प्रतिस्पर्धात्मक खेलमा नेपाल टेस्ट टोली आयरल्यान्डसँग पराजित

तस्बिर स्रोत, ICC
जिम्बाब्वेमा जारी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल टेस्ट मान्यता प्राप्त आयरल्यान्डसँग पराजित भएको छ।
टस हारेपछि पहिला ब्याटिङ गर्न निम्त्याइएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो।
२६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डका सुरुवाती ब्याटरहरूलाई नेपालले दबावमा राखेपनि आफ्नो टोलीको जित सुनिश्चित गर्न सकेन। आयरल्यान्डले उक्त लक्ष्य ४९.२ ओभरमा प्राप्त गरेको थियो।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा आयरल्यान्ड २ विकेटले विजयी भएको हो।
यो प्रतियोगितामा पहिलो पटक नेपालले टेस्ट मान्यता प्राप्त अन्य दुई टोलीहरू – जिम्बाब्वे र वेस्ट इन्डिज—सँग पनि खेल्ने मौका पाएको थियो।
ती दुवै र द नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपाल एक दिवसीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएको थियो।
खेलले यसरी लियो निर्णायक मोड
नेपालले कसिकसाउ बलिङ गर्दै विपक्षीलाई सुरुमा दबावमा राखेको थियो।
तीव्र गतिका बलर करण केसीले पाँचौँ ओभरमा आयरल्यान्डका प्रारम्भिक ब्याटर एन्डी म्याकब्रिनको विकेट लिए। १७ रन बनाएर खेलिरहेका म्याकब्रिन कुशल भुर्तेलबाट समातिएका थिए।
त्यसपछि अर्को ओभरमा नेपालका युवा बलर किशोर महतोले विपक्षी कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराए। महतोको यो पहिलो अन्तर्राष्ट्रिय विकेट थियो।
गुलशन झाले १२ औँ ओभरमा पल स्टरलिङलाई १५ रनमा बोल्ड गरेर आयरल्यान्डलाई थप दबावमा राखेका थिए।
तर त्यसपछि ह्यारी टेक्टरले आयरल्यान्डको इनिङ उकास्न मुख्य भूमिका खेले। उनले ६० रनको महत्त्वपूर्ण पारी खेले। त्यसक्रममा ७६ बल खेलेर उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।
उनै टेक्टरले २१ रन बनाएर खेलिरहँदा जीवनदान पाएका थिए। सन्दीप लामिछानेको बलमा १५ औँ ओभरमा किशोर महतोले लङ अनमा क्याच फुत्काउन पुगेका थिए।
सो क्याच फुत्किनु नेपालको लागि महँगो साबित हुन पुग्यो।
टेक्टर पछि लोर्कान टुकेरले २४ रन बनाए।
एक विकेट लिएका कर्टिश क्यामफरले ६२ रनको योगदान दिएका थिए। उनलाई करण केसीले क्याच गराएका थिए।

तस्बिर स्रोत, ICC
अन्तिम १८ बलमा १८ रन आवश्यक रहेको बेला खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो।
त्यति बेला आयरल्यान्ड ७ खेलाडी गुमाएर खेलिरहेको थियो। तर त्यो महत्त्वपूर्ण समयमा आयरल्यान्डका मार्क एडेयरले ऐरीलाई २ चौका प्रहार गरेपछि खेल एकाएक नेपालको हातबाट फुत्केको जस्तो देखिएको थियो।
तर ४९ औँ ओभरमा बलिङ गर्न आएका करण केसीले उनको विकेट लिएपछि नेपाली टोली उत्साही बन्न पुग्यो।
अन्तिम ओभरमा आयरल्यान्डलाई ५ रन जरुरी थियो भने नेपाललाई दुई विकेट वा रन रोक्नु आवश्यक थियो।
पहिलो बलमा १ रन बन्यो। तर दोस्रो बलमा ब्यारी मकार्थीले गुलशन झालाई चौका प्रहार गर्दै खेल टुङ्ग्याइदिए। र, नेपाल पराजित हुन पुग्यो।
गुलशन झाको अर्धशतक

तस्बिर स्रोत, ICC
अलराउन्डर गुलशन झाले आफूलाई फेरि एकपटक प्रमाणित गर्दै अविजित अर्धशतकीय पारी खेलेपछि नेपालले आयरल्यान्डविरुद्ध २६८ रन जोड्न सफल भयो।
जारी प्रतियोगितामा नेपालले बनाएको यो दोस्रो उच्च स्कोर पनि हो। यसअघि नेपालले जिब्बाब्वेविरुद्ध २९० रनको स्कोर खडा गरेको थियो।
झालाई सन्दीप लामिछानेले राम्रो साथ दिए।
जारी प्रतियोगितामा लामिछानेले ब्याटमार्फत लगातार दोस्रो पटक राम्रो प्रदर्शन गरेका हुन्।
यी दुईले मिलेर आठौँ विकेटको लागि ८० रनको कीर्तिमानी साझेदारी बनाएका थिए। आठौँ विकेटका लागि नेपालको यो उच्च साझेदारी बन्यो।
आक्रामक गुलशन झा ५७ रनमा अविजित रहे। त्यसक्रममा उनले ४२ बल खेलेर ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
लामिछाने ३२ रन बनाएर आउट भए।
यसअघि युएई विरुद्धको खेलमा पनि लामिछानेले दीपेन्द्र सिंह ऐरीसँग धैर्यपूर्ण साझेदारी गरेपछि नेपालको जीत सम्भव भएको थियो।

तस्बिर स्रोत, CAN
झा-लामिछानेको जोडी जम्नु अघि नेपालले ढिलो गतिमा तर सम्हालिएर खेल्दै रन जोडेको थियो।
प्रारम्भिक जोडी कुशल भुर्तेल र अर्जुन साउदले ९ ओभरसम्म खेल्दा टोलीको स्कोर २७ रन मात्र थियो।
भुर्तेल ८ रन बनाएर आउट भए। प्रशिक्षक मोन्टी देशाईले लगातार दोस्रो खेलमा मौका दिएका साउदले भने ४८ रनको महत्त्वपूर्ण पारी खेले।
उनले ८४ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे। अर्धशतक बनाउन चुकेका साउदले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए।
साउद जस्तै मौका पाएका भेट्रान ज्ञानेन्द्र मल्ल भने टिक्न सकेनन्। उनी ७ रन बनाएर पवेलियन फर्किए। कप्तान पौडेलले २९ रन बनाए।
बायाँ हाते युवा खेलाडी कुशल मल्ल नेपाली इनिङ उकास्ने अर्का खेलाडी बने। ३८ बलको सामना गरेका उनले ४ चौका र २ छक्का हानेका थिए। उनले कुल ४४ रन बनाए।
भीम सार्की २० रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरीले खाता नै खोल्न सकेनन्। अनि करण केसी एक चौका हानेर आउट भए।




















