म्याराडोनाको 'ह्यान्ड अफ गड' र ओझेल परेको दोस्रो 'उत्कृष्ट' गोल

डिएगो म्याराडोनाले बललाई मुड्कीले जालीतर्फ हान्दाको दृश्य, उनका एकदम नजिकै पीटर शिल्टन देखिन्छन्

तस्बिर स्रोत, Archivo El Grafico/Getty Images

    • Author, लूर्डेस एरेडिआ
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ७ मिनेट

म त्यहाँ जाने कुरा थिएन।

म १७ वर्षकी थिएँ र कहिल्यै पनि फुटबल खेल हेर्न गएकी थिइनँ। तर त्यो अपराह्न मेक्सिको सिटीको अज्टेका रङ्गशालामा विश्वकप क्वार्टरफाइनलअन्तर्गतको आर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको खेल हेर्न लागिरहेकी थिएँ र त्यो दिन मैले यस्तो कुरा देख्न लागेकी थिएँ, जुन मैले वर्षौँपछि मात्रै पूर्ण रूपमा बुझ्न सकेँ।

त्यस बिहान हाम्रो कुनै पनि योजना थिएन। त्यसपछि फोन बज्यो। मेरो बुवाका साथीसँग दुईवटा टिकट थिए, जुन उनले प्रयोग गर्न सक्दैनथे।

के म र मेरी आमा इच्छुक छौँ भनेर हामीलाई सोधियो।

मेरा बुवा आफ्नी 'राजकुमारी' लाई पठाउने या नपठाउनेमा स्पष्ट हुनुहुन्नथ्यो। फोक्ल्यान्ड युद्ध सकिएको पाँच वर्ष पनि पुगेको थिएन अनि आर्जेन्टिना र इङ्ग्ल्यान्डका समर्थकहरूबीच तनाव बढेर झडप हुन्छ कि भन्ने चिन्ता बुवालाई थियो।

तर मेरी आमा हिचकिचाउनुभएन। जे भए पनि, यो विश्वकप थियो। जिन्दगीमा एक पटकको अवसर थियो, उहाँ आफ्नी छोरीलाई यो अवसर गुमाउन दिन नहुने पक्षमा हुनुहुन्थ्यो।

मेरो देश मेक्सिकोमा विश्वकप भइरहको थियो र सबैले हाम्रो राष्ट्रिय टोलीलाई लिएर खुसी मनाइरहेको जस्तो देखिन्थ्यो। हाम्रा सूपरस्टार खेलाडी ह्यूगो सान्चेजले अपेक्षा गरिएअनुसार खराब खेलिरहेका थिएनन्।

मेक्सिको क्वार्टरफाइनल चरणबाट बाहिरिएको थियो र त्यो हाम्रो विश्वकपकै सर्वाधिक उत्कृष्ट प्रदर्शन थियो। सन् १९७० को फिफा विश्वकपमा पनि मेक्सिको क्वार्टरफाइनलमा पुगेको थियो।

'अभूतपूर्व उत्साह'

लूर्डेस एरेडिआ हाँस्दै क्यामेरालाई छेउबाट हेरिरहेको अवस्थामा

तस्बिर स्रोत, Lourdes Heredia

तस्बिरको क्याप्शन, म भोजमा लगाउनेजस्तो पोसाक लगाएर फुटबल हेर्न गएकी थिएँ

हामी सहर काटेर जाने क्रममा बाटोबाट नै उत्साह सुरु भइसकेको थियो। कारका झ्यालबाट झण्डाहरू हल्लिरहेका थिए, अपरिचित व्यक्तिहरूले सडकमा नारा लगाइरहेका थिए र 'रिङरोड'वरिपरिका भवनमा उत्साह महसुस गर्न सकिन्थ्यो।

हाम्रो टोली प्रतियोगिताबाट बाहिरिसकेको भए पनि अरूसँगै मिसिएर मैले "मेक्सिको जिन्दावाद' भन्दै नारा लगाएँ। फुटबलले मेरा लागि धेरै महत्त्व राख्दैनथ्यो तर उक्त क्षणको हिस्सा बन्नु महत्त्वपूर्ण थियो।

मैले त्यसलाई खेलभन्दा पनि 'पार्टी' (भोज)का रूपमा लिइरहेकी थिएँ। मैले राम्रो लुगाएँ। चाहिनेभन्दा धेरै शृङ्गार गरेँ र रङ्गशालामा विश्वविख्यात खेलाडीभन्दा पनि सुन्दर फुटबल समर्थकहरू हुने छन् भन्ने कल्पना गरेँ। मेरी आमा अच्चम्ममा पर्नुभयो तर उहाँले खासै वास्ता गर्नुभएन।

अज्टेकामा सबै थोक अभूतपूर्व थियो। हल्ला, रङ्ग र पुरा विश्व नै एक ठाउँमा उभिएको अनुभव, कहाँकहाँबाट आएका समर्थकहरू गीत गाइरहेका थिए, हाँसिरहेका थिए, रङ्गिविरङ्गी पोसाक लगाएका थिए भने अनुहारमा रङ्ग पोतेका थिए। खेलभन्दा पनि त्यहाँ उपस्थित हुँदाको रोमाञ्चक अनुभवबारे मैले सोचिरहेकी थिएँ।

अज्टेका रङ्गशालामा इङ्ङ्ल्यान्ड र आर्जेन्टिनाका समर्थकहरू रमाइरहेको अवस्थामा, श्यामश्वेत तस्बिरमा समर्थकहरूले आर्जेन्टिना र इङ्ग्ल्यान्डको झण्डा बोकिरहेका छन्

तस्बिर स्रोत, Monte Fresco/Daily Mirror/Mirrorpix via Getty Images

तस्बिरको क्याप्शन, आर्जेन्टिना र इङ्ग्ल्यान्ड दुवैका प्रशंसकहरूले म्याराडोनाको दोस्रो गोलको प्रशंसा गरेका थिए

जब खेल सुरु भयो, मैले मैदानमा के भइरहेको छ भन्ने कुरालाई खासै ध्यान दिइनँ। म भिडसँगै 'मेक्सिकन वेभ'मा झुमिरहेकी थिएँ। फुटबल टाढाको जस्तो, लगभग सहायकजस्तो बनिरहेको थियो।

अकस्मात् सबै जना आआफ्ना ठाउँमा उभिए। एक सेकेन्डका लागि त्यहाँ पूर्ण खुसियाली थियो, त्यसपछि अन्यौल, वादविवाद र विभिन्न दिशाबाट हल्लाहरू आइरहेका थिए।

जति बेला म्याराडोना शिल्टनसँगै बलका लागि हावामा उडे र आफ्नो पहिलो गोल गरे, त्यही क्षणले मेरा लागि सबै कुरा बदलियो। अक्स्मात् मेरा लागि फुटबलले अर्थ राख्न थाल्यो। मेरो वरपरका मानिसहरूले प्रश्न गर्न थाले - वास्तवमै यो गोल हो कि होइन? के उनले टाउकाले हानेर बललाई जालीमा पसाए वा त्यो उनको हात थियो, जसले त्यसलाई भित्र पसायो? इङ्ग्ल्यान्डका समर्थकहरूको चर्को असन्तुष्टि त्यस बेला सुन्न सकिन्थ्यो।

मेरो छेउमा एक जना व्यक्ति औपचारिक टाईसूटमा थिए। उनी सम्भवतः सोझै कामबाट आएका थिए र उनले मिहिन ढङ्गले खेलबारे छलफल गरिरहेका थिए र धेरै जानकार सुनिन्थे। म केही अलमलमा थिएँ र मैले उनलाई सोधेँ, "के भयो?" उनले भने कि म्याराडोनाले बललाई हातले जालीमा पसाइदिए तर रेफरीले देखेनन् अनि त्यसलाई गोलका रूपमा मान्यता दिए।

म अक्क न बक्क भएँ। हामीले भर्खरै जे देखेका थियौँ, त्यो विश्व खेल इतिहासकै सर्वाधिक चर्चाको विषय बन्ने छ भनेर मैले एक मनले पनि सोचिनँ। मेरा लागि त्यो तल मैदानमा भएको एउटा घटना थियो, जसबारे मेरो वरपरको भिडले छलफल गरिरहेको थियो।

समयक्रममा विश्वभर त्यो 'ह्यान्ड अफ गड' अर्थात् 'ईश्वरको हातले गरेको' गोल बन्न पुग्यो। म्याराडोना बहुचर्चित 'ह्यान्ड अफ गड' शब्दावलीका आविष्कारक थिए। "(उक्त गोल) थोरै मेरो टाउकोले र अलिकति ईश्वरको हातले (गरेको थियो)," उनले भनेका थिए।

म्याराडोनाको मृत्युको पहिलो वार्षिकीमा उनको अनुहारको आकृतिसहितको ऐतिहासिक टीशर्ट इटलीको नेपल्समा झुन्ड्याइएको अवस्थामा

तस्बिर स्रोत, Laura Lezza/Getty Images)

तस्बिरको क्याप्शन, सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डसँगको खेलमा भएको विवादमा म्याराडोनालाई सधैँ जोड्ने गरिन्छ

अनि दोस्रो गोल

म्याराडोनाले कैयौँ इङ्ग्लिस फुटबल खेलाडीमाझ ड्रिब्लिङ गरिरहँदा इङ्ग्ल्यान्डका गोलरक्षकले डाइभ गरिरहेको दृश्य

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, 'ह्यान्ड अफ गड'को ४ मिनेटपछि म्याराडोनाले गरेको दोस्रो गोल पहिलो गोललाई लिएर भएका विवादका कारण ओझेलमा पर्‍यो

त्यस दिन हामीले जे देखेका थियौँ, रङ्गशालामा त्यसलाई लिएर यतिबिघ्न बहस भइरहेको थियो कि चार मिनेटपछि म्याराडोनाले गरेको दोस्रो गोल हामी सबैले लगभग राम्रोसँग हेर्न पाएनौँ।

त्यस दिन रङ्गशालामा उपस्थित हजारौँमध्ये एकका रूपमा उपस्थित भएको सम्झिँदा 'ह्यान्ड अफ गड' नभई मलाई दोस्रो गोलको याद तुरुन्तै आउँछ। पहिलेजस्तो नाटकीय क्षण नभए पनि म्याराडोनाले बललाई लिएर अघि बढिरहँदा पूरै रङ्गशालामा मौनता छाएको थियो।

म्याराडोना मैदानमा छाएका थिए। एक कुनाबाट अर्को कुना, अनि ड्याम्म बलले जाली चुम्यो। रङ्गशालाभर गडगडाहट सुनियो।

म सम्झन्छु कि त्यस बेला मैले सोचेँ, "यही कारणले मानिसहरूले फुटबललाई मन पराउँछन्। मैले त्यो बुझ्न थालेँ।"

मैले वरपर हेरेँ। पहिलोभन्दा फरक, यो गोललाई लिएर सबैले खुसियाली मनाइरहेका थिए र त्यसमा कतिपय इङ्ग्ल्यान्डका समर्थकहरू पनि थिए।

म्याराडोनाको ग्राफिक्स

भावुकता

आर्जेन्टिनाले २-१ अन्तरले इङ्ग्ल्यान्डलाई पराजित गरेको उक्त चर्चित खेलपछि म र मेरी आमा रङ्गशालाबाट बाहिर निक्लिएर आफ्नो कारतर्फ अघि बढ्यौँ। हामीले भर्खरै देखेको फुटबलबारे सबै कुरा बिर्सिसकेका थियौँ। वरपरको रमाइलो माहौलमा मेरो बढ्ता रुचि थियो।

त्यो क्षणमा खेलभन्दा पनि आफ्ना चार घेराभित्र मेक्सिकोको इतिहासको यति धेरै कुरा समेटेको अज्टेका रङ्गशालाभित्र प्रवेश गर्न पाएकामा म आफूलाई सम्हाल्न सकिरहेकी थिइनँ। त्यो एउटा रङ्गशाला मात्र थिएन, हाम्रो इतिहासको साझा सम्झना पनि थियो।

त्यस बेला पनि मेक्सिको सिटीको सम्पूर्ण हिस्सालाई भग्नावशेषमा बदलेको र पुरै सहरमा धुलो तथा ध्वंसको गन्ध निम्त्याएको सन् १९८५ को विनाशकारी भूकम्पलाई मैले सम्झिरहेँ। मलाई थाहा थियो, अज्टेका शरणका लागि एउटा महत्त्वपूर्ण स्थान थियो र सबै कुरा गुमाएका परिवारहरूले आवास र आशा पाएका थिए। त्यहाँ उपस्थित हुँदा म भावुक भएकी थिएँ तर बाहिर खुसियाली र जीवन्त माहौल थियो।

म र आमा हिँडिरहँदा हामीले सडकमा किनेर टाको अनि खुर्सानी र कागतीमा डुबाइएका फलफूलहरू खायौँ र हामीहरूलाई मेक्सिकन भएकामा अपार गर्व अनुभव भयो। हामीले उज्याला रङ्गहरू र 'सोम्ब्रेरो' भनिने मेक्सिकोको संस्कृतिमा आधारित टोपीलाई हास्य र आत्मविश्वाससँग कसरी आत्मसात् गर्‍यौँ भन्नेबारे पनि छलफल गर्‍यौँ र विश्वकप आयोजकका रूपमा हामीले कसरी न्यानोपन, हाँसो र उदारता साट्यौँ भन्नेबारे पनि कुरा गर्‍यौँ।

'सोम्ब्रेरो' लगाएको विश्वकपको मास्कट

तस्बिर स्रोत, George Tiedemann/Sports Illustrated via Getty Images

तस्बिरको क्याप्शन, 'सोम्ब्रेरो' लगाएको विश्वकपको मास्कट

वर्षौपछि मैले साँच्चिकै जादुमय क्षणको प्रत्यक्षदर्शी बनेको कुरा बुझ्न पाएँ। तर अचम्म, त्यो खेल हेर्न मैदान पुगेपछि पनि फुटबल मेरा लागि कहिल्यै पनि रोमाञ्चक बनेन तर त्यो विशेष क्षण भने मनमा बसिरह्यो।

हो, पहिलो गोल विवादास्पद थियो र त्यसले त्यो दिन मेरो आसपास रहेकाहरूलाई मात्रै होइन, वर्षौँसम्म संसारभरका मानिसहरूलाई क्रोधित बनायो।

तर जब म आर्जेन्टिनामा बस्न र त्यहाँ काम गर्न थालेँ, मानिसहरूले नियमित रूपमा 'ह्यान्ड अफ गड' को कुराहरू बाहिर ल्याउने गर्थे।

मेरा आर्जेन्टिनी साथीहरूले मेरा अङ्ग्रेज सहकर्मीहरूलाई त्यो कुरा सम्झाउने मौका कहिल्यै छुटाउँदैनथे।

तर त्यसो गर्दा त्यो दोस्रो गोल कति अद्भुत थियो भन्ने कुरा बिर्सने गरिन्छ। मैले मेरो आँखाले नदेखेको भए त्यो पत्याउन मलाई नै गाह्रो हुन्थ्यो।

व्यक्तिगत रूपमा म त्यसबारे आफ्ना भवना पोख्न आतुर हुने थिएँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।