कोप २६: यो के हो, किन महत्त्वपूर्ण छ र हामी के अपेक्षा गर्न सक्छौँ

जलवायु परिवर्तन
Published

यसै वर्ष स्कटल्यान्डमा कोप २६ आयोजना हुँदैछ र उक्त कार्यक्रमप्रति उच्च अपेक्षाहरू छन्।

तर वास्तवमा यो के हो? त्यहाँ को गइरहेका छन् र के च्याँखे थापिदैँछ?

जलवायु परिवर्तनसम्बन्धी छलफलबारे तपाईँले थाहा पाउनुपर्ने कुराहरू:

कोप २६ (COP 26) के हो?

सीओपी भनेको 'कन्फरेन्स अफ द पार्टीज्' को छोटो रूप हो।

यो सम्मेलन वार्षिक रूपमा हुने गर्छ र त्यसमा १९७ देशले जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे योजनाहरू बनाउन छलफल गर्छन्।

जलवायु परिवर्तन

यो 'युनाइटेड न्याशन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज'को हिस्सा हो।

त्यो भनेको एउटा अन्तर्राष्ट्रिय सन्धि हो जसमा लगभग सबैजसो देश र क्षेत्रले हस्ताक्षर गरेका छन्।

उक्त सन्धिमा जलवायुमा प्रभाव पार्ने मानवीय गतिविधिलाई सीमित गर्ने प्रावधान र लक्ष्य राखिएका छन्।

कोप २६ भनेको सन् १९९४ मार्च २१ मा उक्त सन्धि लागु भएपछि भएका त्यस्ता वार्षिक सम्मेलनको २६औँ श्रृङ्खला हो।

यसवर्ष स्कटल्यान्डको सबैभन्दा ठूलो सहर ग्लास्गोमा नोभेम्बर १ देखि १२ सम्म उक्त सम्मेलन हुँदैछ।

जलवायु परिवर्तन

कोप २६ कति महत्त्वपूर्ण छ?

अति नै।

कोप २६ सन् २०१५ मा हस्ताक्षर भएको प्यारिस जलवायु सम्झौतापछि हामीले कति प्रगति गर्‍यौँ र कतिमा असफल भयौँ भनेर हेर्ने पहिलो सम्मेलन हो।

प्यारिस सहमति भनेर पनि चिनिने उक्त सम्झौता आधारभूत रूपमा जलवायु विपद्‍बाट बच्ने मानवीय योजना हो।

यसले पूर्वऔद्योगिक कालकै जस्तो विश्व तापमान १.५ डिग्री सेल्सिअसभन्दा माथि गइरह्यो भने पृथ्वीमा हुने कैयौँ परिवर्तनलाई फर्काउन सकिँदैन भनेर पहिचान गरेको छ।

ती सबैलाई कामको चटारोमा रहेका समूहका रूपमा सोच्नुहोस्।

त्यहाँ रहेक व्यक्ति रणनीतिहरूबारे कुरा गर्न र आफूहरूले आफ्नो काम गरिरहेका छौँ भन्ने निश्चित गर्न एक ठाउँमा भेला हुन्छन्।

विनाशकारी जलवायु परिवर्तनबाट बच्नका लागि प्यारिस- कोप २१- मा हामी सबैका लागि लक्ष्य निर्धारण गरिएको थियो।

सबै हस्ताक्षरकर्ताले प्रतिज्ञा गरेका थिए:

  • हरितगृह ग्यासलाई कम गर्ने्
  • नवीकरणीय ऊर्जा उत्पादनलाई बढाउने
  • विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सिअसमा सीमित गर्ने लक्ष्यका साथ त्यसलाई २ डिग्री सेल्सिअसभन्दा तल राख्ने, र
  • जलवायु परिवर्तनको असरसँग जुझ्नका लागि गरिब देशहरूलाई सहयोग गर्न अर्बौँ डलर रकमको प्रतिबद्धता
जलवायु परिवर्तन

त्यसबेला हरेक पाँच वर्षमा भएका प्रगतिको समीक्षा गर्ने पनि सहमति भएको थियो।

त्यस्तो पहिलो समीक्षा सन् २०२० मै कोप २६ का रूपमा हुनुपर्ने थियो तर महामारीका कारण यो २०२१ मा सरेको हो।

महामारीले के फरक पार्‍यो?

महामारीले ठूलो असर पारिदिएको छ र त्यो सम्मेलन एक वर्षपछि सर्नुमा मात्र सीमित छैन।

कोभिडले हामीलाई महामारीपछि आर्थिक पुनरुत्थानबारे सोच्नका लागि अभूतपूर्व अवसर पनि प्रदान गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ग्रेटा टून्बेर्गको अभियान

आफ्ना पूर्ववर्तीले प्यारिस सम्झौताबाट पछि हट्न गरेको निर्णय उल्ट्याएका अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी अर्थतन्त्रको कोरोनाभाइरस पछिको पुनरुत्थान योजनामा जलवायु-मैत्री नीतिलाई उच्च प्राथमिकता दिएका छन्।

कोप २६ मा भेला हुने विश्वका अन्य निर्णयकर्ताले पनि जलवायुलाई सम्बोधन गर्न दीर्घकालीन लक्ष्यहरू राख्ने अपेक्षा गरिएको छ। र, ती लक्ष्यहरू महत्त्वाकाङ्क्षी र साहसी हुने ठानिएको छ।

जलवायु परिवर्तन

कोप २६ बाट के आशा छ?

निकै धेरै। सबैभन्दा पहिले त त्यहाँ धेरै समाधान हुन नसकेका मुद्दाहरू छन्, जुन मड्रिडमा भएको कोप २५ मा उठेका थिए।

तपाईँले स्वीडिश अभियानकर्मी ग्रेटा टून्बेर्गले विश्व नेताहरूलाई जलवायुसम्बन्धी कार्यमा ध्यान नदिएको र वैज्ञानिक प्रमाणहरूलाई बेवास्ता गरेको चेतावनीका साथ भावुक मन्तव्य दिँदै गरेको पुनर्स्मरण गर्नुभयो होला।

तर त्यसले देशहरूलाई उच्च रूपमा विवादित र निर्णायक प्रश्नहरूमा सम्झौतामा पुग्न सहयोग गर्न सकेन।

त्यस्ता मुद्दामा विकासोन्मुख देशहरूका लागि आर्थिक सहायता र जलवायु परिवर्तनका कारण खतरामा परेका देशहरूलाई सहयोग गर्ने कुरा लगायत छन्।

जलवायु परिवर्तन

अर्को अड्किएको विषय हो कार्बन बजार र विक्रीको प्रणालीलाई कसरी उत्कृष्ट तरिकाले चलाउने भन्ने हो।

यो प्रणालीले प्रदूषणकर्ताहरूलाई उत्सर्जनका लागि हरियाली भएका अर्थतन्त्रका निम्ति कार्बन विक्रीको रकम तिर्न अनुमति दिन्छ।

यो सुन्दा निकै ठिक लाग्छ हैन त? तर सोच्नुहोस् त यदि धनी देशहरूले प्रदूषण गर्नका लागि अनुमतिपत्र पाएको जस्तो गरेर पैसा मात्र तिर्ने र साँच्चैको परिवर्तन गर्न ध्यान दिएनन् भने?

अनि कुन देशले कति जङ्गलका लागि कति उत्सर्जनको कति रकम तिर्ने भन्ने कसले निर्धारण गर्ने?

जलवायु परिवर्तन

यदि ग्लास्गो सम्मेलनले यी सबै कुराहरूमा सहमति जुटाउन सक्यो भने पनि, हामी सबै एउटै स्थानमा छौँ भन्ने निश्चय गर्नका लागि राखिएका हरित लक्ष्य प्राप्त गर्न निश्चित समयसीमा आवश्यक पर्छ।

तपाईँले सायद सोच्नुभयो होला त्यो तय गर्न तुलनात्मक रूपमा सहज होला। दुःखपूर्वक भन्नुपर्छ- होइन।

त्यसैले कोप २६ ले उसका आफ्नै नयाँ मुद्दाबारे सम्बोधन गर्नुअघि नै अग्लो पहाड चढ्नुपर्नेछ।

प्रमुख प्राथमिकता भनेको यो शताब्दीको मध्यसम्ममा देशहरूलाई शून्य उत्सर्जनमा पुग्न प्रतिबद्ध बनाउनु हो।

त्यसका लागि सन् २०३० भित्र तीव्र रूपमा कार्बन उत्सर्जन कटौती गर्नुपर्छ।

त्यसबाहेक पनि विविध विषयले यो सम्मेलनमा ठाउँ पाउने छन् र धेरै चुनौतीपूर्ण मुद्दाबारे चर्को बहस हुनेछ।

ग्रेटा यो सम्मेलनमा उपस्थित हुने छैनन्। तर पोप भने विशेष रूपमा उपस्थित हुने चर्चा छ।