कोरोना भाइरस: थप एकजना निको, २७ हजारभन्दा धेरैको परीक्षण

प्रसिद्धि श्रेष्ठ

तस्बिर स्रोत, Ministry of Health

Published

कुल ३० जना कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको नेपालमा निको हुनेको सङ्ख्या दुई पुगेको छ।

शनिवार टेकुस्थित अस्पतालबाट १९ वर्षीया युवतिलाई डिस्चार्ज गरिएको छ।

युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै चैत्र पहिलो साता त्रिभुवन विमानस्थल आएको बताइएको थियो।

उनकै अनुरोधमा उनले सञ्चारमाध्यममार्फत् सन्देश दिँदै उपचारका बेलामा सबैले सहयोग र राम्रो व्यवस्था मिलाइदिएको प्रतिक्रिया दिएकी थिइन्।

प्लाज्मा दिन इच्छुक

अस्पतालबाट निस्कने बेला बोल्दै उनले यदि नेपालमा कसैलाई कोभिड-१९ को गम्भीर असर देखा परे उनीहरूको निम्ति आफू निको भइसकेकोले आफ्नो रगतको प्लाज्मा आवश्यक परे दिने बताएकी थिइन्।

"म निको हुनुपनि एउटा मौका हो। मेरो रगतको प्लाज्मामा एन्टीबडी भएकोले त्यसलाई समाजलाई दान गर्न पाउँछु। आशा छ नहोस् तर यदि कोही कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामी भए मेरो प्लाज्माले मद्दत गरोस्," उनले भनिन्।

कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएकाहरूको रगतमा भाइरस विरुद्धका एन्टीबडी हुने हुनाले तिनको प्लाज्मा अरू बिरामीको निम्ति सहायक हुने ठानिन्छ।

उनको सो भनाइलाई अस्पतालका डाक्टर अनुप बास्तोलाले सकारात्मक प्रयास भन्दै प्रशंसा गरेका छन्।

उनी निको भएको समाचारपश्चात् प्रधानमन्त्री केपी ओलीले फेसबुकमार्फत् उनलाई बधाई दिएका छन्।

उनको आरोग्यताको कामनासहित प्रधानमन्त्रीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद भनेका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

सबै जिल्लामा द्रुत परीक्षणको सुविधा

स्वास्थ्यमन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म देशभर २७ हजारभन्दा धेरै परीक्षण भइसकेको छ।

पोलिमरेज चेन रियाक्सन पीसीआर भन्ने विधिबाट आठ हजार अनि र्‍यापिड डायग्नस्टिक टेस्ट आरडिटी भन्ने विधिबाट १९ हजारभन्दा बढीको परीक्षण भइसकेको डा. विकास देवकोटाले शनिवार जानकारी दिएका छन्।

उनले हाल देशका ७७ वटै जिल्लामा द्रुत विधिबाट परीक्षण गर्न सकिने बताएका छन्।

हाल देशभरिमा क्वारन्टीनमा ४५३६ जना अनि आइसोलेसनमा ११७ जना रहेको उनले बताए।

देशमा सङ्क्रमण पुष्टि भएका मध्ये टेकु अस्पतालमा अब १ जना, पाटन अस्पतालमा २ जना, धनगढीमा ५ जना, वीरगञ्जमा ४ जना, विराटनगरमा १२ जना, भरतपुरमा २ जना र वाग्लुङ्गमा २ जना उपचाररत छन्।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाले बताएका छन्।