनेजुएला पठाइएको थियो।

मार्च २८ मा पाँच डेमोक्य्राट सांसदहरूले उक्त शिविरको भ्रमण गरेका थिए।

त्यसपछि उनीहरूले एउटा विज्ञप्ति जारी गर्दै "ट्रम्प प्रशासनले गरेको सेनाको दुरुपयोगको स्तर देखेर आफूहरू रुष्ट भएको" बताएका थिए।

"प्रक्रिया मिच्न र कानुनी छानबिन छल्न" उक्त शिविर बनाइएको आरोप उनीहरूले लगाएका थिए।

सांसदहरूको उक्त प्रतिनिधिमण्डलले आप्रवासीहरूलाई अमेरिकाबाहिर विमानमा लगेर ग्वान्टानामो बेमा राख्न प्रतिमहिना "दशौँ लाख अमेरिकी डलर खर्च हुने" र त्यसले "अमेरिकी करदाताको अपमान भएको" तर्क गरेको थियो।

जोशुआ चीटमबाट थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।