मस्को निर्वाचन: रुसको राजधानीमा पुटिनलाई धक्का

रुस

तस्बिर स्रोत, AFP/GETTY IMAGES

Published

रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीले मस्को शहरको संसद्‌का लागि भएको मतदानमा गम्भीर पराजय बेहोरेको छ।

४५ सदस्यीय संसद्‌मा लगभग एक तिहाइ सिट गुमाए पनि उक्त दलले २६ सिटमा जित्दै आफ्नो बहुमत भने कायम राखेको छ।

अधिकांश विपक्षी उम्मेदवारहरू अयोग्य घोषणा गरिएपछि भएका चुनावमा वामपन्थी, स्वतन्त्र र अन्यले केही सिटहरू हात पारेका छन्।

विपक्षीहरूलाई चुनावी दौडबाट बाहिर राखिएपछि त्यसले आम प्रदर्शन निम्त्याएको थियो।

हजारौँ व्यक्तिहरूलाई थुनामा राखिएको छ र दङ्गा प्रहरीहरूले प्रदर्शनकारीमाथि बर्बर दमन गरेको आरोप खेपिरहेका छन्।

नकारात्मक छवि

लगभग सबै चुनावी परिणाम आइसक्दा युनाइटेड रसियाले मस्कोको संसद्‌मा २६ सिट जित्ने अनुमान गरिएको छ।

रुस

तस्बिर स्रोत, Reuters

पछिल्ला दिनमा उक्त पार्टीको परिचय एकदमै नकारात्मक भएकाले यसका सबै सदस्यहरूले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेको मस्कोस्थित बीबीसी संवाददाता सेरा रेन्सफर्ड बताउँछिन्।

राजधानी मस्कोबाट उक्त दलका प्रमुख नेता आन्द्रेइ मितेलस्की पुन: निर्वचित भएनन् जसलाई पुटिन समर्थक दलले बेहोरेको एउटा ठूलो झट्काका रूपमा लिइएको छ।

कम्युनिष्ट पार्टीले १३ सिट जित्ने ठानिएको छ भने उदारवादी याब्लेकोले र वामपन्थी झुकाव राख्ने जस्ट रसिया दलले तीन तीन सिट जित्ने अपेक्षा गरिएको छ।

आफ्ना साझेदारहरूलाई चुनावमा लड्नबाट रोक लगाइएपछि विपक्षी नेता एलेक्से नभाल्नीले चनाखो भएर मतदान गर्ने रणनीतिलाई प्रवर्द्धन गरेका थिए।

अभियान

नभाल्नीले अघोषित रूपमा युनाइटेड रसियाका उम्मेदवार रहेका व्यक्तिहरूको भण्डाफोर गर्दै उनीहरूलाई हराउन सक्ने व्यक्तिको पक्षमा चुनावी अभियान चलाएका थिए।

रुस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत जुलाईमा रुसमा भएको प्रदर्शन

उनले चुनावको परिणाम एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन्।

बीबीसी संवाददाताका अनुसार सरकारी सञ्चारमाध्यमहरूले मस्कोको चुनावी परिणामलाई सत्तारूढ दलको जितका रूपमा प्रस्तुत गरिरहेका छन्।

तर उनी भन्छिन्, "क्रेमलिनले वास्तविक तस्बिरको पनि अध्ययन गर्नेछ र यसले रूसी राजधानीमा रहेको जनताको मनोभवाना कसरी प्रतिबिम्बित गरेको छ भनेर हेर्नेछ।"

आइतवारको चुनावमा झण्डै २२ प्रतिशत मतदान भएको थियो।

मस्को बाहिरका स्थानीय र क्षेत्रीय चुनावमा भने क्रेमलिनको समर्थन पाएका उम्मेदवारहरूले आफ्नो दह्रो पकड कायमै राखेका छन्।

गभर्नरको चुनाव गरिरहेका १६ वटै क्षेत्रमा उनीहरूकै जित हुने ठानिएको छ।

सन् २००१ मा राष्ट्रपति पुटिनलाई समर्थन गर्न युनाइटेड रसिया गठन भएको थियो।

हालैका महिनामा पुटिनको लोकप्रियता दर खस्किएको छ।