कोरोना भाइरस: विश्व स्वास्थ्य सङ्गठनलाई 'सुधारहरू गर्नकालागि' ट्रम्पको ३० दिने म्याद

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड-१९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका छन्।
उक्त पत्रमा सो निकायले तीस दिनभित्र "उल्लेख्य सुधारहरू" गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनिएको छ।
ट्रम्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्र आफ्नो ट्वीटमा सार्वजनिक गरेका हुन्।
पत्रमा ट्रम्पले सङ्गठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै भनिएको छ: "वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक बेवास्ता गर्यो।"
उनले सङ्गठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै यसको लागि 'अबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनु' भनेका छन्।
उनले सङ्गठनले ठूलो र ठोस प्रगति देखाउन नसके अमेरिकी सहयोग नदिने अस्थाथी निर्णयलाई स्थायी बनाउने र आफ्नो देशको सदस्यताबारे पुनर्विचार गर्ने बताएका छन्।
ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन "चीनको कठपुतली" भएको आरोप लगाएका छन्।
विश्व स्वास्थ्य सङ्गठनको निर्णायक निकाय वर्ल्ड हे्ल्थ असेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

राष्ट्रपति ट्रम्पले गत महिना नै विश्व स्वास्थ सङ्गठनलाई दिँदै आएको पैसा रोक्का गर्ने घोषणा गरेका थिए।
अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई धेरै पैसा दिने सबैभन्दा ठूला देशहरूमध्येमा पर्दछ।
गत आर्थिक वर्षमा अमेरिकाको आर्थिक योगदान सो सङ्ठनले प्राप्त गर्ने रकमको १५% भन्दा केही कम थियो।




















