निर्वाचन आचारसंहिताको 'व्यापक उल्लंघन'

प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय चुनावमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको अनुगमनकर्ताहरुले बताएका छन्।
आचारसंहिता विपरीत भडकिलो प्रचार प्रसारमा उत्रिएको देखिएका कैयौं उम्मेदवारले अनेकौं गाडी प्रयोग गरिरहेका छन्।
त्यसमा भारतीय नम्बर प्लेटका गाडी समेत छन्।
प्रचारप्रसारमा बालबालिकाको पनि प्रयोग भएको पाइएको बताइएको छ।
तर निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका छिटपुटबाहेकका घटना नभएको बताएको छ।
'मूकदर्शक'
आचारसंहिता उल्लंघन गर्नेमा सत्तारुढ र विपक्षी दल दुवैका उम्मेदवारहरु छन्।
एकैजना उम्मेदवारले कैयौं सवारी साधन प्रयोग गरेका छन्।
प्रचारप्रसारमा बालबालिकाहरुको संख्यापनि उल्लेख्य देखिने गरिएको छ ।
चुनावको अनुगमन गरिरहेका एकजना अनुगमनकर्ता प्राध्यापक डाक्टर सुरेन्द्र लाभ भन्छन्, "निर्वाचन आचारसंहिता कागजको खोस्टो बनेको देखिन्छ। निर्वाचन आयोग आचारसंहिता उल्लंघन हुँदा समेत मूकदर्शक बसेको छ"।
उम्मेदवारी दर्ताको क्रममा पनि उम्मेदवारहरु दर्जनौ मोटर, सयौं मोटरसाइकल, र ठूलठूला ब्यानरहरु लिएर निर्वाचन कार्यालय पुगेका थिए ।
विद्यालयहरुमा सभाहरु हुन थालेका छन्।

दाबी
आचारसंहिता उल्लंघनका सानातिना घटनाहरु बाहेक नभएको सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले बताए।
निर्वाचन आयोगले पनि आचारसंहिता उल्लंघन नभएको बताएको छ ।
निर्वाचनमा उत्साहजनक रुपमा सहभागिता भएको र उनीहरुबाट आचारसंहिता उल्लंघनको घटना नभएको आयोगका प्रवक्ता नवराज ढकालले जनाए ।
उनले भने, "सानातिनाबाहेक ठूला उल्लंघनका घटना छैनन्। आयोग, नागरिक समाज, अनुगमनकर्ताहरु, उम्मेदवारहरु सबैले आचारसंहिता उल्लंघन नहोस् भनेर काम गरिरहेका छन्"।
निर्वाचनको अनुगमन गरिरहेका पर्यवेक्षकहरुले आचारसंहिता उल्लंघनप्रति आयोग संवेदनशील नरहेको आरोप लगाउन थालेका छन्।





















