पर्साका सीमावर्ती गाउँमा निर्बाध भारतीय सवारी साधनको प्रयोग

भारतीय नम्बरका गाडी
Published

केही वर्षयता पर्साका ग्रामीण भेगमा भारतीय नम्बर प्लेटका गाडीहरूको प्रयोग निकै बढेको देखिन्छ।

भारतको बिहार राज्यसँग सीमा जोडिएका कारण त्यस्ता सवारी साधन सहजै ओहोरदोहोर गर्ने गरेको स्थानीय बासिन्दाहरू बताउँछन्।

ती मध्ये कैयौं भन्सारमा दर्ता नभएरै भित्रिने गरेको उनीहरूको भनाइ छ।

वीरगंजस्थित बीबीसी नेपाली सेवाकी संवाददाता माधुरी महतोका अनुसार वीरगंजका साथै पोखरिया, भिस्वा, लङ्गडी, जानकीटोला, महादेवपट्टी, सेढवा, सुवर्णपुर, ठोरी लगायतका सीमावर्ती क्षेत्रमा त्यस्ता गाडीको प्रयोग व्यापक हुने गरेको स्थानीय बासिन्दाहरू बताउँछन्।

पर्सा सेमरवारी वर्वाकी सुनैना देवीले भन्छिन्, "नेपालतर्फका भित्री गाउँसम्म निर्बाध रूपमा भारतीय नम्बरका गाडी चल्छन्।"

'दर्ता गरियोस्'

सीमावर्ती क्षेत्रमा नातागोता बढी हुने गरेको तथा व्यवसाय गर्न पनि सजिलो हुने भएकोले भारतीय नम्बरका गाडी भित्रिने गरेको स्थानीय बासिन्दाको बुझाइ छ।

पर्सा पोखरीयाका वकील मिया त्यस्ता गाडी दर्ता गर्ने व्यवस्था गरिनुपर्ने खाँचो औंल्याउँछन्।

उनी भन्छन्, "यहाँ बाध्यता छ, बेटी-रोटीको सम्बन्ध छ, छोरी-चेली, आफन्तकोमा जानआउन, तरकारीदेखी नुनसम्म किनमेल गर्न आउने जाने चलन छ। त्यसैले सबै ग्रामीण भेगका नाकामा छोटी भन्सार राखेर दर्ता गर्नु राम्रो हुन्छ।"

पर्साको पटेर्वासुगौली गाउँपालिका चरगाहाका शिवरत्न साह कानुले पनि भारतीय नम्बरका गाडीको बढ्दो प्रयोग बाध्यता रहेको ठान्छन्।

भारतीय नम्बरका गाडी सस्तोमा सहज ढङ्गले भाडामा पाइने भएकाले पनि त्यसको प्रयोग बढेको उनी बताउँछन्।

उनका भनाइमा कतिपय नेपालीले त भारतीय नम्बरका गाडी किनेरै सीमावर्ती क्षेत्रमा चलाउने गर्छन्।

भारतीय नम्बरका गाडी

पर्सा भिश्वाका सुरेन्द्र सिंह भन्छन्, "सीमावर्ती गाउँमा विवाह लगायतका सामाजिक काममा नेपाली भन्दा भारतीय नम्बरकै गाडी चल्छन्। भारतीय गाडी सस्तो पर्ने र आफन्तकोमा आवत जावत गर्न सजिलो हुने भएकोले भारतीय नम्बरका गाडी रोजाइमा परेका हुन्।"

प्रशासनद्वारा स्वीकार

पर्सा जगरनाथपुर गाउपालिका जानकीटोलाका सुटी मियाँले 'बजारमा किनमेल गर्न जाँदा होस् वा उपचार अथाव आफन्तकोमा जाँदा भारतीय गाडी नै सहज र सस्तो भएकोले' भारतीय गाडी खरीद गरी चलाउने गरेको बताउँछन्।

नेपालको भन्सारमा दर्ता गर्दा भारतीय नम्बर प्लेटका गाडीले राजस्व तिर्नुपर्ने नियम छ।

३५ दिनसम्म भन्सार राजस्व नतिरेर अनुमति बिना भारतीय नम्बरका गाडी चलाएको पाइएमा त्यो जफत हुने प्रावधान छ।

भारतीय नम्बरका मोटर साइकल

नेपालमा भारतीय गाडी आउनका लागि प्रज्ञापनपत्र लिनुपर्ने प्रावधान रहेको बताउने पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि दर्ताको व्यवस्था छोटी भन्सारमा नभएकाले भारतीय गाडी अनुमति बिना नै ग्रामीण भेगमा चल्ने गरेको स्वीकार गर्छन्।

अप्ठेरो

उनी भन्छन्, "शान्ति सुरक्षासँग पनि उक्त कुरा जोडिएको छ। कतिपय गाडीहरूबाट आपराधिक घटना भएको कारण निगरानी बढाउनु पर्ने देखिन्छ। त्यसैले अहिले कडाई पनि गरिएको छ। तर पर्साको जुनसुकै नाकाबाट प्रवेश गर्ने भारतीय गाडीले वीरगंजबाट नै प्रज्ञापनपत्र लिनु बाध्यताले समस्या देखिएको भन्दै छोटी भन्सार कार्यालयबाट पनि पास दिने व्यवस्था मिलाउनु पर्ने माग आएको छ। त्यो कुरा सम्बन्धित निकायमा पुर्‍याएका छौं।"

नेपाली कांग्रेस पर्साले जिल्लाका ग्रामीण भेगका नाकाहरूमा पनि भारतीय सवारी साधनको दर्ताको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई गत साता औपचारिक रूपमै आग्रह गरेको थियो।

गत महिना अनुमति नलिइ भारतीय मोटर साइकलमा नेपाल आएका भारतीयहरूले सीमानाकामा नेपालका प्रहरीलाई दुव्यर्वहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको घटना सार्वजनिक भएको थियो।

कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले समेत भारतीय गाडीको प्रयोग गर्ने गरेकाले त्यसको प्रयोगमा अङ्कुश लगाउनु अधिकारीहरूको निम्ति चुनौती बनेको बताइन्छ।