कोप२६: ग्रेटा टून्बेर्गले प्रदर्शनकारीलाई भनिन् कोप२६ विफल

तस्बिर स्रोत, Reuters
ग्लास्गोमा भएको र्यालीमा ग्रेटा टून्बेर्गले कोप२० जलवायु शिखर सम्मेलन 'विफल' भएको बताएकी छन्।
स्विडेनकी यी अभियानकर्मी त्यस अघि हजारौँ मानिसहरू सम्मिलित र्यालीमा सहभागी भएकी थिइन्।
प्रदर्शनकारीहरू शहरका विभिन्न स्थान घुम्दै जर्ज स्क्वायरमा आइपुगेपछि सम्बोधन गर्दै टून्बेर्गले कार्बन उत्सर्जन 'तत्काल र ठूलो मात्रामा' कम गर्न आवश्यक भएको बताइन्।
र्याली टून्बेर्गबाट प्रोत्साहित भएर स्कटल्यान्डका युवाहरूले खोलेको संस्था 'फ्राइडेज फर फ्युचर'ले आयोजना गरेको थियो।
शिखर सम्मेलन भइरहेका बेला ग्लास्गो शहरमा निरन्तर भइरहेका विरोध प्रदर्शनहरूमा यो सबैभन्दा ठूलोमध्ये एक थियो।
टून्बेर्गले भनिन्, "कोप२६ विफल भइसक्यो। हामी जसले हामीलाई यहाँसम्म ल्याइपुर्यायो त्यही पुराना उपायबारे कुरा गरिरहेका छौँ, त्यसबाट सङ्कटको समाधान हुँदैन।"

तस्बिर स्रोत, PA Media
"हामीले अहिलेसम्म नगरेको हिसाबमा कार्बन उत्सर्जन कम गर्नुपर्छ।"
"शक्तिमा भएका मानिसहरू हाम्रो सीमितता भएको ग्रहमा उत्पादनमा अत्यधिक वृद्धि र प्राविधिक समाधान उत्पन्न भएर सब सङ्कट समाप्त हुनेछ भन्दै आफ्नै घेरामा स्वप्निल आकाङ्क्षामा बाँचिरहन सक्छन्।"
"जबकि सारा विश्व अग्निमा बलिरहेको छ। र जलवायु सङ्कटमा परेका मानिसहरूले त्यसको भार बहन खेप्नुपरिरहेको छ।"
उनले संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन शिखर सम्मेलनलाई 'दुई हप्ता लामो सदाको जस्तै व्यवसाय महोत्सव' र 'आफैलाई फाइदा पुर्याउन छिद्रहरू बनाउने' क्रियाकलाप भनिन्।
टून्बेर्गले भनिन्, "हाम्रा सम्राटहरू नाङ्गा छन् भन्ने हामीलाई थाहा छ।"
संसारका अन्य वातावरण अभियानकर्मीले पनि प्रदर्शनकारीलाई सम्बोधन गरेका थिए।

तस्बिर स्रोत, Getty Images
युगान्डाकी भनिसा नाकाटेले भनिन्, "अफ्रिकाले विश्वव्यापी उत्सर्जनको ३ प्रतिशत हिस्सा ओगट्छ तर त्यहाँका मानिसहरू जलवायु परिवर्तनको नराम्रो असर भोग्न बाध्य छन्।"
चार्ली ओ रोर्के १४ ग्लास्गोका १४ वर्षीय ले स्कूल छोडेर आमा र आफ्नी बहिनीसँग प्रदर्शनमा सहभागी हुन आएका थिए।
उनले भने, "विश्व नेताहरूले मानिसहरूको कुरा सुन्नुपर्यो हाम्रो ग्रहका लागि आवश्यक के हो बुझ्नुपर्यो र आफ्नो फाइदा मात्र हेर्नुभएन।"
उनकी आमा कर्स्टीले आफ्ना बच्चाहरूका लागि प्रदर्शनमा आएको बताइन्। नयाँ पुस्ताले केही हुनुपर्ने र तत्काल हुनुपर्ने चाहेको उनले बताइन्।
फ्राइडेज फर फ्युचरकी आना ब्राउनले भनिन्, "संयुक्त राष्ट्र सङ्घीय शिखर सम्मेलनले प्रतिफल दिन विफल भएको बताइन्।"
जलवायु सम्बन्धी बहस बन्द कोठाहरूबाट बाहिर सडकमा पुर्याउनुपर्ने पनि उनले बताइन्।
स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टर्जनले स्कटल्यान्डको सरकारले युवाहरूलाई निर्णय प्रक्रियामा सहभागी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
यसैबीच प्रीन्स अफ वेल्सले युवा अभियानकर्मीको आक्रोश र निराशाप्रति सद्भाव व्यक्त गर्दै शिखर सम्मेलनका सहभागीहरूमा 'ऐतिहासिक जिम्मेवारी' रहेको बताएका छन्।
आफूलाई पनि प्रदर्शनमा सहभागी हुन निम्तो आएको तर हुन नसकेको उनले बताएका छन्।
लन्डनमा प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले त्यसरी स्कूल छोडेर प्रदर्शनमा सहभागी हुँदा पहिले नै महामारीले उनीहरूको सिकाइमा पारेको समस्यामा झन् समस्या थप्ने बताएको छ।
तर ग्लास्गो सिटी काउन्सिल र वरपरका स्थानीय अधिकारीहरूले बीबीसीलाई स्कूले विद्यार्थीहरू प्रदर्शनमा भाग लिएकोमा दण्ड नदिइने बताएको छ।
तर बाबुआमाले आफ्ना छोराछोरी स्कूल नआउने भए जानकारी दिनुपर्ने उनीहरूले बताए।

जलवायु परिवर्तनबारे थप
- सीओपी २६ के हो र किन महत्त्वपूर्ण छ
- जलवायु परिवर्तन मान्छेका कारण भएको प्रमाण के छ?
- मौसमले निम्त्याउने अस्वाभाविक बाढी वा उष्णलहर के 'नयाँ वास्तविकता' बनेको हो
- तपाईँको यौन क्रियाकलापले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ
- जलवायु परिवर्तनमा नेट जिरो भनेको के हो
- के हीराले जलवायु परिवर्तन रोक्न सहयोग गर्छ?





















