कोरोना भाइरस: अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको ट्रम्पको घोषणा, चीनको 'कठपुतली' भएको आरोप

Trump speaks at the White House

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्पले डब्लू एचओमाथि बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाएका छन्
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले नाता तोडेको बताएका छन्।

उनले कोरोनाभाइरस फैलने कुरामा डब्ल्यूएचओले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, "डब्ल्यूएचओमा चीनको पूर्णत: नियन्त्रण रहेको छ।"

अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको रकम वाशिङ्टनले अन्य निकायहरूलाई प्रदान गर्ने पनि ट्रम्पले बताए।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै रकम प्रदान गर्नेमध्येमा पर्छ।

उसले गत वर्ष ४० करोड अमेरिकी डलर प्रदान गरेको थियो।

World Health Organization Director-General Tedros Adhanom Ghebreyesus delivers a speech during the opening of the World Health Assembly virtual meeting from the WHO headquarters in Geneva

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरोनाभाइरस महामारी व्यवस्थापनबारे डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले आलोचना खेप्दै आएका छन्

यसै वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुनका लागि चुनावी अभियान गरिरहेका ट्रम्पलाई महामारी व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्ने गरिएको छ।

उनले भने चीनलाई कोरोनाभाइरस महामारी लुकाएको आरोप लगाउँदै आएका छन्।

कोभिड-१९ का कारण अमेरिकामा १ लाख २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

अमेरिका महामारीका कारण विश्वमै सबैभन्दा धेरै मानिसहरूको निधन भएको मुलुक बन्न पुगेको छ।

ट्रम्पले के भने?

"आज हामी डब्ल्यूएचओसँगको सम्बन्ध तोड्दैछौँ र त्यो रकमलाई अन्य विश्वव्यापी जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउँछौँ," ह्वाइटहाउसमा सञ्चारकर्मीसँग बोल्दै उनले भने।

"चिनियाँ सरकारको दुर्भावनाका कारण अहिले विश्व पीडित भइरहेको छ।"

उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पार्न चीनले दबाव दिएको आरोप पनि लगाए।

ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई रकम नदिने बताएका थिए।

उनले डब्ल्यूएचओको प्रमुखलाई गत मे १८ मा पत्र लेख्दै असहमति व्यक्त गरेका थिए।

पछि उनले डब्ल्यूएचओलाई चीनको "कठपुतली" भएको आरोप लगाएका थिए।

चीनले भने अमेरिकामा भाइरस फैलिनुमा अमेरिका स्वयम् जिम्मेवार रहेको बताएको छ।

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले कोरोनाभाइरस महामारीबारे चालिएका कदमहरूको एउटा स्वतन्त्र छानबिन गर्ने निर्णय गरिसकेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर