एसीसी प्रिमिअर कप: रोकिएको खेल मङ्गलवार हुने, यूएईसामू नेपाल बलियो स्थितिमा

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

पूर्वानुमान गरिएझैँ वर्षाले खेल बिथोलिएपछि नेपाल र यूएई बीचको एसीसी प्रिमिअर कपको फाइनल खेल भोलि मङ्गलवार हुने भएको छ।

नेपाल क्रिकेट सङ्घले जनाएअनुसार खेल जुन अवस्थामा पुगेर रोकिएको थियो, त्यहीँबाट सुरु हुनेछ।

खेल अवरुद्ध भएको बेला पहिलो ब्याटिङ गरिरहेको यूएई ९ विकेट गुमाएर १०६ रनको सामान्य अवस्थामा छ।

खेलमा उत्कृष्ट बलिङ गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली भने बलियो अवस्थामा छ।

किन सारियो खेल ?

पछिल्लो समय २८ ओभरको खेल चलिरहेको बेला पुनः वर्षा भएपछि खेल रोकिएको थियो।

वर्षाका कारण खेल रोकिएको त्यो दोस्रो पटक थियो।

कीर्तिपुर मैदानको आउट फिल्ड पूर्ण रूपमा ढाकिएको थियो।

ठूलो वर्षा नभई सिमसिम पानी परेकाले पुनः खेल सञ्चालन गर्ने आशामा प्राविधिक टोली रहेको थियो।

दिउँसो ३ बजेपछि पानी पर्न कम हुने मौसम पूर्वानुमान भएकाले पनि नेपालले दोस्रो इनिङ्समा कम्तीमा २० ओभरको खेल सञ्चालन गर्न सकिने अनुमान गरिएको थियो।

तर साढे ३ बजेसम्म पनि पानी नरोकिएपछि म्याच रेफ्रीले खेल नहुने निर्णय गरे।

रातो धर्सा
रातो धर्सा

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार वर्षा रोकिएको अवस्थामा पनि आउट फिल्डबाट पानी हटाउन र पिच तयार गर्न एक घण्टा भन्दा बढी समय लाग्ने थियो र त्यसपछि २० ओभरसम्म खेल खेलाउन समय अपुग हुन्थ्यो।

मङ्गलवार 'रिजर्भ डे' को खेलमा यूएईले १०६-९ बाट खेल थाल्नेछ।

खेल रोकिँदा क्रिजमा मार्थिक मैयप्पन १ रन बनाएर खेलिरहेको अवस्था थियो। अन्तिम खेलाडीका रूपमा जुनेद सिद्धिकी ब्याटिङ गर्न आउनेछन्।

नेपाली स्पिनर ललित नारायण राजवंशीले बलिङ गर्नेछन्। उनी ह्याट्रिक विकेट लिने तरखरमा छन्।

मङ्गलवारको मौसम

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, CAN

भोलि मङ्गलवार पनि पानी पर्ने पूर्वानुमान छ।

यूएईले मध्यम लक्ष्य दिएकोले बिहानको मौसममै नेपालले चाँडै खेल सकाउने अनुमान गरिएको छ।

यदि भोलि पनि वर्षाले खेल बिथोलिएर नेपालको ब्याटिङ सम्भव नहुने अवस्था भयो भने चाहिँ 'सुपर ओभर'बाट खेलको निर्णय हुनेछ।

'सुपर ओभर'मा एक पटकमा टाई भएमा अर्को एउटा 'सुपर ओभर' थपिनेछ।

तर भोलि खेलै नहुने अवस्था आयो भने चाहिँ वरीयताको आधारमा नेपाल स्वतः विजेता हुनेछ।

किनकि एक दिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छन्।

दर्शकको प्रशंसा

वर्षाको पूर्वानुमान पहिल्यै नै थियो। तर पनि बिहान ९ बजे अगाडि नै दर्शकहरू कीर्तिपुरमा पुगिसकेका थिए।

वर्षाका बेला पनि दर्शकहरूले छाता ओढेर क्रिकेट मैदानमा उभिइरहे। यो धैर्यपूर्ण दृश्य निकै मनमोहक देखिएको थियो।

खेल रोकिएको घण्टौँसम्म पनि दर्शकले खेल फेरि सुरु हुने आशामा मैदान छोडेका थिएनन्।

ती तस्बिरहरू सामाजिक सञ्जालमा धेरैले शेअर गरेका छन्।

उत्कृष्ट बलिङ

सोमवारको बादल लागेको मौसममा टस जित्नु नेपालको लागि फाइदाजनक थियो।

फिल्डिङ गर्ने निर्णय लिएको नेपालले त्यसको भरपूर फाइदा पनि उठायो।

तेज गतिका बलरहरूले 'पावर प्ले' मा यूएईका प्रमुख ब्याटरहरूलाई आउट गरिसकेका थिए भने बाँकी काम स्पिनरहरूले पूरा गरिदिए।

स्पिनर ललित नारायण राजवंशीले ३, करण केसीले २ तथा सोमपाल कामी र गुलशन झाले १/१ विकेट लिएपछि यूएई मध्यम स्कोरमा समेटिएको थियो।

१६ ओभरको खेल सकिँदा वर्षाले केहीबेर खेल रोकिँदासम्म यूएईका ५ खेलाडी आउट भइसकेका थिए भने टोलीले ६० रन मात्र जोड्न सकेको थियो।

रातो धर्सा

तस्बिर स्रोत, CAN

तीव्र गतिका बलर कामीले चौथो ओभरको पहिलो बलमा यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेपछि यूएईले विकेट गुमाउन थाल्यो।

एक चौका र एक छक्का प्रहार गरेर ११ रन जोडेका वासिमको राजवंशीले उडेर सानदार क्याच लिएका थिए।

त्यसपछि यूएईका ब्याटर बृत्य अरविन्दको विकेट करण केसीले लिए।

४.५ ओभरमा 'एज' लागेपछि विकेट किपर आसिफ शेखले उनको बल सहजै क्याच गरेका थिए। अरविन्दले ८ रन मात्र बनाए।

करण केसीले नै अर्का भरपर्दा ब्याटर आर्यन लाक्रालाई आउट गरेर यूएईलाई सङ्कटमा पारिदिएका थिए।

केसीको बल खेल्ने धुनमा १२ रन मात्र बनाएका लाक्रा ८.१ ओभरमा आरिफ शेखबाट समातिएका थिए।

रातो धर्सा
रातो धर्सा

वर्षाको पूर्वानुमानका कारण यूएईका खेलाडीहरूले विकेट बचाएर खेल्न प्रयास गरिरहेका थिए। तर विकेट गुम्ने क्रम भने रोकिएन।

स्पिनर राजवंशीले रमिज सहजादलाई १० औँ ओभरको पहिलो बलमा गुलशन झाद्वारा क्याच आउट गराए। यति बेला यूएईले ३५ रनका लागि ४ विकेट गुमाइसकेको थियो।

आसिफ खानले एउटा इन्डबाट खेल सम्हालिरहे। अनुभवी रोहन मुस्तफाले क्रिजमा टिकेर खेल्न भरपूर प्रयास गरेका थिए।

तर १५ बलको सामना गरेर खेलिरहेका बेला उनले सन्दीप लामिछानेको बल भने झेल्न सकेनन्।

लामिछानेको 'फुल टस' खेल्ने क्रममा २ रन मात्र जोडेका मुस्तफा कुशल मल्लबाट 'शर्ट लेग'मा सजिलै समातिन पुगेका थिए।

त्यसपछि आसिफ खान र बसिल हमिदले छैटौँ विकेटका लागि ३९ रनको साझेदारी गरेर खेल केही समय खेल नियन्त्रणमा राखेका थिए। यो नै यूएईको ठूलो साझेदारी थियो।

तर गुलशन झाले २२.५ ओभरमा यो जोडीलाई तोडिदिए। उनले हमिद (१० रन) लाई बोल्ड गरेका हुन्।

आयान खानलाई लामिछाने आउट गरे। 'वाइड बल' खेल्ने चक्करमा खानले (५ रन) मल्ललाई विकेट बुझाउन पुगेका थिए।

यूएईको बाँकी भरोसालाई स्पिनर राजवंशीले समाप्त पारिदिए।

क्रिजमा डटेका एक मात्र खेलाडी आसिफ खान अर्धशतकको नजिक पुगेका थिए।

राजवंशीको बलमा ठूलो शट् खेलेर अर्धशतक पूरा गर्ने क्रममा उनी प्वाइन्टमा आरिफबाट समातिन पुगे।

५४ बलको सामना गरेका खानले ७ चौका र १ छक्काको मदतले ४६ रन बनाएका थिए।

खान २७.२ ओभरमा आउट भएका थिए। त्यसको अर्को बलमा राजवंशीले त्यही शैलीमा आरिफकै हातबाट जहुर खानको पनि विकेट लिए।

अब यूएईको स्थिति १०६-९ थियो। तर यही बेला फेरि वर्षा हुँदा खेल रोकिन पुग्यो।