रोबर्ट ट्रम्प: अमेरिकी राष्ट्रपतिका भाइको अस्पतालमा निधन

आफ्ना दाजुले सन् २०१६ मा राष्ट्रपतीय चुनाव जितेपछिको दृष्यमा रोबर्ट ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आफ्ना दाजुले सन् २०१६ मा राष्ट्रपतीय चुनाव जितेपछिको दृष्यमा रोबर्ट ट्रम्प
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना 'मिल्ने साथी' र कान्छा भाइ रोबर्टको ७१ वर्षको उमेरमा निधन भएपछि श्रद्धाञ्जली व्यक्त गरेका छन्।

"म दु:खका साथ भन्छु मेरा भाइ रोबर्टको आज राति मृत्यु भएको छ," राष्ट्रपति ट्रम्पले शनिवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

राष्ट्रपति ट्रम्पले भाइको मृत्यु हुनु एक दिन अघि न्यू योर्कस्थित अस्पतालमा भेट्न गएर फर्कँदा सञ्चारकर्मीलाई भनेका थिए, "उनलाई गाह्रो भइरहेको छ।"

रोबर्टको मृत्यु के कारणले भयो भन्ने स्पष्ट छैन।

ट्रम्पका दाजुभाइ दिदीबहिनीको

तस्बिर स्रोत, Trump Campaign

तस्बिरको क्याप्शन, ट्रम्पका दाजुभाइ दिदीबहिनीको तस्बिर (बायाँदेखि दायाँ) रोबर्ट, एलिजाबेथ, फ्रेड, डोनल्ड, मेरियन

केही अमेरिकी मिडियाले उनी गम्भीर बिरामी भएको बताएका थिए।

"उनी मेरा भाइ मात्रै थिएनन्, मेरा मिल्ने साथी पनि थिए," डोनल्ड ट्रम्पले शनिवार जारी गरेको विज्ञप्तिमा जनाएका छन्। "उनको सम्झना मेरो मनमा सदैव रहिरहने छ।"

राष्ट्रपति ट्रम्पका छोरा एरिकले उनका काकाबारे भनेका छन्, "अदभूत मान्छे- बलिया र दयालु पनि।"

उनले ट्विटरमा लेखेका छन्, "हाम्रो पूरा परिवारले उनलाई सम्झिरहनेछ।"

भाइलाई भेट्न अस्पताल पुगेका डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भाइलाई भेट्न अस्पताल पुगेका डोनल्ड ट्रम्प

रोबर्ट फ्रेड र मेरी एनी ट्रम्पका पाँच जना छोराछोरीमध्ये सबभन्दा कान्छा थिए र डोनल्ड ट्रम्प भन्दा दुई वर्ष कान्छा।

सबभन्दा जेठा फ्रेड जुनियरको सन् १९८१मा निधन भइसकेको छ।

रोबर्ट ट्रम्प पारिवारिक घरजग्गा व्यवसायमै एक उच्च अधिकारीका रूपमा संलग्न थिए। आफ्ना दाजुको विपरीत उनी प्रचार प्रसारमा थिएनन् र न्यू योर्क राज्यमा झन्डै झन्डैअवकाश जस्तै जीवन बिताइरहेका थिए।

उनी हालै उनकी भतिजी मेरी ट्रम्पको राष्ट्रपति ट्रम्पबारेको पुस्तक 'हाउ माइ फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान' छाप्नबाट रोक्न अदालत गएका थिए। उनको प्रयत्न सफल भएन।

न्यू योर्क पोस्टका अनुसार रोबर्टले म्यानहटस्थित माउन्स सिनाइ अस्पतालमा गएको जून महिनामा एक हप्ता भन्दा बढी समय आईसीयूमा रहेका थिए।