रुस र चीनको संयुक्त हवाई गस्ती, जापान र कोरियाको विरोध

रुसी जहाज

तस्बिर स्रोत, Getty Images

Published

रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेको बताएको छ।

त्यसको प्रतिक्रियामा दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरू पठाएका छन्।

रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको जनाएको छ।

उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ।

रुसी जहाज

तस्बिर स्रोत, Getty Images

चेतावनी

दक्षिण कोरियाले चाहिँ आफ्नो क्षेत्रमा रुसी विमानहरू प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गरेर चेतावनी दिएको बताएको छ।

उक्त घटनालाई लिएर जापानले रुस र कोरिया दुवैको विरोध गरेको छ।

त्यो घटना दक्षिण कोरियाद्वारा कब्जा गरिएको तर जापानले पनि दाबी गरिरहेको एउटा टापुमाथि भएको हो।

कोरियाले मंगलवार बिहान रुसी र चिनियाँ विमानहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ।

अर्को एउटा ए-फिफ्टिन रुसी लडाकु जहाजले आफ्ना टापुहरूमा हवाई क्षेत्रको अवज्ञा गरेको पनि उसको आरोप छ।

कोरिया

अस्वीकार

रुसले भने आरोपलाई अस्वीकार गरेको छ।

एकजना वरिष्ठ रुसी सैन्य अधिकारी सर्गेई कोबिलासले आफूहरूले एसिया प्रशान्त क्षेत्रमा लामो गस्ती गरेको पुष्टि गरे।

उनले रुसले तटस्थ क्षेत्रमा गस्ती गरेको बताए।

हालैका वर्षहरूमा कहिलेकाहीँ उक्त क्षेत्रमा रुसी र चिनियाँ लडाकु र बमवर्षक विमानहरू प्रवेश गर्ने गरेका छन्।

तर रुस र चीनले यस्तो खाले गतिविधि गरेको चाहिँ पहिलो पटक हो।