इन्डोनेशिया बाली: इनारमा खसेर छ दिनसम्म फसेका एक ब्रिटिश नागरिकको उद्धार

तस्बिर स्रोत, AFP
इन्डोनेशियाको बालीमा एउटा इनारमा खसेका एक ब्रिटिश नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको छ।
कुकुरले लखेट्दा २९ वर्षीय ज्याकोब रोबर्ट्स पेकाटु गाउँमा रहेको चार मिटर गहिरो इनारमा खसेका थिए र उनको खुट्टा भाँच्चियो।
इनारमा धेरै पानी नभएको र त्यो सुक्न लागेको भएपनि खुट्टा भाँच्चिएका कारण उनी उक्लेर बाहिर निस्कन नसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले लेखेको छ।

तस्बिर स्रोत, BASARNAS BALI
प्रत्यक्षदर्शीहरूका अनुसार इनारमा अलिकति पानी भएका कारण रोबर्ट्स जीवितै रहन सके।
सुनसान क्षेत्रमा आफ्नो गाईवस्तुलाई घाँस खोजिरहेका एक स्थानीय बासिन्दाले रोबर्ट्सले चिच्याएर सहयोग मागेको सुने र स्थानीय निकायलाई जानकारी गराएको बाली सन पत्रिकाले लेखेको छ।
"उनी दुब्ला र घाइते देखिन्थे," साउथ कुटाका प्रहरी प्रमुख युसाक अगस्टिनस् सुआईले भने।
स्थानीय उद्धार अधिकारी गेडे डारमडाका अनुसार तीन जना उद्धारकर्ताले एउटा स्ट्रेचरको सहायताले रोबर्ट्सलाई बाहिर निकालेका थिए।

तस्बिर स्रोत, BASARNAS BALI
रोबर्ट्सलाई स्थानीय अस्पतालमा लगिएको छ।
बालीको चर्चित पर्यटकीय क्षेत्र नुसा डुआको नजिकै पेकाटु गाउँ रहेको छ।
रोबर्ट्स किन सो गाउँमा पुगे भन्ने स्पष्ट छैन।
बाली कोरोनाभाइरसका कारण महिनौँदेखि लकडाउनमा छ र केही पर्यटकीय स्थानहरू बल्ल बिस्तारै खुल्न थालेका छन्।




















