निष्पक्ष निर्वाचनको माग गर्दा रुसमा एक हजार गिरफ्तार

मस्को

तस्बिर स्रोत, Reuters

Published

रुसको राजधानी मस्कोमा प्रहरीले एक हजार जनाभन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिएको छ।

सुरक्षाकर्मीहरूले लाठी प्रयोग गर्दै नगरपालिकाको हलबाट प्रदर्शनकारीहरूलाई जबर्जस्ती हटाएको छ।

प्रदर्शनकारीहरू स्थानीय निर्वाचनमा विपक्षी उम्मेदवारहरूलाई भाग लिन वञ्चित गर्ने निर्णयको विरोध गरिरहेका थिए।

सेप्टेम्बर ८ मा हुने निर्वाचनमा भाग लिन वञ्चित गरिएका केही उम्मेदवारलाई पनि गिरफ्तार गरिएको छ।

अधिकारीहरूले ३० जना उम्मेदवारहरूलाई आवश्यक हस्ताक्षर प्रस्तुत गर्न नसकेको भन्दै अयोग्य घोषित गरेका थिए।

मस्कोमा प्रदर्शन

तस्बिर स्रोत, AFP/Getty

प्रतिबन्धित र्‍यालीबाट अधिकारीहरूले कम्तीमा १,०७४ जना गिरफ्तार गरिएको बताएका छन् भने गैरसरकारी स्रोतले १,१२७ जना गिरफ्तार गरिएको बताएको छ।

मस्कोका मेयर सेर्गेइ सोब्यानीनले प्रदर्शनलाई सुरक्षा चुनौती भन्दै सार्वजनिक सुव्यवस्था कायम राख्ने बताएका छन्।

प्रदर्शनकारीहरू मस्कोको शासन व्यवस्थाप्रति आक्रामक भएका छन्।

राष्ट्पति भ्लादिमिर पुटिनका विरोधी नेता एलेक्साइ नाभाल्नीलाई शनिवारको प्रदर्शन आयोजना गरेको आरोपमा ३० दिनको कारावास तोकिएको छ।

ल्युनिभ सोबोल

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, स्थानीय निर्वाचनका लागि अयोग्य घोषित ३० उम्मेदवारमध्येकी एक ल्युनिभ सोबोल पनि हुन्

बाल्टिक समुन्द्रमा डुबुल्की लगाइरहेका पुटिनले भने: "पृथ्वीमा धेरै समस्याहरू छन् त्यसैले त्यसको सङ्ख्या कम गर्न हामीले कहिले माथि जानुपर्छ कहिले गहिरोमा जानुपर्छ।"

शनिवार के भयो?

गत शनिवार २० हजारभन्दा बढी रुसीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए।

हिजो शनिवार कति जना प्रदर्शनमा सहभागी थिए भन्ने स्पष्ट छैन तर प्रहरीले सात सय पत्रकारसहित ३५ सय भएको बताएको छ।

गिरफ्तारी

तस्बिर स्रोत, Reuters

प्रहरीले मेयरको कार्यालयबाट प्रदर्शनकारीहरूलाई पछाडि हटाएको र गिरफ्तार गर्दै प्रहरी चौकीतिर लगेको थियो।

केही प्रदर्शनकारीहरूको रगत बगेको र कम्तीमा दुई प्रहरीहरूको आँखामा प्रदर्शनकारीले पोल्ने पदार्थ छर्केको बताइएको छ।