अमेरिका: घरमा छापा मार्न जारी पुर्जी सार्वजनिक हुनेबारे डोनल्ड ट्रम्पले प्रतिवाद नगर्ने

तस्बिर स्रोत, Getty Images
- Author, लिओ स्यान्ड्स र म्याक्स माट्जा
- Role, बीबीसी न्यूज
- Published
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साताको सुरुवातमा एफबीआई अधिकारीहरूलाई आफ्नो निवास मार-ए-लागोमा छापा मार्न जारी गरिएको पुर्जी सार्वजनिक गरिनु पर्ने अमेरिकी सरकारको निर्णयको प्रतिवाद नगर्ने बताएका छन्।
एक विज्ञप्तिमार्फत ट्रम्पले आफूले यस मामिला "छिटो पार लगाउन" चाहेको जनाए। यद्यपि, उनले आफ्नो घरमा खानतलासी गर्ने कार्य अनावश्यक र राजनीतिक स्वार्थले प्रेरित भएको भन्ने धारणा दोहोर्याएका छन्।
अमेरिकी न्यायमन्त्रालयले फ्लोरिडास्थित एक अदालत समक्ष छापा मार्ने अनुमतिको लागि जारी गरिएको पुर्जी सार्वजनिक गर्ने दुर्लभ आग्रह गरेको छ।
उक्त आग्रह स्वीकार भएको खण्डमा पुर्जी सम्बन्धी कागजपत्रहरू सार्वजनिक रूपमा उपलब्ध हुनेछन्।
त्यसले सोमवार ट्रम्पको फ्लोरिडास्थित घरमा तलासी गर्नुको कारण प्रस्ट्याउने छ। के कारणले छापा मार्न खोजिएको हो भन्ने बारे हालसम्म रक्षा मन्त्रालयले केही पनि खुलाएको छैन।
एफबीआईको छापा पूर्व अमेरिकी राष्ट्रपतिले अभिलेख गरिएका विवरण र गोप्य दस्ताबेजहरू ह्वाइटहाउसबाट अन्यत्र लगेकोबारे अनुसन्धानसँग जोडिएको ठानिएको छ।
वासिङ्टन पोस्टले नाम नखुलाएको स्रोतलाई उद्धृत गर्दै पारमाणविक अस्त्रहरूसँग सम्बन्धित कागजपत्रहरू ट्रम्पको मार-ए-लागो घरमा एफबीआईले खोजेकोमध्ये एक दस्ताबेज भएको जनाएको छ।
स्रोतले उक्त पत्रिकासँग खोजिएको दस्ताबेजमा अमेरिकी वा अन्य देशको अस्त्रबारे उल्लेख भए या नभएको भने खुलाएन।
बीबीसीको अमेरिकास्थित साझेदार सीबीएसले स्रोतहरूलाई उद्धृत गर्दै छापा सम्बन्धी पुर्जी "सीधा र संक्षिप्त" दस्ताबेज भएको जनाएको छ।
त्यसमा उक्त पुर्जी किन जारी गरिएको थियो वा एफबीआईले के चाहेको थियो भन्नेबारे कुनै जानकारी समावेश गरिएको छैन।
यस विषयमा ट्रम्पले आफ्नो सामाजिकसञ्जाल ट्रुथ सोसलमार्फत आक्रोशित प्रतिक्रिया जनाएका छन्।
"परमाणु अस्त्रबारे चर्चा रुसजस्तै मिथ्या हो। रुस पनि मिथ्या हो। दुई महाअभियोग पनि मिथ्या हुन्। मुलर अनुसन्धान पनि मिथ्या हो। यसमा पनि तिनै अनैतिक मानिसहरू संलग्न छन्।"

तस्बिर स्रोत, Getty Images
"एफबीआईले किन मार-ए-लागोमा हाम्रा वकिल वा अरू मानिसको उपस्थितिमा निरीक्षण गर्न दिँदैन। उनीहरू सबैलाई बाहिर गर्मीमा उभ्याइन्छ र अलिकति पनि नजिक पर्न दिँदैनन्।"
ट्रम्पसँग अमेरिकी समय अनुसार शुक्रवार तीन बजेसम्म ट्रम्पलाई छापासम्बन्धी पुर्जीको प्रतिवाद गर्ने छुट छ।
तर, दस्ताबेजहरू सार्वजनिक प्रकाशन हुने भएपछि उनको भनाइले कस्तो अर्थ राख्छ भन्ने प्रस्ट छैन।
उनीसँग तलासी पुर्जी छ र बरामद गरिएका सामानहरूको सूची छ जुन उनी स्वयंले पनि सार्वजनिक गर्न सक्छन्।
"मेरो घरमा गैर अमेरिकी, अनुचित र अनावश्यक छापा मार्न जारी गरिएको पुर्जीलगायत दस्ताबेजहरू सार्वजनिक गरिने कुराको विरोध गर्दिनँ। म त एक कदम अगाडि बढेर ती दस्ताबेजहरू तत्काल सार्वजनिक गर्न प्रोत्साहित गर्छु," विज्ञप्तिमा लेखिएको छ।
उनले थप लेखेका छन्: उक्त पुर्जी "तिनै कट्टरपन्थी डेमोक्र्याट्स र भविष्यका सम्भावित राजनीतिक विपक्षीहरूले लेखेका हुन् जसले मलाई आक्रमण गर्न बलियो र बृहत् स्वार्थ राखेका छन्। मलाई निरन्तर आक्रमण गर्ने कार्यहरूमा उनीहरू विगत ६ वर्षदेखि सक्रिय छन्।"
यसअघि महान्यायाधिवक्ता मेरिक गारल्याण्डले उक्त पुर्जी आफूले व्यक्तिगत रुपमा स्वीकृत गरेको बताएका थिए।
न्यायमन्त्रालयले जारी अनुसन्धानका क्रममा मौन रहने अभ्यासलाई अहिलेसम्म जारी राखेको छ।
सामान्यतया: अनुसन्धानको क्रममा जारी गरिएको सम्बन्धित पुर्जी र कागजपत्रहरू गोप्य राखिन्छ।
आम जानकारीका लागि सम्बन्धित दस्ताबेजहरूलाई सार्वजनिक गर्न गारल्यण्डले अदालतलाई आग्रह गरेका थिए।
अमेरिकी इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिको घरमा आपराधिक अनुसन्धानसँग सम्बन्धित तलासी भएको हो।
ट्रम्पलगायत अन्य रिपब्लिकनहरूले यस घटना राजनीतिक स्वार्थले प्रेरित भएको भन्दै निन्दा गरेका छन्।
अमेरिकी राष्ट्रपतिले सबै चिठी पत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ।
अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो।




















