रुस निर्वाचन: मस्कोले लगायो युट्युबलाई सरकारविरोधी प्रदर्शन गर्न उकासेको आरोप

रुसमा प्रदर्शन

तस्बिर स्रोत, Reuters

Published

रुसमा निष्पक्ष निर्वाचनको माग गर्दै झन्डै ६० हजार मानिस विरोधप्रदर्शनमा ओर्लिएका छन्।

त्यहाँ भएको राजनीतिक प्रदर्शनलाई सन् २०११ यताकै सबैभन्दा ठूलो मानिएको छ।

मानिसहरूलाई युट्युबमार्फत् अनधिकृत र्‍यालीबारे जानकारी दिएर 'हस्तक्षेप' गरेको आरोप रुसको सञ्चारसम्बन्धी नियामक निकायले लगाएको छ।

उसले युट्युबको मातृसंस्था गुगलले सरकारीविरोधी प्रदर्शन भड्काएको दाबी गरेको छ।

अटेर गरे कारबाहीको चेतावनी

रोस्कोम्नाड्जरले गुगललाई त्यस्ता गतिविधि बन्द गर्नै भन्दै अटेर गरे उचित प्रतिक्रिया जनाउने आफ्नो अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।

रुसमा प्रदर्शन

तस्बिर स्रोत, Reuters

अटेर गरिए त्यसलाई रुसको सार्वभौम मामिलामा हस्तक्षेप तथा प्रजातान्त्रिक निर्वाचनमा अवरोध गरेको रूपमा लिइने उक्त निकायले जनाएको छ।

रोस्कोम्नाड्जोरका अनुसार रुसी युट्युब प्रयोगकर्ताहरूलाई गैरकानुनी र्‍याली प्रवर्धन गरिएका नोटिफिकेशन आएको थियो।

पक्राउ

शनिवार मस्कोमा भएको र्‍यालीमा दशौँ हजारले भाग लिएका थिए। तीमध्ये झन्डै पाँच सय राष्ट्रपति पुटिनको कार्यालयतर्फ अघि बढेका थिए।

सो क्रममा दर्जनौँ पक्राउ परेका छन्।

कैयौँ मस्कोवासीहरू सेप्टेम्बरमा हुन लागेका नगरपालिका निर्वाचनमा विपक्षी उम्मेदवारलाई वञ्चित गरिएकोमा रुष्ट छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विरोधप्रदर्शनमा सहभागी हुन युट्युबले सूचित गरेको रुसी दाबी छ

तर बितेका साताहरूमा त्यस्ता प्रदर्शनमा भएका भनिएका प्रहरी ज्यादतीले तिनको रिस बढेको छ।

कतिपय प्रदर्शनकारीहरूले 'हामीलाई मताधिकार देऊ' तथा 'तिमीले झुट बोलेको अति भयो' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।