रास्वपाको 'नीति र नेतृत्व परिष्कार गर्ने' पहिलो महाधिवेशन चितवनमा, किन छ महत्त्वपूर्ण?

रास्वपा

तस्बिर स्रोत, Ishwor Joshi/BBC

    • Author, ईश्वर जोशी
    • Role, चितवन
    • Author, प्रदीप बस्याल
    • Role, काठमाण्डू
  • Published
  • पढ्ने समय: ४ मिनेट

स्थापनाको चार वर्षमै सहज बहुमतसाथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज आइतवारबाट चितवनमा सुरु भएको छ।

आफू सहभागी दोस्रो आमनिर्वाचनमा चौथोबाट पहिलो बन्न सकेको यस दलले पहिलो महाधिवेशनबाट मुख्य एजेन्डाका रूपमा "नीति र नेतृत्व निखार" को काम गर्ने पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बीबीसीलाई बताएका छन्।

"नीतिमा पार्टीको सङ्गठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ," बुर्लाकोटीले भने।

"यस पटक हामीले विधान संशोधन पनि राखेका छौँ। पार्टी सञ्चालनको एउटा निर्देशक दस्ताबेज विधानको संशोधनका बारेमा पार्टीको कार्यदल हुँदै सचिवालय, केन्द्रीय समिति हुँदै महाधिवेशनमा आउँदै छ।"

त्यसबाहेक तीन दिने महाधिवेशनले पार्टीको "हालको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउने" महामन्त्री बुर्लाकोटीले बताए।

"यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहर्ने छ," उनले भने।

रास्वपा महाधिवेशन

तस्बिर स्रोत, Ishwor Joshi/BBC

यसअघि शनिवार चितवनमा आयोजित पार्टीको बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र हुने दुर्घटनाको "निकै ठूलो मूल्य देशले चुकाउनुपर्ने" भन्दै आफूहरू "निकै सुझबुझसाथ अघि बढ्नुपर्ने" बताए।

'हिजोको भन्दा फरक जिम्मेवारी'

महाधिवेशनमा करिब ३ हजार ७०० प्रतिनिधि सहभागी हुने बताइएको छ।

रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरे। उद्घाटन समारोहमा मुख्य दलका नेताहरू सहभागी भए।

चितवनमा रास्वपा सभापति लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्ले

तस्बिर स्रोत, RSS

शनिवार चितवनमा आयोजित पार्टीको केन्द्रीय समितिलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले यतिखेर आफूहरूको जिम्मेवारी "हिजोको भन्दा फरक" रहेको बताए।

"हामी जसरी, जुन माध्यमबाट, जुन कारणले यहाँ जोडिए पनि अबको हाम्रो जिम्मेवारी हिजोको भन्दा फरक, बृहत् छ भन्ने हेक्का हामी सबैले राख्नुपर्छ। किनकि, हाम्रै आँखाबाट, हाम्रै ढुकढुकीबाट, हाम्रै अभिव्यक्तिहरूबाट देशले एउटा सपना देख्न सुरु गरेको छ," लामिछानेले भने।

"र यो सपना देख्न यो देशलाई एक युग लाग्यो। एक युग कुरेर यो देशले हाम्रो माध्यमबाट समृद्धिको सपना देखेको छ, सुशासनको सपना देखेको छ, सामाजिक न्यायको सपना देखेको छ।"

महाधिवेशनका लागि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताएका छन्।

निर्वाचित नेतृत्वको प्रतीक्षा

महाधिवेशनमा गर्न लागिएको प्रस्तावमा केन्द्रीय समितिमा १५१ जना निर्वाचित हुने र ७ जना प्रदेश सभापति पदेन सदस्य हुने बताइएको छ।

पार्टी सभापतिले मनोनयन गर्न पाउने विषयमा विधानमा हुने छलफलका आधारमा केन्द्रीय समितिले महाधिवेशनमा पठाए अनुसार त्यहाँ टुङ्गो लाग्ने महामन्त्री बुर्लाकोटीले बताए।

महाधिवेशनमा दुई चरणको निर्वाचन प्रक्रिया हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयनको हुने रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताए।

"दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचन हुने व्यवस्था गरिएको छ," केसीले भने, "दुवै चरणमा सबै प्रतिनिधिहरूले मतदान गर्न पाउनेछ।"

रास्वपा प्रतिनिधिहरू

तस्बिर स्रोत, Ishwor Joshi/BBC

निर्वाचनको लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने र देशबाहिर रहेका रास्वपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउने केसी बताउँछन्।

"दुवै तरिकाबाट हुने मतदान एकै समयमा सुरु भएर एकै समयमा सकिन्छन्। नतिजा २ देखि ४ घण्टाभित्रमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।"

महाधिवेशनको दोस्रो दिनदेखि नै निर्वाचन प्रक्रिया सुरु भएर तेस्रो दिन ९ गते निर्वाचन हुने उनले बताए।

'देशलाई स्पष्ट दिशा दिन्छौँ'

रास्वपा

तस्बिर स्रोत, Ishwor Joshi/BBC

रास्वपा सांसद यज्ञमणि न्यौपाने पहिलो ठूलो दलका हिसाबले महाधिवेशनले देशलाई स्पष्ट रूपमा कुन दिशातर्फ लाने भन्ने देखाउने बताउँछन्।

"यस महाधिवेशनले बहुलवादलाई स्वीकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने कुरा अगाडी बढाउँछ।सङ्घीयतालाई स्वीकार गर्नेछ," महाधिवेशन स्थलमा शनिवार बीबीसीसँग उनले भने।

"संविधानका केही विषयहरूबाहेक मूलभूत संविधानको चरित्रलाई हामी स्वीकार गर्छौँ।"

रास्वपा महाधिवेशन

तस्बिर स्रोत, Ishwor Joshi/BBC

त्यसबाहेक 'डिजिटल लोकतन्त्र'लाई अपनाउने काम यस महाधिवेशनले गर्ने सांसद न्यौपाने बताउँछन्।

"त्यसको अधिकतम प्रयोग गर्दै अघि बढ्दा संसारलाई एउटा साँघुरो घेरामै राखेर हेर्न सकिने अवस्था बन्छ," उनले भने।

उनले देशको भविष्यसँग जोडिएका शिक्षा, स्वास्थ्य र कृषिका विषयमा महाधिवेशनमा "निर्मम छलफलहरू" हुने समेत बताए।

'दलभित्रै देखिनुपर्छ सुशासनको चित्र'

रवि लामिछाने र बालेन शाह

तस्बिर स्रोत, EPA/Shutterstock

धेरैले रास्वपाको उदयलाई उसले मुख्य मुद्दाका रूपमा उठाएको सुशासन र भ्रष्टाचार विरोधी भावनाको नतिजा मान्ने गरेको पाइन्छन्।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे यस महाधिवेशनबाट उक्त मुद्दा रास्वपाले दलभित्रको सुशासन मार्गचित्रसाथ प्रस्तुत गर्न सक्नुपर्ने बताउँछन्।

"विभिन्न अध्ययन अनुसन्धानले नेपालमा भ्रष्टाचारको जोखिम क्षेत्र र कारक तत्त्वका रूपमा राजनीतिक दलहरूलाई पछिल्ला कैयौँ वर्षदेखि देखाउँदै आएका छन्। दलहरूले त्यस्ता प्रवृत्तिलाई संरचनागत रूपमै संरक्षण गर्छन् भन्ने देखिन्छ," घिमिरे भन्छन्।

"यसैलाई मुद्दा बनाएर अभूतपूर्व जनमत ल्याएको रास्वपाले सरकारलाई मात्र नदेखाएर दलबाटै आफूलाई सुशासनको कसीमा उभ्याउन सक्नुपर्छ।"

रास्वपा

तस्बिर स्रोत, Ishwor Joshi/BBC

उनी सर्वसाधारणको चन्दाबाट चल्ने दलहरू महालेखापरीक्षकको कार्यालयको लेखा परीक्षण सामना गर्ने पक्षमा कुरा उठाउन सक्ने सुझाउँछन्।

"अहिलेसम्म त्यस्तो व्यवस्था छैन। तर राज्य संरचनाभित्रै आफूलाई परीक्षण गर्न सकिने व्यवस्थाको सुरुवात रास्वपाले गर्न सक्छ," घिमिरे भन्छन्।

"यतिखेर रास्वपाले गर्ने कुराको अर्थ धेरै छ। अन्य दलहरूभित्रै र जनताले अन्य दलहरूलाई रास्वपासँग तुलना गरेर दाँजिरहेको अवस्था छ।"

उनले रास्वपाले अगुवाइ गरिरहेको संविधान संशोधनका मुद्दा समेत राजनीतिक मात्र नभई सुशासनसँग जोडेर हेर्न आवश्यक रहेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।