कोरोना भाइरस लकडाउन: प्रहरीले सर्वसाधारणलाई गरेको व्यवहारका भिडिओ मानव अधिकार आयोगमा

प्रहरीको लाठी खाएपछि सुन्निएको हात
तस्बिरको क्याप्शन, प्रहरीको लाठीको चोट लागेको त्रिवि शिक्षण अस्पतालका एक डाक्टरको पाखुरा
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

नेपालमा लकडाउन अर्थात् बन्दाबन्दी घोषणा गरिएपछि त्यसको पालना गराउने काममा खटिएको प्रहरीले सर्वसाधारणमाथि गरेको व्यवहारको आलोचना हुन थालेपछि मानव अधिकार आयोगले त्यसको सुक्ष्म अध्ययन गरिरहेको बताएको छ।

आयोगकी सदस्य मोहना अन्सारीले शुक्रवारसम्ममा '६ वटा त्यस्ता घटनाका भिडिओ नै आफूलाई प्राप्त भएको' बताएकी छन्।

बन्दाबन्दी कार्यान्वयन गराउन आफू जोखिममा रहेरपनि अग्रमोर्चामा सडकमा खटिरहेका प्रहरीलाई उत्तेजित नपार्न नेपाल प्रहरीले आग्रह गरेको छ।

दुई प्रतिनिधि घटना

काठमाण्डूको एउटा अनलाइन मिडियामा काम गर्ने पत्रकार जगन्नाथ ढकाल बिहीवार साँझ कलङ्की चोक पुगेका बेला त्यहाँ नेपाल प्रहरीको एउटा टोली सर्वसाधारणलाई घर बाहिर ननिस्कन माइकिङ गरिरहेको थियो।

केही मिटरको दूरीमा दुईजना महिला हातमा औषधिको पोको बोकेर एउटा औषधि पसलबाट निस्केको ढकालले बताए।

एकजना पुरुषचाहिँ एटिएमबाट पैसा निकालेर ती महिला भएका ठाउँमा आइपुगे। ढकालका अनुसार ती तीनैजना एउटै समूहका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रहरीको भेषमा एक लाख मास्क लुट्ने सशस्त्र समूह पक्राउ

प्रहरीको टोली उनीहरू भएतिर गएको ढकालको भनाइ छ। प्रहरीको सोधपूछपछि एकाएक माहोल अर्कै बन्यो र स्थिति लछारपछारमा पुग्यो।

ढकालले भने, 'तीन मान्छे को थिए मैले चिनिन। तर उनीहरू ओषधि किनेर आएको मैले नै देखेको हुँ र क्यामेरा निकालेर भिडियो खिचेँ।'

प्रहरीसँग
तस्बिरको क्याप्शन, काठमाण्डू कलङ्कीमा प्रहरी सर्वसाधारणबीच भएको घम्साघम्सी

जुन भिडिओ बिहीवार बेलुकादेखि निकै 'भाइरल' बन्यो र धेरै मान्छेले प्रहरीको 'ज्यादती' भन्दै टिप्पणी पनि गरे।

त्यसको अघिल्लो दिन बुधवार साँझ करिब आठ बजेको समयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका तीनजना चिकित्सकमाथि प्रहरीले लाठी हानेको खबर बिहीवार बिहान सञ्चार माध्यममा एकाएक भाइरल बन्यो।

शिक्षण अस्पतालको क्यान्टिनमा खाना खाएर कोठा जाँदै गर्दा एकाएक प्रहरीले आफूमाथि लाठी हानेको डा. तेजप्रकाश रौनियारले बीबीसीलाई बताए।

उनले भने, 'हामीलाई कहाँ गएको भनेर उहाँहरूले सोध्नु भयो। जबाफ दिएपछि कोठामा छिर्दै गर्दा एक्कासी एकजनाले हात सुन्निने गरी लाठीले हान्नु भयो।'

हाम्रो दोष थिएन-चिकित्सक

सोही समूहमा रहेका अर्का चिकित्सक डा. शम्भु खनालका अनुसार रेजिडेन्ट चिकित्सक भएकाले उनीहरू बेलुका खाना खान अस्पतालको क्यान्टिन गएका थिए।

उनीहरूसँग कान्ति बाल अस्पतालका एकजना रेजिडेन्ट चिकित्सक पनि थिए।

त्यहाँ रहेका प्रहरीले जथाभावी बोल्न थालेपछि केही प्रतिवाद गरेको डा. खनालले बताए।

उनले भने, 'हामी हल्ला गर्ने व्यक्ति पनि होइनौँ। हामीलाई परिस्थिति के हो भन्ने कुरा राम्ररी थाहा छ। तर खाना खान त जान पाउनु पर्‍यो नि।'

प्रहरीको लाठी खाएका चिकित्सक डा. रौनियारले आफ्नो कुनै दोष नभइ एउटा भ्यानमा आएका प्रहरीको कमाण्डरसहितको टोलीले आफूहरूमाथि 'ज्यादती' गरिएको बताए।

उनले भने, 'यो बेला हामीमाथि लाठी हानिन्छ भने अरूलाई के होला।'

प्रहरी

सुक्ष्म अध्ययन हुन्छः मानवअधिकार आयोग

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका बेला भएका यस्ता घटनाहरूको सुक्ष्म अध्ययन हुने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

आयोगकी सदस्य मोहना अन्सारीले ६ वटा त्यस्ता घटनाका भिडिओ नै आफूलाई प्राप्त भएको बताइन्।

उनले भनिन्, 'चाहे नेपालगञ्जको मानवअधिकारवादी कुटपिटको घटना होस् वा शिक्षण अस्पतालका चिकित्सकमाथि लाठी प्रहारको घटना होस्। हामीले हेरिरहेका छौँ।'

बन्दाबन्दीको अवस्थामा स्थलगत अवलोकन सम्भव नभएकाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त सामाग्रीलाई आधार बनाएर सुक्ष्म अध्ययन गरिने उनले बताइन्।

यो बेला चिकित्सकमाथि प्रहरीले कुटपिट गर्नु राम्रो घटना नभएको अन्सारीले बताइन्।

मानवअधिकार आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि लाठी हान्ने प्रहरीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।

चिकित्सकमाथि लाठी हान्नु गल्ती भएकै होः प्रहरी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकमाथि लाठी प्रहार हुनु गलत भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।

तर कतिपय घटनामा प्रहरीलाई उत्तेजित बनाउने काम भएको उनले बताए।

पोखरेलले भने, 'चिकित्सकहरूमाथि जुन व्यवहार भयो त्यो गल्ती भएकै हो।

त्यही घटनास्थलमा रहेका कमाण्डर प्रहरी नायव उपरीक्षक उमेश लम्साललाई हामीले महानगरीय कार्यालय तानेका छौँ। अनुसन्धान गरिरहेका छौँ।'

तर बिहीवार साँझको कलङ्की घटनामा प्रहरीलाई उत्तेजित बनाउने भाषा बोलिएकाले असहज परिस्थिति सिर्जना भएको उनले बताए।

उनले भने, 'प्रहरी पनि मान्छे हो। उसका पनि परिवार छन्। तर सब व्यवहार छाडेर नागरिक घरमा रहनुहोस् भनेर ऊ सडकमा छ। उनीहरूलाई उत्तेजित बनाउने काम त गर्नु भएन नि।'

उनले नागरिकलाई लकडाउन पालना गर्न र संयम भएर प्रस्तुत हुन पनि आग्रह गरे।

बाटामा हिँडिरहेका कैयौँ बटुवामाथि होच्याएर बोल्ने गरेको, उनीहरूलाई जोरजबर्जस्ती गरेको आरोप प्रहरीले खेप्दै आएको छ।

त्यस्ता आरोपको समीक्षा गरी प्रहरीले आफ्नो व्यवहार सच्च्याउनुपर्ने र नियम कार्यान्वयनको जिम्मेवारी पाएको प्रहरीले झन् संयम गुमाउन नहुने आलोचकहरू बताउँछन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर