अमेरिकी फुटबल प्रशिक्षकले डोनल्ड ट्रम्पले दिने राष्ट्रपतीय पदक नलिने घोषणा

तस्बिर स्रोत, Adam Glanzman
अमेरिकी फुटबलका सबैभन्दा सफल मानिएका प्रशिक्षकले राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदान गर्ने राष्ट्रपतीय मेडल नलिने घोषणा गरेका छन्।
न्यू इङ्ग्ल्यान्ड प्याट्रिअटका प्रशिक्षक बिल बेलिचिकले संसद्मा भएको घटनाका कारण अमेरिकी नागरिकले पाउने सबैभन्दा उच्च 'प्रेजिडेन्शल मेडल अफ फ्रीडम' नलिने बताएका हुन्।
बेलिचिकले सो पदक पाउने खबरले सुरुमा खुसी लागेको तर गत साता ट्रम्प समर्थकहरूले अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनाले आफूले नलिने निर्णय गरेको बताए।
सो घटनामा पाँच जनाको मृत्यु भएको थियो।
बेलिचिकले यसअघि ट्रम्पसँगको मित्रताका विषयमा बोल्ने गरेको थिए।
"हालैमा मलाई प्रेजिडेन्शल मेडल अफ फ्रीडम प्रदान गरिने खबर गरिएको थियो र मलाई यसअघि उक्त मेडल पाएका व्यक्तित्वहरूप्रति मेरो सम्मानका कारण खुसी लागेको थियो," बेलिचिकले एउटा विज्ञप्तिमा भनेका छन्।
"त्यसपछि गत साताको दुःखद घटनाहरू भए र यो सम्मान सम्बन्धमा अगाडि नबढ्ने निर्णय गरियो।"
छवटा सुपर बाउल उपाधि जितेका बेलिचिक अमेरिकी फुटबल लीग एनएफएल इतिहासमा सबैभन्दा सफल प्रशिक्षिक मानिन्छन्।
प्रेजिडेन्शल मेडल अफ फ्रीडम 'अमेरिकाको सुरक्षा वा राष्ट्रिय स्वार्थमा' उत्कृष्ट योगदान दिएका व्यक्तिलाई दिने गरिन्छ।
सन् २०१९ मा ट्रम्पले यो मेडल गल्फ खेलाडी टाइगर वुड्स र स्वर्गीय एल्भिस प्रेज्लीलाई प्रदान गरेका थिए।




















