कोरोना भाइरस: डोनल्ड ट्रम्प भन्छन्, ‘कोभिड-१९ महामारी फैलाएकाले चीनमाथि गम्भीर अनुसन्धान'

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले "अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको" बताएका छन्।
गत शुक्रवारपछि पहिलो पटक कोरोनाभाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गरेका हुन्।
उनले ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थाप्रति पनि आफू खुसी हुन नसक्ने धारणा राख्दै भने, 'किनकि यस (कोरोनाभाइरस) लाई मूलमै रोक्न सकिन्थ्यो। चाँडै रोक्न सकिन्थ्यो। र, यो विश्वभरि फैलिएको हुँदैनथ्यो।"
कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको वारंवार आलोचना गर्दै आएका छन्।
'केवल चीन जिम्मेवार'
ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्याउन नसकिने बताए।

तस्बिर स्रोत, Getty Images
कोभिड-१९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ।
ट्रम्पले आफूले अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहमा पुर्याएको तर त्यसलाई बन्द गर्न दबावमा परेको पनि बताए।
उनले परीक्षणहरू बढाउने योजना पनि सार्वजनिक गरेका छन्।
अमेरिकामा ५५,००० जनाभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन्।
किम 'सकुशल'
उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सोही पत्रकार सम्मेलनमा किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको ट्रम्पले बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल थिए भन्नेमा आफू रहेको बताए।
दुई साताअघि उत्तर कोरियाली संस्थापक नेताको जन्मजयन्तीमा समेत सहभागी नभएपछि किमबारे अनेक अड्कलबाजी सुरु भएको थियो।
दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा कुनै पनि अस्वाभाविक कुरा नदेखिएको बताएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





















