दक्षिण कोरियामा विपक्षी नेताको गर्धनमा चक्कु प्रहार

दक्षिण कोरियाली विपक्षी नेता ली

तस्बिर स्रोत, Reuters

Published

दक्षिण कोरियाका विपक्षी दलका नेतामाथि दक्षिणी सहर बुसानमा एक प्रेस सम्मेलनका बेला धारिलो हतियार प्रहार गरिएको योनाप समाचार एजेन्सीले जनाएको छ।

ली जे म्युङले सन् २०२२ को राष्ट्रपतीय निर्वाचन झिनो मतले हारेका थिए।

मङ्गलवार बिहान उनको गर्धनको देब्रेतिर धारिलो हतियार प्रहार गरिएको छ।

पुरुष आक्रमणकारीलाई घटनास्थलबाट तत्काल गिरफ्तार गरिएको छ।

ली जे मयुङ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा ली जे म्युङ झिनो मतले पराजित भएका थिए

आक्रमणपछि लीलाई २० मिनेट टाढा रहेको अस्पतालमा लगिएको छ। योनापका अनुसार उनी त्यसबेला होसमा थिए।

आक्रमणकारी ५० देखि ६० उमेरको जस्तो देखिने समाचारमा उल्लेख छ।

ती आक्रमणकारीले अटोग्राफ माग्न भन्दै लीकहाँ पुगेका समाचारहरूमा जनाइएको छ। त्यसपछि उनले अकस्मात् लीमाथि आक्रमण गरेका थिए।

आक्रमण भइरहेको बेलाका सामाजिक सञ्जालमा राखिएका भिडिओमा ली पहिला भिडमाथि ढलेका र त्यसपछि जमिनमा पछारिएका थिए। त्यसैबेला थुप्रै मानिसले आक्रमणकारीलाई समात्न खोजेका थिए।

फोटोहरूमा देखाइए अनुसार उनी आँखा चिम्लेर जमिनमा लडिरहेको र कसैले उनको घाँटीमा रुमालले थिचिरहेको थिए।

५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्छन्।

उनी अहिले दक्षिण कोरियाली संसद्का सदस्य होइनन्। तर आगामी एप्रिलमा हुने आम निर्वाचनमा उनी उम्मेदवार बन्ने धेरैले ठानेका छन्।

उनले सन् २०२२ को राष्ट्रपतिको निर्वाचन ०.७३ प्रतिशतको फरकले हारेका थिए। त्यसबेला युन सुक यीओलले जितेका थिए।

दक्षिण कोरियाको इतिहासमै यो असाध्यै झिनो फरकले राष्ट्रपति पराजित भएको घटना थियो।

उनी सन् २०२७ मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने पनि धेरैले ठानेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।