कोरोना भाइरस नेपालः थप २१ सय जनामा सङ्क्रमण, १३ जनाको मृत्यु

तस्बिर स्रोत, Getty Images
विगत २४ घण्टामा नेपालभरि थप २,१११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा कुल ९,५३३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख छ हजार नाघेको छ।
अहिलेसम्म नेपालमा १,२०२ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिले थप ३,५३७ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा अहिले पुष्टि भएका ३७,०२२ जना सक्रिय सङ्क्रमित छन्।
अहिलेसम्म १,६८,१२९ जना निको भएको सरकारी तथ्याङ्क छ।
सङ्क्रमितहरू निको हुने दर ८१.५ प्रतिशत पुगेको छ।
बुधवार २,५६९ जनामा सङ्क्रमण पुष्टि हुँदा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघेको थियो।
बिहीवार १,९१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


को हुन् सङ्क्रमित?
शुक्रवार दिइएको विवरणमा सङ्क्रमितमध्ये ८५४ जना महिला र बाँकी पुरुष भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये काठमाण्डूमा ९१९ जनासहित १,२०७ जना छन्।
यो फेला परेका सङ्क्रितको सङ्ख्याको आधाभन्दा बढी हो।
अहिले उपत्यकाका तीन जिल्लामा २० हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
अरू तथ्याङ्क के छ?
मन्त्रालयका अनुसार अहिले देशभरि २९,०४९ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन्।
तीमध्ये काठमाण्डूमा ११,३८७, भक्तपुरमा १,०१४ र ललितपुरमा २,००८ जना घरमै छन्।
उपत्यकामा अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ५४ प्रतिशत भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३८७ जना सघन उपचार कक्षमा र ८७ जना भेन्टिलेरमा छन्।





















