अविरल वर्षाका कारण यूकेमा बाढीको डर

तस्बिर स्रोत, PA Wire
यूकेमा निरन्तर अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण जीवनको क्षति हुनसक्ने सम्भावना रहेको भन्दै दक्षिणी वेल्समा 'रातो सङ्केत' को चेतावनी जारी गरिएको छ।
नदीहरूमा जलस्तर बढ्न थालेपछि यूकेभर ३०० वटाभन्दा बढी बाढीको चेतावनी जारी गरिएको छ।
आइतवार रातिसम्मका लागि 'रातो सङ्केत' ले जनाउने उच्च जोखिमको चेतावनी जारी गरिएको वेल्समा अग्निनियन्त्रकहरूले मानिसहरूको उद्धार गरेका छन्।
स्कटल्यान्डमा बाढीले बगाएको एउटा गाडीबाट दुईजनाको उद्धार गरिएको छ।

तस्बिर स्रोत, Getty Images
सन् २०१५ को डिसेम्बर २६ तारिख पछि यूकेमा यो स्तरको चेतावनी जारी गरिएको यो पहिलोपटक हो। सो चेतावनीले मानिसहरूलाई खतरनाक मौसमबाट बच्न र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ।
यसैबीच इङ्गल्यान्डमा दुई, वेल्समा दुई र स्कटल्यान्डमा तीन गरी सातवटा खतरनाक बाढीको चेतावनी पनि जारी गरिएको छ।
शनिवार १४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको यूकेको मौसम कार्यालयले जनाएको छ। त्यस्तै वेल्समा १४२ मिलिलिटर वर्षा भएको छ।

तस्बिर स्रोत, AFP/Getty Images
यातायातमन्त्री ग्रान्ट शाप्सले स्काईन्यूजलाई यो मौसमसँग जुझ्न सरकारले काम गरिरहेको बताएका छन्।
उनले अगामी वर्षसम्मका लागि यस्तो कार्यका लागि २.४ अर्ब पाउन्ड ६ वर्षे योजनामा राखिएकोमा आगामी वर्ष अर्को ६ वर्षका लागि त्यसलाई ४ अर्ब बनाइने बताए।
यूकेभर सडक, रेल यातायात र वायुसेवामा प्रभाव परेको छ।

तस्बिर स्रोत, PA Wire
आइतवार बिहान १७० उडान रद्द हुँदा कम्तीमा २५,००० यात्रुलाई असर परेको बताइएको छ।
वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवाहरू बन्द गरिएका छन्।




















