बेइरुत विस्फोट: एक महिनापछि भग्नावशेषमा एकजना मानिस 'जीवितै हुनसक्ने' सङ्केत

बेइरुत
Published

बेइरुतमा रहेका खोजकर्ताहरूले एक महिनाअघि त्यहाँ भएको शक्तिशाली विस्फोटनमा ध्वस्त भएको एउटा भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जीवितै हुनसक्ने सङ्केत पाएको बताएका छन्।

बुधवारदेखि लेबननको राजधानीस्थित एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको भन्ने अपुष्ट खबरहरू आएका थिए।

भग्नावशेष हटाउने क्रेनको अभावमा रातभरि खोजीकार्य रोकेर शुक्रवार बिहानैबाट पुन: त्यो सुरु हुँदैछ।

घटनास्थलबाट कस्तो सङ्केत आएको छ?

बुधवार राती खोजकर्ताहरू उक्त भवन नजिक पुग्दा उनीहरूको कुकुरले त्यहाँ जीवितै मानिसको सङ्केत दिएको थियो।

बिहीवार बिहान उनीहरू त्यहाँ फर्कँदा समेत अनुसन्धानमा प्रयोग भएको उक्त कुकुरले सोही ठाउँमा अघिल्लो दिनको जस्तै सङ्केत गर्‍यो।

त्यसपछि उक्त समूहले त्यहाँ स्क्यानर प्रयोग गरेर मुटुको धड्कन वा सासको सङ्केत खोज्दै भग्नावशेष हटाउने काम सुरु गरेका थियो।

एकजना उद्धारकर्ताले भग्नावशेषमा दुई मिटर मुनि मुटुको चाल रेकर्ड भएको र तापक्रमको सेन्सरसँग समेत त्यो मेल खाएको जनाएका छन्।

पुरिएको ठानिएका व्यक्तिले दिनसक्ने सङ्केतहरू सुन्न सकियोस् भनेर भग्नावशेष हटाउने काम भइरहँदा मानिसहरूलाई बारम्बार शान्त रहन आग्रह गरिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बेइरुत विस्फोट: बीबीसी कार्यालयमा अन्तर्वार्ता भइरहेको क्षण

चमत्कारको आशा

बिहीवार सबेरैदेखि चिलेका खोजकर्ताहरूले काम सुरु गर्दा मानिसहरू भवन वरपर जम्मा भएर चमत्कारको आशा गरेका छन्।

तर ती मानिस भग्नावशेषमा अझै जीवित रहे/नरहेकोबारे केही स्पष्ट छैन।

बिहीवार नै घटनास्थलमा रहेका केही मानिसहरूले रातभरि काम गर्न आह्वान गरेका थिए।

बेइरुत

तर त्यहाँ भवन थप भत्कन सक्ने जोखिम रहेको भन्दै स-साना समूह बनाएर काम गरिएको छ।

घटना

बेइरुत बन्दरगाहामा २७५० टन अमोनियम नाइट्रेट विस्फोट हुँदा अगस्ट पहिलो साता त्यहाँ २ सय भन्दा धेरै मानिसहरू मारिएका थिए।

त्यसको असरस्वरूप करिब तीन लाख मानिसहरू घरबारविहीन भएका छन्।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

Beirut's devastated port (11 August 2020)

तस्बिर स्रोत, EPA

एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना भएको बताइएको थियो।

उक्त विस्फोटनसँगै विकसित घटनाक्रममाझ लेबननको सरकारले राजिनामा दिएको थियो।