बेइरुत विस्फोट: नेपालीहरूको 'युद्धमा बचे झैँ अनुभव' तर रोजगारीमा सङ्कटको त्रास

बेइरुत

तस्बिर स्रोत, Reuters

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

मङ्गलवार बेइरुत बन्दरगाहमा भएको भयानक विस्फोटबाट त्यहाँ रहेका नेपालीहरूमा कुनै भौतिक क्षति भएको विवरण छैन।

तर त्यसले उनीहरूले झेलिरहेको रोगजारीको सङ्कटलाई झन् बल्झाइदिएको उनीहरूको भनाइ छ।

"गत वर्षको अक्टोबरबाट हामीले डलर सङ्कट झेल्यौँ, त्यसपछि कोरोनाभाइरस र अहिले यो विस्फोटले हामीलाई पीडामाथि पीडा थपेको छ," ११ वर्षदेखि त्यहाँ काम गरिरहेकी पोखराकी सरु गुरुङले भनिन्।

राजनीतिक अस्थीरताबीच आर्थिक सङ्कटग्रस्त त्यहाँ गत वर्षको अन्त्यबाट अमेरिकी डलरसँग लेबनन पाउन्ड निकै कमजोर भइरहेको छ।

कोरोनाभाइरस महामारीले त्यहाँ धेरैजसो उद्योग बन्द छन् भने घरयासी रेखदेखमा काम गर्ने धेरैजसो नेपालीहरू पहिले जसरी काममा जान पाएका छैनन्।

पछिल्लो विस्फोटको असर त्यहाँका थुप्रै क्षेत्रमा लामो समयसम्म पर्ने आकलन भइरहेको छ।

'युद्धमा बचेजस्तो अनुभूति'

अगस्ट ४ का दिन साँझ गुरुङ बेइरुत बन्दरगाह आसपासको एउटा रेष्टुराँको खुला भागमा बसिरहेकी थिइन्।

अचानक आएको 'निकै ठूलो' आवाजले एकछिन त कानले 'सुन्न छाडेजस्तो' भएको अनुभव उनले सुनाइन्।

"रेष्टुराँका सिसा झर्‍याम्झुरुम भए, कुर्सी-टेबल उफ्रिए," उनले बीबीसीलाई सुनाइन्।

"भुईँ हल्लियो, हामीहरू पनि फिल्ममा झैँ हल्लियौँ, न भाग्ने ठाउँ पायौँ न लुक्ने।"

उनका अनुसार शहरका सडक हेर्दाहेर्दै धूँवा र धूलोले अन्धकार झैँ भयो।

सरु गुरुङसँग ध्वस्त भएको बन्दरगाहा क्षेत्रमा घुम्न गएका थुप्रै स्मृतिहरू छन्

तस्बिर स्रोत, Courtesy of Saru Gurung

तस्बिरको क्याप्शन, सरु गुरुङसँग ध्वस्त भएको बन्दरगाह क्षेत्रमा घुम्न गएका थुप्रै स्मृतिहरू छन्

बिजुली पनि गएपछि त्यसबेलाको त्रासदी सम्झँदा पनि ज्यान काप्ने उनी बताउँछिन्।

"हामी सबैको मनमा कसैले हमला गर्यो र युद्ध सुरु भयो भन्ने मात्र लागिरह्यो," त्यो क्षण सुनाउँदै उनले भनिन्।

"हतारहतार घर पुग्दा बाटोमा कहीँ केही सद्दे थिएन, सबैजसो घरका सिसा फुटेका, सटर तोडिएका वा झ्यालढोका निस्केका थिए। गाडीहरू ध्वस्त थिए।"

अहिले जब उनी त्यो क्षण सम्झन्छिन् वा शहरलाई कोठाबाटै चियाउँछिन् उनलाई 'युद्धको बीचमा फसेको र आफू बचेजस्तो' लाग्छ।

अर्को एउटा 'सङ्कट'

अमेरिकी डलरसँग स्थानीय मुद्रा निकै कमजोर भएपछि त्यहाँ काम गर्ने नेपालीहरूको आम्दानी लामो समयदेखि खस्किएको थियो।

त्यहाँको एउटा छापाखानामा काम गर्ने मोरङ्गका कृष्ण घिमिरे भन्छन्: "यहाँ काम गर्ने धेरैले स्थानीय मुद्रामै तलब बुझ्छन्। त्यसमाथि थुप्रैको भएकै जागिर पनि कोरोनाभाइरसले खाइदियो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, बेइरुतको डरलाग्दो विस्फोट: दर्जनौँको मृत्यु, हजारौँ घाइते

उडानहरू चल्न थालेपछि अधिकांश नेपालीहरू घर फर्कने मनस्थितिमा रहेको घिमिरे सुनाउँछन्।

"यो विस्फोटले थप के दु:ख दिने हो थाहा छैन। थोरै मानिसहरू भएको भन्दै चाटर्ड उडान हुन नसकेर हो नत्र अब घर फर्किनुको विकल्प छैन।"

घरेलु कामदारको रूपमा काम गर्ने महिला कामदारहरू प्रतिघण्टाको हिसाबले काम गर्ने भएकाले उनीहरूमा थपिएका यी सङ्कटको मार झन् धेरै परेको बताइएको छ।

यतिखेर त्यहाँको केन्द्रीय ब्याङ्कले एक सय अमेरिकी डलरसँग तीन लाख ९० हजार लेबनानी पाउन्ड सटही गर्न सकिने बताए पनि बजारमा त्यो दर आठ लाख पचास हजारसम्म लिने गरिएको नेपालीहरू बताउँछन्।

गैरआवासीय नेपाली सङ्घ लेबननका महासचिव प्रयास दाहाल सुनाउँछन्: "यो आर्थिक मन्दीले हामीलाई निल्नु न ओकल्नु बनाएको छ। नेपालीहरूलाई यहाँ बस्ने अवस्था छैन तर घर फर्कंदा दु:ख गरेर जम्मा गरेको पैसाको मूल्य झन् केही आउँदैन।"

मन्दीअघि त्यहाँ डेढ लाख लेबनानी पाउन्डको एक सय अमेरिकी डलरमा कारोबार हुने गरेको नेपालीहरूको भनाइ छ।

Prayash Dahal
Prayash Dahal
डलर सङ्कटले हामीलाई निल्नु न ओकल्नु बनाएको छ। नेपालीहरूलाई यहाँ बस्ने अवस्था छैन तर घर फर्कंदा दु:ख गरेर जम्मा गरेको पैसाको मूल्य झन् केही आउँदैन।
प्रयास दाहाल, महासचिव
गैरआवासिय नेपाली सङ्घ लेबनन

"सङ्कट यस्तो छ कि हामीले सरकारले तोकेको भाउमा समेत सटही गर्न पाउँदैनौँ। खाद्यान्नजस्ता अत्यावश्यक आयातबाहेक सरकारले नै डलर सटही नगर्ने नीति लिएको छ। त्यसैले गैरकानुनी मुद्रा बजार यहाँ सामान्य दैनिकी जस्तो छ," दाहालले भने।

डलर सङ्कट चुलिँदा महङ्गी समेत त्यसैगरी बढे पनि विदेशी श्रमिकहरूको तलब भने नबढेको नेपालीहरू बताउँछन्।

नेपालको परराष्ट्र मन्त्रालयको विवरण अनुसार लेबननमा १२,००० भन्दा बढी नेपालीहरू कार्यरत छन्।

खुसी र आक्रोश

त्यहाँ काम गरिरहेका नेपालीहरूका अनुसार यतिखेर बेइरुत र आसपासमा बस्ने मानिसहरूमा एकातर्फ ज्यान जोगिएकोमा खुसी र अर्कोतर्फ विस्फोटको कारण मानिएको रसायन भण्डारणमा देखिएको हेलचेक्रयाइँप्रति रोष देखिन्छ।

"दिउँसो वा एक-डेढ घन्टा अगाडि पड्किएको भए नेपालीहरू नै जसलाई जे पनि हुन सक्थ्यो। त्यो घुम्न जाने ठाउँ पनि हो, बसपार्क पनि छ," कृष्ण घिमिरेले सुनाए।

बेइरुत

तस्बिर स्रोत, Reuters

त्यही भएर पनि स्थानीय नागरिकहरू नै 'सरकारले मानिसहरूको जीवनसँग खेलवाड' गरेको भन्दै क्रुद्ध प्रतिक्रिया दिइरहेको बेइरुतका नेपालीहरू बताउँछन्।

सरु गुरुङलाई समेत मङ्गलवार राति उनी काम गर्ने जापानी परिवारबाट फोन आएको थियो।

जो त्यही दिन दिउँसो जापान फर्किएका थिए र एक महिनाका लागि साँझ घरमा काम गर्न आउनु नपर्ने भनेका थिए।

बन्दरगाह नजिकै समुद्रतर्फ फर्केको ती जापानी नागरिकको अपार्टमेन्ट त निकै नराम्ररी भत्किएको छ।

गुरुङले सुनाइन्: "हामीहरूले दुवैलाई नयाँ जीवन पाएकोमा बधाई दियौँ।"